कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवाको उद्धार

डीबी बुढा

जुम्ला — यार्सा संकलनका लागि एकसातादेखि डोल्पाको पाटनमा बिरामी परेर थलिएका जुम्ला पातारासीका ओमप्रकाश बुढाको उद्धार गरिएको छ । डोल्पाको साल्दाङ फोतगाउॅ क्षेत्रमा अलपत्र परेर अस्वस्थ भएका पातारासी-३ मोहरीगाउॅका बुढालाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवाको उद्धार

ओमप्रकाशसहित चार जना युवाहरु अलपत्र परेका थिए । तर ओमप्रकाशको स्वास्थ्य अवस्था नाजुक देखिएकोले हेलिकप्टरबाट उद्धार गरिएको हो । अन्य तीन जना जय बुढा, हिरालाल रावत र चन्नलाल रावत भने पाटनमै छन् ।

उद्धारका लागि हेलिकप्टर मंगलबारनै डोल्पा पाटन गएपनि हावाहुरीका कारण अवतरण हुन सकेको थिएन । पुनः बुधबार बिहान हेलिकप्टर ताल्चा हुँदै डोल्पाको पाटनमा पुगेर अलपत्र युवाहरुलाई जुम्ला ल्याइएको हो । ओमप्रकाशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय हुँदै केन्द्रमा माग गरेपनि सरकारी संयन्त्रले वास्ता गरेन । त्यसपछि व्यक्तिगत रुपमा रकम उठाएर हेलिकप्टरको व्यवस्था गरिएको जनाइएको छ ।

युवाहरुको उद्धारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले एक लाख २५ हजार, कर्णाली प्रदेशका सांसद देवेन्द्रबहादुर शाहीले २० हजार र स्थानीय समुदायले सात लाख रुपैयाँ उठाएर हेलिकप्टर रिजर्भ गरी उद्धार गरिएको हो । हेलिकप्टरबाट उद्धार गरी जुम्ला ल्याइएका ओमप्रकाशलाई श्वास्प्रश्वासको समस्या देखिएको छ ।

प्रकाशित : जेष्ठ २, २०८१ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×