कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्र बैठक

‘परराष्ट्रमन्त्रीस्तरीय नयाँ संयुक्त आयोग आवश्यक’

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाल र चीनले दुई मुलुकबीचको परराष्ट्रमन्त्री तहको नयाँ संयुक्त आयोग संयन्त्र आवश्यक रहेकोमा जोड दिएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न भएको नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा परराष्ट्रमन्त्री तहकै नयाँ संयन्त्र आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका हुन् ।

‘परराष्ट्रमन्त्रीस्तरीय नयाँ संयुक्त आयोग आवश्यक’

परराष्ट्र सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैंठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र परराष्ट्रमन्त्रीस्तरमा संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।’ नेपालको भारतसँग परराष्ट्रमन्त्री तहमै संयुक्त आयोग भए पनि चीनसँग भने हालसम्म सचिव तहमै सीमित छ ।

उक्त बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् । मन्त्रालयका सहसचिव तथा पूर्वी एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालसहित अन्य वरिष्ठ अधिकारीहरुको पनि सहभागिता रहेको थियो । यस्तै, चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेश मन्त्री सुन वेइतोङले गरेका थिए । साथै नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि बैंठकमा सहभागि थिए ।

बैठकमा दुवै पक्षले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षको समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति र विगतमा भएका निर्णयहरुको मूल्यांकन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘उनीहरुले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसरको प्राप्तिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, दुवै प्रतिनिधिमण्डलका प्रमुखहरू लम्साल र सुनले शान्तिपूर्ण सह–अस्तित्वका पाँच सिद्धान्तका बलियो आधार, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको दोहोर्‍याएका थिए ।

परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपालको एलडीसी उत्तीर्ण भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि सुनलाई धन्यवाद दिइन् । यस्तै, उपमन्त्री सुन 'एक चीन सिद्धान्त'प्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरेका थिए ।

यस्तै, दुवै पक्षले उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा छलफल गरेका थिए । उनीहरूले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धनलगायत व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपाय र उपायबारे छलफल गरे । उपमन्त्री सुनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टचार भेटवार्तामा पनि चीनले सन् २०२५ मा नेपाल भ्रमण वर्ष मनाउन लागेको जानकारी दिएका थिए ।

दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय पनि गरेका छन् ।

सचिव लम्सालले भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गगरिन् । उपमन्त्री सुनले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : असार ११, २०८१ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×