कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बालयौन शोषणमा बम्जन दोषी ठहर

सर्लाही — सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बालयौन शोषण कसुरमा दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो । बम्जनलाई सजाय निर्धारणका लागि असार १७ मा पेसी तोकिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले बताए । 

बालयौन शोषणमा बम्जन दोषी ठहर

सर्लाही अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् । सोही मुद्दाका आरोपित जितबहादुर तामाङ र ज्ञानबहादुर बम्जनले भने सफाइ पाएका छन् । पीडितले २०७३ सालमा आश्रममा रहेको बेला बम्जनले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

२०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जनविरुद्ध पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबी गरेको छ ।

बम्जनविरुद्ध सर्लाही अदालतले २०७७ असार २१ मा पक्राउ पुर्जी जारी गरेको थियो । लामो समयसम्म फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत पुस २४ मा बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न २०७७ असार ४ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको उनको आश्रममा छापा हानेको थियो । प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण फेला परेनन् ।

बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । २०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए । पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन् ।

हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ मा बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए । हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन् । तर, उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारको भनाइ छ ।

प्रकाशित : असार ११, २०८१ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×