कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

परिवारमा ‘विद्रोह’ गरेर पढ्दै मधेशी समुदायका छोरी

सन्जु पौडेल

लुम्बिनी — रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मनरहवाकी आश्मा खातुन अहिले कक्षा-९ मा पढ्छिन् । उनले पढाई सुरु गरेको वर्ष दिन अघि देखि मात्रै हो । पहिले मदरसामा पढ्दै थिइन् । परिवारले आर्थिक स्थिति कमजोर भएको बहानामा पढाई छुटायो । ५ कक्षा पढ्दै उनले पढाई चटक्कै छाड्न बाध्य भइन् ।

परिवारमा ‘विद्रोह’ गरेर पढ्दै मधेशी समुदायका छोरी

‘मलाई पढ्न मन थियो, तर बुवाआमाले पढाउनै चाहेनन्’, उनले भनिन्, ‘शिक्षक बन्ने सपना अधुरो होला भन्ने डर थियो, धन्न साथीभाइको हौसलाले फेरि पढ्न पाएँ ।’

अभिभावकले पढ्न रोकेपछि आश्माले साथीसंगीको साथ खोजिन् । साथीहरुले पहिला हजुरबुवालाई मन्जुर पारेपछि कक्षा ८ मा भर्ना भइन् । त्योबेला हजुरबुवाले नातिनीको भर्नाका लागि भत्ताको पैसा खर्चिएका थिए । उनले अनुभव साटिन्, ‘बुवाआमा नमानेपछि साथीले हजुरबुवालाई मनाए, मैले पनि रुदै बिन्ती बिसाएँ ।’

हजुरबुवाकै सहयोगमा कापीकिताब र पोशाक किनेर आश्मा स्कुल जान थालिन् । तर, उनका बुवाआमालाई भने उनले स्कुल धाएको त्यति निको मानेका छैनन् । त्यही बाहानामा बाआमाले उनलाई गालीगलौज पनि गरेका छन् । ‘घरको सबै काम सकेर स्कुल जान्छु’, आश्माले थपिन्,‘म स्कुल पढेको बाआमालाई किन मन नपरेको हो थाहा छैन ।’ पढ्ने विषयको छलफलमा उनले अभिभावकवाट धेरै पटक पिटाई समेत खाएको अनुभव उनीसँग छ ।

वडा ४ अमारीकी रीना हरिजनको व्यथा पनि आश्मासँग मिल्दो छ । बल्लतल्ल उनले विद्यालयमा पुनः भर्ना पाएकी छन् । अहिले उनी खुसीसाथ पढिरहेकी छन् । १६ वर्षीया किशोरीका २ दिदीबहिनी र एक दाई छन् । उनको पारिवारिक अवस्था पनि आश्माको भन्दा फरक छैन । विपन्नताका कारण आफूले पढाई छाड्नु परेको विगत उनले कोट्याइन् । कोरोनाकालताका उनको पढाई बन्द नै भयो । तर, पढ्ने हुटहुटीले उनलाई मनकारीको सहयाता मिल्यो । उनी कक्षा ८ मा पढ्न पुनः भर्ना भइन् । ‘अहिले मजदुरी गरेर पैसा जम्मा गर्दै पढ्दै गरेकी छु,’ उनले भनिन्, ‘घर खर्च पनि चलाउँछु ।’

बरु खाना नखाएर भए पनि पढ्न पाएकामा आफूले पछि केही गर्न सक्छु भन्ने हौसला बढेको उनले बताइन् । हरिजनलाई विद्यालय नजाँदा आफूमा भएको रिस, कुन्ठा, ठूलाप्रतिको नराम्रो व्यवहार सबै परिवर्तन भएको महशुस भएको छ । उनले रिस उठ्दा हाँसेर पचाउँछिन् । ठूलाको कुरा सुन्ने, सकेको काम गरेर पैसा बचत गर्ने असल बानीको उनले आदत बसालेकी छन् । उनले घाँस, दाउरा, मेला गरेर जम्मा भएको पैसाले खानेकुरा किन्ने, कापीकिताब किन्ने गरेको सुनाइन् ।

जिल्लाको उत्तर–दक्षिण भेगमा अल्पसंख्यक मुस्लिम सँगै मधेसी दलित समुदायको बाहुल्यता छ । धेरै सन्तान जन्माउने अभिभावकले छोरीलाई सानैदेखि घरको काममा लगाउने, आफूहरु चाहीँ मेलापात गर्ने गर्छन् । विद्यालय जाने उमेर भए पनि घरको काममा बाँधिदिने अभिभावकले छोरीले धेरै पढेमा विवाहमा धेरै दाइजो दिनुपर्ने, धेरै वर्षसम्म छोरीलाई माइतीमै राखेर पाल्न नसक्ने जस्ता बहाना बनाई छोरीको पढ्ने र रमाउने अधिकार खोसिरहेका छन् । छोरालाई उच्च भागमा राखेर मायाका साथ पढ्न पठाउने बाबुआमाले छोरीलाई दाईभाईको स्याहार र भान्साको काममा सिमित राखिदिन्छन् । पढ्ने ईच्छा भए पनि बाहिर निस्कन नपाएका छोरी घरधन्दामै सिमित हुने गर्छन् ।

अन्यभन्दा केही भिन्नै स्वभाव भएका लुम्बिनी सांस्कृतिक नगरपालिका–८ का १४ वर्षीय सागर यादवले भने आफ्नी दिदीलाई छोडिसकेको पढाईमा फिर्ता ल्याएका छन् । उनकी दिदी मन्जु यादवले पढाई छोडेर घरमै बसेको देखेका सागरले आफू घरबाहिर निस्केर केही बुझ्ने, जान्ने मौका पाएकाले बुवाआमालाई सम्झाएर दिदीलाई पढाउन सफल भएका छन् ।

‘मैले पढेपछि दिदीले पनि पढ्न पाउनुपर्छ भन्ने विषय सिकेपछि मैले दिदीका लागि घरमा लडें,’ उनले भने, ‘सरकारी विद्यालयमा पढेर छोडेकी दिदीलाई अहिले बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने वातावरण बनाएको छु ।’

उनले आफूले पढ्नकै लागि दिदी शिक्षित हुनुपर्ने, नजानेका कुरा दिदीबाट सिक्ने, दिदीले पढे घरमा सबैलाई राम्रो हुने जस्ता विषयमा अभिभावकलाई सम्झाएपछि मन्जु आफूसंगै विद्यालय जान पाएको बताए । सधैं खाना पकाउने, भाँडा माझ्ने काम गरिरहेकी दिदीले विद्यालय पोशाकमा सजिएर पढ्न जाँदा साथीभाई बीच आफ्नो सान बढेको उनी सुनाउँछन् ।

सुन्द्रावती हरिजनले पनि अन्यले जस्तै धेरै बाधा व्यवधान व्यहोरेर स्कुलको मुख देखिन् । उनले पढाई नहुँदा सबैले हेप्ने, गाउँभन्दा बाहिर गएर केही गर्न नसकिने जस्ता समस्याबाट मुक्ति पाउन पढाई महत्वपुर्ण भएको महशुस गरेको बताइन् । ‘मलाई पढाई छोडाइदिँदा, संसार के छ र जस्तो लागेको थियो,’ उनले भनिन्, ‘जसरी पनि पढ्न पाए हुने भन्ने मनमा छँदा पढ्ने उपाय निस्कियो । अब पढेर अरुलाई पढाउने वन्ने सपना छ ।’

कोरोनाकालसम्म पढ्न पाए पनि त्यसयता पढाई छोडेर घरधन्दामा फसेका यस्ता थुप्रै किशोरीलाई पढ्ने वातावरण बनाउँन गाउँगाउँमा गठन भएको किशोरी संवाद समूह सफल भएको छ । सुनगाभा सामुदायिक संस्था अन्तर्गत गठन भएको संवाद समूहले किशोरीलाई आफ्नो जिवन जिउने, पढाईको महत्वलगायत अधिकार सुनिश्चितताका विषयमा ज्ञान दिन्छ । उक्त समूहमा रहने सहजकर्तासंग आफ्ना समस्या राखेका किशोरीले नै विद्यालयमा पुनः पढाई सुरु गर्न पाएका हुन् ।

संस्थाकी कार्यक्रम संयोजक सृजना चौधरीका अनुसार शिक्षाको पाटोमा आफूहरुले काम गर्दा विशेष गरि मधेसी समदायका छोरीको पढाई र उनीहरुको अवस्थालाई हेरिरहेका छन् । आर्थिक स्थिती कमजोर भएको भनी पढाई छुटाएका अभिभावकलाई छोरीका लागि खर्च गर्न नसके सक्ने मनले गरिदिएर पढाइदिन्छन् भन्ने जानकारी दिन आफूहरुले स्कुल पोशाक, कापी, किताब, भर्ना शुल्क समेत तिरेर सघाउने गरेको उनले बताइन् ।

संवाद समूहमा आउने किशोर–किशोरीलाई शिक्षाको महत्व थाहा दिन, उनीहरु पढ्न चाहने वातावरण सृजना गर्ने र विद्यालय छाडेर बसेकालाई पुनः पढ्न चाहे आर्थिक सहयोग गर्ने, मनोपरामर्श दिने, अभिभावकलाई बुझाइदिने आदि सहयोग पनि आफूहरुले गर्ने गरेको उनले बताइन् । शिक्षाप्रति उत्प्रेरणा जगाउने कार्यक्रमलाई आफूहरुले प्राथमिकतामा राखेर मधेसका छोरी पनि शिक्षित हुनुपर्छ भन्ने उद्देश्यले काम गरिरहेको उनको भनाई छ ।

प्रकाशित : असार २७, २०८१ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×