कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कांग्रेस पदाधिकारीविहीन बीपी स्मृति दिवस

प्रकाश बराल

बागलुङ — बीपी स्मृति दिवसमा जिल्लादेखि केन्द्रीय नेता सहभागी भएर बृक्षारोपण गर्ने, बीपीबारे अन्तरक्रिया गर्ने, विचार विमर्श गर्ने लगायतका काम धेरै पटक भए । तर आइतबार ४२ औं बीपी स्मृति दिवस त्यस्तो भएन । 

कांग्रेस पदाधिकारीविहीन बीपी स्मृति दिवस

जिल्ला कार्यसमिति आयोजक भएको व्यानरमा बोलाइएको कायर्यक्रममा कांग्रेसका पदाधिकारी कोही पनि देखिएनन् । बिहान साढे ७ बजे बागलुङ नगरपालिका-१ को रामरेखास्थित बीपी बाटिकामा बोलाइएको कार्यक्रममा वडा तहका कार्यकर्ता, पूर्व जनप्रतिनिधि पुग्दा कांग्रेसको पदाधिकारीमा रहेका ७ जनामध्ये कोही थिएनन् ।

आठ बजेर १५ मिनेटसम्म कोही पदाधिकारी आउँलान् कि भनेर कुरेका कार्यकर्ता फर्कने अवस्था भएपछि जिल्ला कार्यसमितिमा मनोनित भएका सदस्यहरुले कार्यक्रम संचालन गरेर फर्केका छन् । जिल्ला सदस्य महेन्द्र आचार्यको अध्यक्षता, सदस्य टिकाराम थापाको संचालन र प्रदेश समितिकी सदस्य पार्वती आचार्यले स्वागत गरेकी थिइन् ।

केन्द्रीय नेता आएको बेला सयौंको संख्यामा उपस्थित हुने कांग्रेस कार्यकर्ता आइतबार भने २० जना पनि उपस्थित थिएनन् । त्यसपछि पार्टीका पूर्व सभापतिहरु प्रकाश शर्मा पौडेल र हरिप्रसाद श्रेष्ठले धारणा राखेर कार्यक्रम समापन भयो । उपस्थित कार्यकर्ताले बीपी बाटिकामा रहेका बीरुवा गोडेर फर्केका थिए ।

कार्यक्रममा बोल्ने पौडेलले संविधान संशोधन मात्र समस्याको समाधान नभएको भन्दै जनजीविकाको पक्षमा काम गर्नुपर्ने बताए । उनले प्रथम जननिर्वाचित प्रधानमन्त्रीको पमा बीपीले देखाएको बाटो हिडेकाहरुले बाटो बिराइरहेको टिप्पणी गरे ।

साथै पदमा बस्नेले पार्टीलाई जीवन्त बनाउन सक्नुपर्ने नत्र पदमा बस्नुको औचित्य नभएको बताए । ‘काम त धेरै होला, तर बीपी स्मृति दिवस कांग्रेसको कार्यकर्ताको पहिलो रोजाइ हुनुपर्छ’ पौडेलले भने, ‘राजनीतिमा मुल सिद्दान्तबाट बिचलित भइयो भने औचित्य सकिन्छ ।’

अर्का वक्ता श्रेष्ठले २०३९ सालमा बीपीको अस्तु सेलाउँदा पनि जनसागर उर्लेको बताए । उनले अहिले कार्यकर्तामा आएको निरासाको पछाडि नेतृत्व जिम्मेवार बन्नुपर्ने टिप्पणी गरे । कार्यक्रम सकिनै लाग्दा सहसचिव ज्ञानु श्रीष पुगिन् । त्यतिबेला सम्म अध्यक्षले कार्यक्रम समापन गरिसकेका थिए ।

कार्यक्रम स्थलमा पुगेकी एकमात्र पदाधिकारीले आसन ग्रहण गर्न पनि भ्याइनन् । कांग्रेस सभापति जीत शेरचनले काम बिशेषले सबैजना काठमाण्डौ आएकोले उपस्थित हुन नसकेको बताए । सहसचिव ज्ञानु श्रीषले भने राति १० बजे मात्रै आफूलाई सभापतिले जानकारी दिएकोले सदरमुकाम आइपुग्न नभ्याएको बताइन् ।

श्रीष काठेखोला गाउँपालिका-५ देखि कार्यक्रम स्थल आइपुग्दा ९ बजेको थियो । पदाधिकारीले भने नवगठित सरकारका मन्त्रीसँग सेल्फी खिचेका तस्बिर सामाजिक संजालमा पोष्ट गरिरहेका छन् ।

प्रकाशित : श्रावण ६, २०८१ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×