कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइने

माधव अर्याल

पाल्पा — पाल्पाको सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइने भएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम सुरु गरिने भएको हो । 

सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइने

जिल्ला सुरक्षा समितिको बैठकबाट जेठ ११ गते शुक्रबार प्रारम्भिक रुपमा पूर्वअभ्यास गर्ने र १३ गतेदेखि आवश्यकता अनुसार सवारीसाधन रोकेर विस्फोट गर्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबामा १ हजार १ सइ २६ मिटर सुरुङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ ।

नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकताअनुसार विस्फोट गराइने प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकार दिए । विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवागमन रोकिनेछ ।

जेठ ११ गते शुक्रबार निर्माणस्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको हो । आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेटअनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको । मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको सद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ ।

पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएर सुरुङ निर्माणको काम भइरहेको छ । राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना सुरु भएको हो ।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म सुरुङमार्ग निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनुपर्ने आयोजनाका प्रमुख रामपुकार जयसवालले जानकारी दिए । निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय खर्चिदा सुरुङ खन्ने काममा ढिलाइ भएको हो ।

मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४८.३ मिटर सुरुङ खनिएको छ । उत्तर पोर्टलतर्फ ३७.४ मिटर सुरुङ खनेको जानकारी दिइएको छ । दक्षिण र उत्तरतर्फका दुवै पोर्टलका साथै निकासका लागि राखिएका तीनवटा बाइपास सुरुङहरूमा २३, १५, १५ मिटर मात्र खनिएको छ ।

आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी तीन–तीन सय मिटरको दुरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको आयोजनाले जनाएको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको हो । जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे २ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने हुन्छ । तराइदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुने विश्वास लिइएको तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १२, २०८१ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?