कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहरबाट सिधै गाउँ

पढाइ र काम बन्द भएपछि मुलुकका विभिन्न सहर र विदेशबाट गाउँ फर्किनेको भीड

अर्घाखाँची/रुकुम पूर्व/रोल्पा/परासी — कोरोना संक्रमण तीव्र भएपछि अध्ययन र रोजगारीका लागि सहर र भारत गएकाहरू गाउँबस्तीमा फर्किन थालेका छन् । गत वर्ष सहरबाट फर्किनेलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम थियो । यसपालि उनीहरू सिधै घरमा गइरहेका छन् ।

सहरबाट सिधै गाउँ

बसाइँसराइले सुनसान गाउँघरमा यसरी फर्किनेका कारण अहिले चहलपहल बढेको छ । सहरमा पढाइ र काम बन्द भएपछि गाउँ फर्किने बढेका हुन् ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका–७ का पुनाराम घर्ती भारतबाट घर आइपुगे । उनी पहिलो चरणको कोभिडमा ६ महिना घरमा बसेर भारतको दिल्लीमा जागिरमा फर्किएका थिए । अहिले होटलले कामदारलाई बिदा गरेपछि उनी पुनः घर फर्किएका हुन् । गत आइतबार घर आइपुगेका उनले पोहरजस्तै मकै रोप्न बाँझोबारी खन्न सुरु गरेको बताए । लामो समय भारतमा रोजगारीमा रहँदा १० वर्षमा उनको ६ रोपनी खेत र बारी बाँझो भएछ । ‘गत वर्ष अढाई रोपनी बाँझोबारी खनेर मकै रोपें, त्यहाँ चार मुरी मकै, दुई पाथी बोडी, काँक्रा, फर्सी फले,’ उनले भने, ‘अब सबै बाँझो बारी खनेर मकै रोप्छु । अब भारत जान्नँ, यहीं खेती गर्ने, बाख्रा पाल्ने काम गर्छु ।’ दुई पाठापाठीसहितको माउ बाख्रो १८ हजार रुपैयाँमा किनेर ल्याएका छन् । दिल्लीको होटलमा उनी १० वर्षदेखि काम गर्दै आएका थिए ।

पहिलो चरणको लकडाउनमा चैतमै घर फर्किएका उनी शीतगंगा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा १४ दिन बसेका थिए । अहिले क्वारेन्टाइन छैन । सिधै घरमा आए पनि परिवारसित टाढै छन् । घरदेखि परको गोठमा बसेका छन् । ‘१४ दिन यहीं बस्छु, बिहान बेलुका बारी खन्छु, दिउँसो आराम गर्छु,’ उनले भने, ‘१४ दिनमा एक रोपनी बाँझिएको बारी खन्ने लक्ष्य छ ।’ बाजेको पालामा यही बारीले १० जनाको परिवारलाई वर्ष दिन खान पुगेर मकै, गहुँ, तोरी बेचेको उनलाई सम्झना छ । रोजगारी खोज्दै भारत र तेस्रो मुलुक जानुपर्ने बाध्यता र छोराछोरीलाई पढाउन सहरमा डेरा गरी बस्ने लहरले गाउँमा युवाशक्ति नभएर अन्न उब्जनी हुने खेतीयोग्य जमिन बाँझिएको उनले बताए ।

घर्तीसँगै दिल्लीमै काम गर्ने गुल्मीका विक्रम थापा पनि साथीसँगै घर फर्किएका छन् । ‘अब भारत नफर्किने वाचा गरेर आएको छु,’ गुल्मीको पीपलनेटाका उनले भने, ‘घरमा बाख्रा पालेर बस्ने योजना छ । होम क्वारेन्टाइनमा बसेर खोर बनाउन काठ खोज्दै छु ।’ घरमा अहिले १२ वटा माउ बाख्रा, चारवटा खसी छन् । बाख्रा थपेर खसीबोका उत्पादन गर्ने र त्यही बिक्री गरेर भारतमा कमाउने पैसा यहीं कमाउने गरी व्यावसायिक बाख्रापालन गर्ने उनले बताए । काम गर्दागर्दै पहिलो र दोस्रो चरणको कोभिडमा आँखैअगाडि भारतमा मान्छे मरेको उनले देखे । दुई पटकसम्म बचेर घरपरिवारसँग आइपुगेको उनले सुनाए ।

क्वारेन्टाइन खाली

संक्रमित क्षेत्र र विदेशबाट आएकाहरूलाई राख्न भनेर रुकुमपूर्वका सिस्ने र भूमे गाउँपालिकाले क्वारेन्टाइन बनाएका छन् । कच्ची गारो लगाएर टिनले छाएका ती क्वारेन्टाइन अहिले खाली छन् । सहर र विदेशबाट आएका भने सोझै घरघर गइरहेका छन् । भएका क्वारेन्टाइनमा राख्ने प्रयास न स्थानीय तहले गरेका छन्, न त जिल्ला प्रशासनले कडिकडाउ गरेको छ । संक्रमण धेरै फैलिएका मुलुककै विभिन्न सहर र भारतबाट सर्वसाधारण हरेक दिन घर फर्किरहेका छन् । गाउँ फर्किएकाहरू निस्फिक्री घुमिरहेका छन् । यसले संक्रमण फैलिने चिन्ता बढे पनि व्यवस्थापनमा भने कसैले चासो दिएको छैन ।

प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बाहिरबाट आउनेहरूको रेकर्ड राखिएको र निगरानीमै घर पठाउने गरिएको बताए । सहर र विदेशबाट आउनेहरू संक्रमित हुन सक्ने सम्भावना भए पनि लक्षण नदेखिएका सबैलाई घर पठाइरहेको उनको भनाइ छ । समस्या भएपछि मात्रै स्वास्थ्य जाँच गराउन भनिएको र नत्र कतै नघुमीकन बस्ने भन्दै घर पठाउने गरिएको प्रजिअ राईले बताए । जिल्लामा ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा स्वास्थ्यकर्मी र कर्मचारी छन् । एन्टिजेन परीक्षण पनि लक्षण देखिएकालाई मात्रै गर्ने गरिएको छ । प्रदेश सरकारले दुई सय एन्टिजेन किट पठाएको छ । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले लक्षण देखिएका र समस्या भएकालाई अस्पतालमा राखिएको र बाँकी सामान्य अवस्थाकालाई घर पठाइएको बताइन् ।

आईसीयू न भेन्टिलेटर

पश्चिम नवलपरासीमा भारत र सहरबाट सोझै घर फर्किनेका कारण संक्रमणको दर बढ्दै गए पनि आवश्यक भेन्टिलेटर र आइसोलेसन निर्माणको काम भने हुन सकेको छैन । यसअघि निर्माण भएका आइसोलेसन सेन्टर अहिले बन्द छन् । केन्द्र सरकारले जिल्ला पृथ्वीचन्द्र अस्पतालमा भेन्टिलेटर राख्नका लागि उपकरण पठाइसकेको छ । त्यसको जडान र प्राविधिक पक्षमा आइतबारसम्म काम हुन सकेको छैन । एक वर्षअगाडि हरेक जिल्लामा न्यूनतम १० बेड क्षमताको भेन्टिलेटर तयार गर्ने योजना थियो । अहिलेसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन ।

जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीका मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुल होदाका अनुसार केन्द्रबाट भेन्टिलेटरको उपकरण जिल्लामा आइपुगेकाले यसको जडानको काम भइरहेको बताए । ‘प्रदेश सरकारले स्थापना गर्ने भेन्टिलेटर कक्ष कहाँ राख्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख र स्वास्थ्य कार्यालयबीच छलफल भइरहेको छ,’ उनले भने, ‘भारतसँग सिमाना जोडिएको जिल्ला भएकाले तत्काल भेन्टिलेटरसहितको उपचार कक्ष आवश्यक छ ।’

४३ जनालाई जाँच्दा ४२ मा संक्रमण

रोल्पाको गंगादेव गाउँपालिकामा ४२ संक्रमितलाई ‘होम आइसोलेसन’ मा राखिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का अनुसार सबै स्थानीय तहमा व्यवस्थित आइसोलेसन निर्माण नगरिएकाले संक्रमितलाई घरमै बस्न निर्देशन दिइएको हो । गाउँपालिकाको सक्रियतामा लक्षण देखिएका ४३ जनाको पीसीआर जाँच गर्दा गत शुक्रबार ४२ जनामा कोरोना पुष्टि भएको थियो । गाउँपालिकाले सबैको स्वाब संकलन गरेर परीक्षणका लागि भैरहवा पठाएको थियो । संक्रमितमध्ये अधिकांश कर्मचारी छन् ।

ठूलो संख्यामा संक्रमित पाइएपछि उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको पीसीआर परीक्षण गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले बताए । काम विशेषले नेपालगन्ज पुगेर फर्केपछि बिरामी परेका गाउँपालिकाका लेखा अधिकृत र एक स्थानीयको पीसीआर जाँच गर्दा सुरुमा उनीहरूमा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि धेरैमा सरेको गाउँपालिको आशंका छन् । यति धेरै संख्यामा कोरोना संक्रमण देखिएपछि स्थानीय अहिले त्रसित छन् ।

कोरोना पोजिटिभ देखिएकामा गाउँपालिकाको स्वास्थ्य विभाग प्रमुखसमेत छन् । उनकै नेतृत्वमा जिल्लामा कोरोनाविरुद्धको खोप लगाइएको थियो । उनी र अन्य संक्रमित स्वास्थ्य कर्मचारीले दोस्रो चरणको खोप लगाइदिएका थिए । स्थानीयले समुदायमै कोरोना फैलिएको आशंका गरेका छन् । जिल्लामा अहिले ६३ जनामा कोरोना संक्रमण देखिएको छ । एक जनाबाहेक सबैलाई ‘होम आइसोलेसन’ मा राखिएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?