कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तिलोत्तमाको बजेट : २ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कुल २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

तिलोत्तमाको बजेट : २ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ

पालिकाको दोस्रो नगरसभा तथा पाँचौँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि चालु खर्चतर्फ १ अर्ब २४ करोड ४३ लाख ७४ हजार (४५.०१) प्रतिशत र पुँजीगततर्फ १ अर्ब ५२ करोड १८ लाख ४८ हजार (५४.९९) प्रतिशत खर्च हुने अनुमान गरिएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट वक्तव्यमार्फत जानकारी दिइन् ।

बजेटमा स्वास्थ्यतर्फ सबै नागरिकको पहुँच सुनिश्चित रहोस् भन्ने उद्देश्यसहित वातानुकुलित खोप केन्द्र निर्माणका लागि ९ करोड ४५ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अभिवृद्धि , कृषिको व्यवसायीकरण, पूर्वाधार विकासमार्फत नगर रूपान्तरण, पर्यटन पूर्वाधार तथा पुरातात्विक स्थलको संरक्षणलाई प्राथमिकतामा राखिएको चौधरीले जनाइन् ।

शिक्षातर्फ सामुदायिक विद्यालयमा बालविकास कक्षा व्यवस्थापन, यातायातका साधनमा अनुदान, नगरको समग्र शिक्षा प्रणाली सुधारका लागि ४५ करोड ६९ लाख ८५ हजार रुपैयाँ बजेट प्रस्ताव भएको उपप्रमुख चौधरीले बताइन् । नमुना कृषक प्रवर्द्धन, कृषिको आधुनिकीकरण, धान खेतीमा हाँस , किसानलाई दुग्ध उत्पादनका आधारमा अनुदान दिने व्यवस्थालाई शतप्रतिशत वृद्धि गरि कृषिमा २ करोड ३७ लाख ७९ हजार प्रस्ताव भएको छ ।

नगर प्रमुख नवप्रवर्तन कार्यक्रम तथा नगर उपप्रमुख उद्यमशिलता विकास केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । पालिकाले सडक सौन्दर्यीकरण तथा उज्यालो तिलोत्तमा बनाउन आवश्यक बजेट छुट्याएको छ ।

आगामी वर्ष पालिकाले ३२ करोड ६६ लाख २५ हजार अन्तरिम राजश्वतर्फ संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तानतरण तथा बजेटबाट २ अर्ब ४३ करोड ९५ लाख ९७ हजार प्राप्त हुने लक्ष्य राखेको छ । पालिकाले चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ८४ लाख ३९ हजारको बजेट ल्याएको थियो ।

प्रकाशित : असार १०, २०८१ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×