कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री 

पाल्पा — पूर्वखोला गाउँपालिकाका चार स्वास्थ्य संस्था पोषणमैत्री बनेका छन् । गाउँपालिकाका रिङ्नेरह, बीरकोट, देवीनगर र हेक्लाङ स्वास्थ्य चौकी पोषणमैत्री भएको हो । जल्पा र सिलुवाको स्वास्थ्य संस्था मात्र पोषणमैत्री घोषणा गर्न बाँकी रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । 

पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री 

पछिल्लो पटक पूर्वखोला गाउँपालिका–६, हेक्लाङ स्वास्थ्य चौकी आइतबार पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल लगायतले हेक्लाङ वडा कार्यालय र स्वास्थ्य चौकीलाई प्रमाणपत्र प्रदान गरे ।

हेक्लाङ् स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा पश्चात सबै सुचकहरुलाई कायम राख्दै थप बलियो बनाउनुपर्ने अध्यक्ष थापाले बताए । ‘घोषणा गर्दा पूरा गर्नुपर्ने सुचकहरुमा निरन्तर अध्ययन अनुगमन, कार्यन्वयन गर्न गराउनुपर्छ,’ उनले भने । महिला सामूदायिक स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य व्यवस्थापन समिति, पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिलाई थप जिम्मेवार बनाउनुपर्ने उनले बताए ।

स्वास्थ्य व्यवस्थापन तथा सञ्चालक समितिका सम्पुर्ण पदाधिकारीहरु वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमा रहेका छन् । वडास्तरीय पोषण तथा खाद्यसुरक्षा समितिलाई सक्रिय बनाउने उद्देश्य सहित समिति मार्फत पोषण मैत्री स्वास्थ्य संस्था घोषणा अभियानको शुरुवात भएको कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले हेक्लाङ स्वास्थ्य चौकीको अगुवाईमा स्वाास्थ्य संस्थालाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम अभियान पश्चात निर्देशित गरिएका सुचकहरु पूरा गरेको बताए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले स्वास्थ्यकर्मीहरु मध्येबाट एक जना सम्पर्क व्यक्ति तोकेर स्वास्थ्य संस्थामा पोषण विशेष सेवा दिनका लागि आवश्यक पोषण सम्बन्धी कम्तिमा एक जना तालिम प्राप्त जनशक्ति उपलब्ध गराइएको बताए ।

स्वास्थ्य संस्थामा बच्चाको तौल लिने मेसिन, उचाई, लम्बाई लिने मेसिन, मुआक टेप उपलब्ध छ । पोषण विशेष सेवा प्रदान गर्नका लागि आवश्यक औषधी तथा सामग्रीहरु भिटामिन ए क्याप्सुल, जुकाको औषधी, जिंक ट्याब्लेट, बालभिटा प्याकेट, आईरन फोलिक एसिड ट्याब्लेट, तयारी उपचारात्मक खानाको मौज्दात कम्तिमा एक महिनाको लागि उपलब्ध हुने गरेको स्वास्थ्य चौकी प्रमुख शाहले बताए ।

मासिक रुपमा कम्तिमा एक पटक स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको बैठक बस्ने गरेको छ । त्यसमा पोषण सम्बन्धि छलफल हुने बताउँदै पोषण सम्बन्धी विभिन्न सूचनामूलक सामग्रीहरु सेवाग्राहीले देख्ने स्थानमा प्रदर्शन गरिएको उनले बताए ।

बाल स्वास्थ्य कार्ड, दुई वर्षमुनिका बालबालिकाहरुको पोषण रजिष्टर, गाउँघर क्लिनिक रजिष्टर तथा प्रतिवेदन फाराम, महिला स्वास्थ्य स्वयं सेविकाको रजिष्टर व्यवस्थित रहेको स्वास्थ्य संस्थाकी अनमी पाँचौ पुष्पा रानाले बताइन् । स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन फाराम, पोषण सेवा गुणस्तर सुधार निर्देशिका २०७८ ले व्यवस्था गरे बमोजिमका पोषण सेवागुणस्तर मूल्यांकन चेकलिष्ट, पोषण विशेष कार्यक्रमका सबै सेवाहरु उपलब्ध रहेको उनले बताइन् ।

स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना गरिएको छ । हेक्लाङ स्वास्थ्य चौकीको अगुवाईमा वडा स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसेर पोषण मैत्री स्वास्थ्य संस्था बनाउन आवश्यक पर्ने सुचकहरुको बारेमा जानकारी गराएको वडाध्यक्ष धनबहादुर घर्तिले बताए । स्वास्थ्य संस्था मुल्याङ्कनमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्नका लागी समुदायमा महिला सामूदायिक स्वास्थ्य स्वयम सेविका तथा स्वास्थ्य कर्मीको सक्रियता बढाइएको उनले बताए ।

पोषण तथा स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थामा आउने क्रमलाई बढाउनका लागी स्वास्थ्य आमा समुह,बिद्यालय स्वास्थ्य शिक्षा, गाउाघर क्लिनिक र खोप क्लिनिकमा पोषण सम्बन्धी स्वास्थ्य शिक्षा दिइएको उनले बताए । यहाँका ६ देखि ५९ महिनासम्मको तत्कालिन सबै ९२ जना बालबालिकाहरुको पोषण मापनको लागि तौल तथा पाखुराको नाप लिई कुपोषित बच्चा नभएको सुनिश्चित गरिएको छ ।

प्रकाशित : असार २, २०८१ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?