कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आगलागीले घर जलेपछि २८ जनाको परिवार बिचल्लीमा 

डीबी बुढा

जुम्ला — पातारासी गाउँपालिका-२, तल्फीगाउँमा आगलागीबाट घर जलेपछि २८ जनाको एउटा परिवार बिचल्लीमा परेको छ । तल्फीगाउँका कालसिंह सार्कीको घरमा गएराति आगलागी भएको थियो । आगलागीबाट दुई तले ८ कोठाको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । 

आगलागीले घर जलेपछि २८ जनाको परिवार बिचल्लीमा 

आगलागीले घर पूर्णरुपमा जलेपछि सार्कीकाे २८ जनाकाे परिवार बिचल्लीमा परेकाे वडाध्यक्ष बलबहादुर बाेहाेराले बताए । उनका अनुसार गएराति ११ बजेतिर एक्कासी बस्ने काेठाबाटै आगलागी भएकाे थियो । सात ताेला सुन, तीन पुस्ते पुराना सिक्कासहित अन्नपात, भाडा लत्ताकपडा सबै जलेका छन् । आगलागीमा अन्दाजी ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

बिहानै ७ बजे आगलागी स्थलमा पुगेर फर्किएकी पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया राेकायाले आगालागी भएकाे खबर पाउने बित्तिकै नियन्त्रणकाे प्रयास भएको बताइन् ।

कालसिंहको घरमा साना बालबच्चा छन् । आगलागीले सर्वस्व जलेपछि बासमात्रै होइन, लत्ताकपडा र खानेकुराकाे समेत समस्या भएको छ । पीडितकाे तत्काल व्यवस्थापनका लागि केही राहत दिने तयारी गरेकाे गाउँपालिकाले जनाएको छ ।

तत्काल केही महिनालाई पुग्ने खाधन्न, भाँडा, कम्बल, बच्चालाई लगाउने कपडा पालिकाबाट उपलब्ध गराउने तयारी रहेको गाउँपालिकाकी उपाध्यक्ष रोकायाले बताइन् ।

'आगलागीमा मानवीय क्षति भएन । तर सुनँचादी, तीन पुस्ते सम्पत्ति सबै जलेकाे छ,' उनले भनिन्, '२८ जनाकाे परिवार रहेछ, त्यसमध्ये २३ जना भने संयुक्त रुपमै बस्दै आएका रहेछन् । घर जलेर ध्वष्त भएपछि कालसिंहकाे परिवार घरबारविहीन भएकाे छ ।'

कालसिंहका दुई छाेरा तारासिंह सार्की र पुर्ण सार्कीकाे गत वर्षकाे मुगुकाे हिमपहिराेमा परी मृत्यु भएकाे थियाे । गतवर्ष दुई छाेरा गुमाएका कालसिंहले यसवर्ष छानो र मानो गुमाएका छन् । उनीमाथि मानसिकरुपमा समेत ठुलाे बज्रपात परेकाे छ ।

आगालागी के कति कारणले भएकाे हाे भन्ने अझै खुलेकाे छैन । आगलागी के कसरी भएकाे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

प्रकाशित : फाल्गुन १२, २०८० १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×