कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.६७°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भैरहवा कारागारमा महामारीको जोखिम

भैरहवा — क्षमताभन्दा अत्याधिक धेरै कैदी/बन्दी राख्नु पर्दा भैरहवास्थित जिल्ला कारागार रुपन्देहीमा कैदी/बन्दी बिच आपसमा झैँ-झगडा हुने र गर्मी याममा महामारी रोगको जोखिम हुने गरेको छ ।  

भैरहवा कारागारमा महामारीको जोखिम

क्षमताभन्दा चार गुणा भन्दा धेरै कैदीबन्दी राख्दा कारागारमा सुरक्षा व्यवस्थापनपनि निकै चुनौतीपुर्ण बनेको छ । साँगुरो भवनमा भेडाबाख्रा जस्तै अत्याधिक कैदीबन्दी राख्ने गरिएको छ । कारागारको क्षमता १ सय जनाको हो । तर, दैनिक ४ सय ५० देखि ५ सय जनासम्मको संख्यामा राख्ने गरिएको छ ।

कारागार प्रमुख जगतबहादुर बस्नेतले सानो ठाउँमा धेरै थुनुवा हुनुले सुरक्षा चुनौती भएको र बन्दीबीच आपसमा कहिलेकाँही कुटपिट हुने गरेको बताए । ‘केही समय पहिले बन्दी/कैदी बीच आपसमा कुटपिट हुँदा केही घाइते समेत भएका थिए,’ बस्नेतले भने, ‘गर्मीयामको बेलामा विभिन्न संक्रामक रोगको महामारी पनि फैलिने गरेको छ ।’

मिलाएर राख्दाराख्दै पनि सबैको चित्त बुझाउन नसकिने भएपछि कैदी/बन्दी बीच आपसमा झैझगडा र मारपिट हुने खतरा तथा सम्भावना जहिलेपनि रहेको उनले जनाए ।

कारागार प्रशासनका अनुसार, कोचाकोच गरेर एकै ठाउँमा राख्नु पर्दा उनीहरुमा छालाको संक्रमण र भाइरल ज्वरोको प्रकोप देखिने गरेको छ । ‘सामान्य उपचार कारागार भित्रै हुने गरेपनि अलि जटिल अवस्था भएकालाई नजिकका अस्पताल लैजाने गरेका छौं,' बस्नेतले भने, ‘भैरहवामा गर्मी धेरै हुने भएकाले बढी भाइरलको समस्या देखिने गरेको छ ।’

उक्त कारागार परिसरमा चारैतर्फ सुरक्षा पर्खाल नहुदा सुरक्षा अवस्थापवनि निकै संवेदनशील बनेको छ । सामान्य जालीले कारागारलाई घेरिएको छ । काडेतार समेत नहुँदा कैदीबन्दी भाग्ने र अन्य भित्र–बाहिर दुवैतर्फबाट अपराधिक क्रियाकलाप हुनसक्ने जोखिम छ ।

कारागार मर्मत गरी सुरक्षावस्था बलियो बनाउनेतर्फ सम्बन्धित निकायको खासै ध्यान जाने गरेको छैन । कारागार भित्र कहिलेकाही त राख्ने ठाउँ नभएर प्रहरी कार्यालयहरुमा लगिने गरेको बस्नेतले बताए ।

कारागारलाई सुरक्षा पर्खाल लगाएर वा अन्यत्र स्थानान्तरण गर्न भनेर कारागार व्यवस्थापन विभागसँग पत्राचार गरिएको छ । अहिलेसम्म दुइवटै काम अगाडि बढ्न सकेको छैन ।

कारागार परिसर ढल निकास भएकाले दुर्गन्धित छ । वर्षा याममा डुवानमा पर्छ । ९० वर्ष पूरानो भवन जीर्ण बनेकाले ठाउँ-ठाउँमा भत्किने, चुहिने र विरुवा उम्रिने गरेका छन् ।

प्रकाशित : असार २, २०८१ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x