कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भैरहवामा ‘साई ग्लोबल कप टी–२०’ क्रिकेट मंगलबारदेखि

दीपेन्द्र बडुवाल

भैरहवा — रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ को दोश्रो संस्करण मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा जिल्लाका दुई दर्जनभन्दा बढी कलेज सहभागी हुनेछन् । 

भैरहवामा ‘साई ग्लोबल कप टी–२०’ क्रिकेट मंगलबारदेखि

एक सातासम्म संचालन हुने प्रतियोगिताको दोस्रो संस्करण फागुन ८ गते मंगलबारदेखि सुरु हुने संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।

संघले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। ‘मुलुकको क्रिकेटमा रुपन्देहीले छुट्टै पहिचान बनाउन सफल छ, संघले क्रिकेटका लागि विकासमा स्कूल र कलेज स्तरका प्रतियोगितामा जोड दिइरहेको छ’, अध्यक्ष थापाले भने, ‘भविष्यका निम्ति नयाँ प्रतिभा उत्पादन गर्न निरन्तर लागिरहेका छौं ।’

उनका अनुसार संघले आफ्नो वार्षिक योजना अनुरुप विद्यालयस्तरीय प्रतियोगिता, प्रधानमन्त्री कप पुरुष क्रिकेट र तीन दिवसीय क्रिकेट प्रतियोगिता सफलता पूर्वक आयोजना गरिसकेको छ ।

जिल्लास्तरीय अन्तरकलेज प्रतियोगिता लगत्तै रुपन्देही सुपरलिग सुरु हुनेछ । अन्तरकलेज प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजन गरेको छ । संघका सचिव संजय गुरुङका अनुसार प्रतियोगितामा विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

‘संघ र यस क्षेत्रमा क्रियाशिल सबै संघसंस्थाहरुको सामूहिक प्रयासले मात्रै कुनै पनि प्रतियोगिताको सफलता सम्भव हुन्छ, हामी यही कुरामा सदैव विश्वास गर्छौं’, गुरुङले भने, ‘सबैको सहयोगले संघले आयोजना गर्ने प्रतियोगिताहरु सफल भएका छन्, ग्रासरुटबाट नयाँनयाँ खेलाडी उत्पादनमा टेवा पुगिरहेको छ ।’

प्रतियोगिता संयोजक पुनित पोखरेलले संघले विद्यालयस्तरबाट आयोजना गर्ने यस्ता प्रतियोगिताले गर्दा जिल्लाबाट दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुगिरहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा यसपटक २६ टिम सहभागी हुँदैछन् ।

प्रकाशित : फाल्गुन ६, २०८० १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×