कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

हिमाको प्रशासकीय भवन शिलान्यास

डीबी बुढा

जुम्ला — लामो समयदेखि भाडाको घरबाट सेवा दिइरहेको जुम्लाको हिमा गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सुरु गरेको छ ।

हिमाको प्रशासकीय भवन शिलान्यास

हिमा-५ बाजागाडमा सुविधासम्पन्न प्रशासकीय भवन बनाउन थालिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाहीले संयुक्तरुपमा भवन शिलान्यास गरे । जग्गा समयमै नपाइने र कार्यपालिकाले समेत केन्द्रको टुंगो लगाउन नसक्दा सरकारी काम भाडाको घरमा सञ्चालन भइरहेको थियो । तर अब केही समयपछि आफ्नै प्रशासकीय भवनमा बसेर सेवा प्रदान गर्ने अध्यक्ष शाहीले बताए ।

प्रशासकीय भवन निर्माणको लागि स्थानीयले ३ हजार ९ सय वर्गमिटर जग्गा गाउँपालिकालाई नि:शुल्क उपलब्ध गराएका छन् । हिमा ५ का स्थानीय दानबहादुर शाहीले तीन हजार एक सय र दलविर शाहीले आठ सय बर्गमिटर जग्गा गाउँपालिकालाई नि:शुल्क प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनले भने, ‘हिमा सरकारको आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको थियो । अब केही समयमा नै सुविधासम्पन्न प्रशासकीय भवनबाटै सेवा शुभारम्भ हुनेछ । ’

हिमा गाउँपालिकाको १२ औं गाउँसभाले बाजागाडामा स्थानीय केन्द्र तोकेको थियो । 'केन्द्र तोक्ने निर्णय भइसक्दा पनि कार्यान्वयनमा चुनौती थियो,' अध्यक्ष शाहीले भने, ‘जग्गादाताहरुसँगको घनिभूत छलफल र कार्यपालिकाभित्रको औपचारिक निर्णयले प्रशासकीय भवन बनाउन बाटो खुलेको हो । ’

अध्यक्ष शाहीले प्रशासनिक भवन निर्माणका लागि बनाएको कार्यविधि हुबहु कार्यान्वयन हुने प्रतिक्रिया दिए । केन्द्र सरकारको ६० प्रतिशत र ४० प्रतिशत हिमा गाउँपालिकाको लागतमा प्रशासनिक भवनको निर्माण कार्य अघि बढेको हो । गाउँपालिका भवन अपांगतामैत्री, बालमैत्री बनाईने प्रतिबद्धता जनप्रतिनिधिले गरेका छन् ।

१० करोड बराबरको लगानीमा भवन निर्माणको काम सुरु भएको हो । कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाहीले गाउँपालिकाको स्थायी संरचना निर्माण गर्नका लागि गाउँपालिकाले गरेको कामको प्रशंसा गरे । उनले भने, ‘भाडामा सरकारका कामकाज भइरहँदा असहज अनुभूति भइरहेको थियो । अब सहज र प्रभावकारी सेवा प्रदान गर्न प्रशासकीय भवनले सहयोग मिल्ने छ ।’

लामो समयदेखि पालिका केन्द्रका विषयमा छलफल भइरहेको भए पनि निष्कर्षमा पुग्न सकिएको थिएन । शिल्यान्यासमा नागरिकहरुको सहभागिता उत्साहजनक थियो । धर्मगुरुहरु पनि प्रशासकीय भवन निर्माणको काम सुरु हुँदा खुसी देखिन्थे ।

प्रशासकीय भवन शिलान्यास गर्दै हिमा गाउँपालिका । तस्बिर : डीबी/कान्तिपुर

प्रकाशित : असार ३०, २०८१ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×