कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

४० वर्षदेखि डुंगा खियाउँदै, पुल निर्माणले रोजगारी गुम्ने चिन्ता

तीन पुस्तादेखि डुंगा खियाएर घर चलाइरहेका परिवारलाई घाट नजिकै बनेका पुल अवरोध
सन्जु पौडेल

लुम्बिनी — सबेरै ५ बजे दानव खोलामा पुग्छन् । त्यहाँ डोरीले किनारमा बाँधेर राखेको डुंगा सफा गर्छन् । चुहिने छ/छैन हेर्छन् । कहिलेकाँही उनी यात्रु पर्खिन्छन् । अधिकांश समय यात्रुले उनको बाटो हेरिरहेका हुन्छन् । वारिबाट दैनिकी सुरु गर्ने बेला पारि मानिस जम्मा भइसकेका हुन्छन् । दुबै किनारमा जम्मा यात्रु उनलाई देखेपछि खुसी हुन्छन् । डुंगामा चढ्छन् र खोला वारपार गर्छन् ।

४० वर्षदेखि डुंगा खियाउँदै, पुल निर्माणले रोजगारी गुम्ने चिन्ता

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ का ५८ वर्षीय ध्रुव मल्लाह दिनभर भरौलिया घाटमा हुन्छन् । ४० वर्षदेखि उनी यहीँ घाटमा डुंगा चलाइरहेका छन् । भरौलियाका बासिन्दाका घर दानव वारि र खेत खोलापारि छन् । यहाँबाट लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ आउजाउ गर्ने धेरै हुन्छन् । त्यसैले यो पुरानै चल्तीको घाट हो ।

यहाँका बासिन्दाका लागि खोला तर्ने विकल्प डुंगा हो । डुंगा खियाएर परिवारको गुजारा चलाइरहेका ध्रुवले गाउँलेबीच ‘नौंका चालक’का रुपमा परिचित छन् । यसरी दैनिक डुंगामा वारपार गराए बापत मल्लाहले नगद लिदैनन् । उनलाई गाउँलेले अन्नपात दिने गरेका छन् । प्रत्येक ६ महिनामा उनलाई प्रतिघर ५० किलोका दरले विभिन्न धान, गहुँ दिने गरिएको छ । गाउँमा ७० घर छन् ।

‘धान, चामल, गहुँ, दाल दिन्छन्, पैसा माग्दिन,’ मल्लाहले भने, ‘७० घरभन्दा बाहिरका नयाँ मानिस आए भने २० रुपैयाँका दरले पैसा लिन्छु ।’ आफ्ना बाउबाजेको पालादेखि खोलामा डुंगा चलाउने काम गर्दै आएको बताए । त्यसैले आफूले पनि सानैदेखि यहीँ पेशा अंगालेको उनले बताए ।

वर्षायामका ४ महिना डुंगा चलाउँछन् । खोलामा पानी घटेपछि उनी कमाउन छिमेकी मुलुक भारत जान्छन् । भारत नगएका बेला गाउँमा मजदुरी गरेर चल्ने गरेको उनले बताए । मल्लाहको डुंगा र भारत गएर गर्ने कामबाहेक आम्दानीको विकल्प छैन । परिवारमा आमाबुवा, श्रीमती र ५ सन्तान छन् । काम गर्ने उनीमात्रै हुन् । परिवार पाल्न डुंगासँगै अन्य मजदुरी गर्नु परेको उनले बताए ।

पहिले स्थानीयका लागि डुंगाबाहेक खोला तर्ने कुनै विकल्प थिएन । अहिले भरौलिया घाटभन्दा एक किलोमिटर दक्षिणतर्फ दानवमा झोलुंगे पुल निर्माण भएको छ । उक्त पुल सञ्चालनमा आएको दुई साता भयो । पुल निर्माणपछि मल्लाहका आधा ग्राहक घटेका छन् । उनका अनुसार पहिले दिनमा ५ सय भन्दा बढीले डुंगाबाट ओहोरदोहोर गर्थे । अहिले आधा कम भएका छन् ।

डुंगा चलाए वापत जम्मा हुने अन्न सबै खानाका लागि उपयोग हुँदैन । खानाका लागि छुट्याएर बचेको विक्रि गरेर छोराछोरीलाई पढाउने खर्च जोहो गरिरहेको उनले बताए । पहिले भरौलियाका बासिन्दा दनाव पारि बस्थे । वर्षेनी आउने बाढीले कटान र डुवान हुन थालेपछि उनीहरु विस्थापित हुँदै बसाइँ सर्दै सम्मरीमाई–५ मा आइपुगेका हुन् ।

अहिलेसम्म तीन पटक बसाइँ सरिसकेको गाउँलेले बताए । अहिले घर खोला वारि छन् । खेत भभई गाउँमा पर्छ । भरौलियाका बासिन्दालाई खेतीपाती गर्न दैनिक भभई जानुपर्छ । त्यसका लागि डुंगाबाट वारपार गर्नुपर्छ । यस्तो डुंगा यहीँ निर्माण गर्ने कालिगढ छैनन् । त्यसैले झण्डै ३ लाख रुपैयाँ खर्च गरेर भारतीय कालिगड बोलाएर डुंगा मर्मत गरेको मल्लाहले बताए ।

कोटहीमाई–१ सिपवाका ४७ वर्षीय धनई मल्लाह पनि आफुले काम गर्न सक्ने भएदेखि डुंगा चलाइरहेका छन् । यो पनि उनको पुर्ख्यौली पेशा हो । तिनाउ र दानवको दुई मुहान भन्ने ठाउँमा डुंगा चलाएर गुजारा गरिरहेका उनलाई अहिले पेशा लोप हुने चिन्ता छ । ‘म नजन्मिदैबाट मेरो बुवा, हजुरबुवाले डुंगामा मान्छे ओसार्थे,’ उनले भने, ‘४ वटा डुंगा फेरिसक्यौं, मैले पनि डुंगा खियाएरै जीवन काटिसके ।’

अहिले उनले खोला तार्ने गरेको दुई मुहानमा पक्की पुल निर्माण भइरहेको छ । त्यहाँबाट एक किलोमिटर दक्षिणमा अर्को पक्की पुल सञ्चालनमा छ । एक किलोमिटर उत्तरमा झुलुङ्गे पुल छ । त्यसैले उनलाई पेशा संकटमा पर्ने चिन्ता बढेको छ । कहिलेकाँही माछा मार्ने जलारीबाहेक कोही पनि डुंगाबाट खोला तर्न आउदैनन् । तिनाउ र दानवको मिलन भएकाले उक्त घाटलाई दुई मुहान भनिएको हो ।

अहिले दुई मुहानमै पक्की पुल निर्माणाधीन छ । जसले गर्दा अर्को वर्षबाट डुंगा खियाउने काम नै ठप्प हुने पीर व्यक्त गरे । अहिले दिनभर मानिस कुरेर बस्छन् । आजकाल दैनिक डेढ सय रुपैयाँ कमाउन हम्मे हुने गरेको छ । पहिले खोला तर्न पुल निर्माण भएका थिएनन् । त्यसैले सर्वसाधरणको ओहोरदोहोरको माध्याम डुंगा थिए ।

त्यसबेला दिनमा १ हजार सम्म रुपैयाँसम्म कमाई भएको मल्लाहले बताए । उनीहरुको खेतीपाती छैन । कमाईको विकल्प पनि छैन । पाँच वर्षअघि क्यान्सर रोगबाट श्रीमतीको मृत्यु भयो । ऋण र चन्दा बटुलेर चितवनको भरतपुर क्यान्सर अस्पतालसम्म पुर्‍याए । पत्नीको मृत्युपछि घरव्यवहारको जिम्मेवारी एक्लै उनको काँधमा छ । ८ कक्षा र १ कक्षामा पढ्ने छोरालाई घरमै छोडेर बिहान ६ बजे खोलामा पुग्छन् । न उनको खानको ठेगाान छ, न आरामको । डुंगामा चढे बापत प्रति व्यक्ति २०, मोटरसाइकलको ३० रुपैयाँ लिने गरेका छन् ।

डुंगा खियाएर कमाएको पैसा मध्ये २ लाख रुपैयाँ बढी श्रीमतीको उपचारमा खर्च भयो । अहिले पनि छिमेकीलाई तिर्नुपर्ने ऋण बाँकी छ । ‘अर्को वर्षदेखि के गरेर बाँच्ने होला,’ उनले भने, ‘अन्य काम गरेकै छैन, मजदुरी गर्न टाढा जानुपर्छ, छोरा र बुढा बाउलाई छोडेर कता जानु, कस्तो काम गरम्ला ।’

प्रकाशित : असार ३०, २०८१ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×