कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सुरक्षित देखिने स्थानमै पहिरोले क्षति

पोखरा महानगरपालिकाभित्रै पहिरोमा परेर असारमा ११ जनाले ज्यान गुमाइसके
दीपक परियार

पोखरा — दुई छोरीलाई पढाउन पाँच वर्षअघि छिमेकी रुपा गाउँपालिकाबाट पोखरा महानगरपालिका–३२ चैनपुर झरेकी आरती ओझाको घर असार २८ को पहिरोले पुर्‍यो । घर समथर स्थानमै भए पनि पाखोबारीको भित्ता खारेर बनाइएको थियो ।

सुरक्षित देखिने स्थानमै पहिरोले क्षति

रातभरको बर्खाले बिहान १ बजेतिर चिम्ट्याइलो माटो बगायो । घरपछाडि भित्ता खारेकै ठाउँबाट पहिरो खसेर ब्लक र टिनले बनेको घर पुर्‍यो ।

घरमा ४० वर्षीया आरती, उनका दुई छोरी १८ वर्षीया अनिता, ११ वर्षीया अनुष्का र दाइको छोरा ९ वर्षीय प्रतीक ओझा सुतिरहेका थिए । पहिरोले जम्मैलाई पुर्‍यो । आरती जसोतसो बाँचिन । बाँकी तीन जनाको घटनास्थलमै निधन भयो । आरतीलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । हाल उनको अवस्था मध्यम छ । रोजगारीको सिलसिलामा भारतमा रहेका उनका श्रीमान् फर्किएका छन् । उनी फर्कदा घर छ, न दुई छोरी ।

घर बनाउने बेलामै भिरालो जमिन खारेर बनाएको स्थानमा नबनाउन आफूले सुझाएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्मरण गरे । ‘त्यस ठाउँमा चिम्ट्याइलो माटो छ, पानी पर्‍यो भने लच्किएर खस्छ भनेको थिएँ,’ उनले भने, ‘पहिला पनि ससानो पहिरो गइरहन्थ्यो, मानवीय क्षति भएको थिएन । यसपल्ट कलिला बालबालिकालाई गुमाउनुपर्‍यो ।’

त्यसै रात पोखराकै अर्को वडामा झन् ठूलो मानवीय क्षति पुग्ने गरी पहिरो खसेको थियो । असार २७ को राति १०ः१५ बजेतिर पोखरा–१९ पुरुञ्चौरस्थित तल्लाकोट ठाँटीमा घर पछाडिबाट पहिरो खस्दा एकै घरभित्र ६ जना पुरिए । पहिरोकै असरले तल्लो घरमा रहेकी महिलाको पनि निधन भयो । तल्लाकोटमा मोटरबाटोको माथि ४६ वर्षीय कुलबहादुर परियारको ढुंगा र माटोको गारो र टिनको छानो भएको दुई कोठे कच्ची घर थियो । घरपछाडि पाखो बारीमा मकै लगाइएको थियो । दुई–तीन दिनको लगातार झरीले अघिल्लो दिन नै सानो पहिरो घर माथिको बारीसम्म आएर थुप्रिएको थियो । मुल फुटेर घरको करेसाबाट बगिरहेको थियो । त्यही पहिरो सफा गर्न असार २७ मा माइली छोरी प्रभा र ज्वाइँ अस्मित आएका थिए ।

छिमेकीले त्यस रात अन्तै बस्न कुलबहादुरलाई सुझाएका थिए । तर घरभन्दा झण्डै ५० मिटर मात्रै माथिबाट खसेको ढिस्कोले कच्ची घरलाई पुर्‍यो । कुलबहादुरसहित उनकी पत्नी ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्षीम, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित घरभित्रै पुरिए । पहिरोको आवाज सुनेर बाहिर निस्किएकी उनको भन्दा तल्लो घरमा बस्ने भाउजु ५६ वर्षीया राधिका परियारको लडेर ज्यान गयो । कुलबहादुरका छोरा १७ वर्षीय पवन परियारलाई भने आधा पुरिएको अवस्थामा स्थानीयले उद्धार गरे ।

उनको घरसँगै जोडिएको दाइ सुवर्ण परियारको ब्लक र टिनको दुई कोठे घरको एउटा कोठामा पहिरो पसेको थियो । अर्को छेउपट्टि रहेको मानबहादुर लामिछाने क्षेत्रीको दुई तले पक्की ढलान घरसम्म पनि पहिरो पुगेको थियो । तर पहिरोले घर नै पुर्ने गरी क्षति पुगेन । ढोका फोरेर डहरमा पहिरो पस्यो । अन्य मानवीय र भौतिक क्षति भएन ।

सानै पहिरोले ठूलो मानवीय क्षति भएको पोखरा–१९ का वडासदस्य विकास आचार्यले बताए । उनका अनुसार रातो फुस्रो माटो (स्थानीय भाषामा जोगी माटो) मा पहिरोको सम्भावना बढी हुन्छ । यद्यपि, यसअघि त्यस स्थानमा ठूलै पहिरो नखसेको भए पनि कुलबहादुरको परिवारलाई सजग गराउँदा गराउँदै क्षति पुगेको उनले बताए । ‘पहिरो खसे पनि घरै पुर्ने गरेर पहिरो नआउँला भन्ने लागेको थियो होला,’ उनले भने, ‘पक्की घर भएको भए पनि यति क्षति पुग्ने थिएन ।’

त्यसअघि असार १२ मा रातभरको अविरल वर्षाले घरमाथिको माटोको ढिस्को खस्दा पोखरा–२७ आरुपाटाका हरि सुनारको कच्ची घर पुरियो । यो घर पनि पाखो खारेको स्थानमा बनाइएको थियो । भित्तापट्टीको कोठामा सुतेका उनकी श्रीमती २७ वर्षीया ऋतु सुनार र ३ वर्षीय छोरा अनमोल सुनारलाई पहिरोले पुर्‍यो । ब्लकको गारो भत्काए पहिरो घरभित्र पसेको थियो । विहान ३ बजेतिर हारगुहार गर्दा उनले श्रीमतीलाई पहिरोबाट उद्धार गर्न सके । अनमोलले ज्यान गुमाए । हरि र उनकी ९ वर्षीया छोरी अञ्जली सकुसल छन् । असार २५ मा पोखरा–२७ सहेलापाटामा सानो ढिस्को खसेर ब्लक र टिनको कच्ची घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाले ज्यान गुमाए ।

यी दुवै पहिरो आएको स्थान हेर्दा कल्पना बाहिरको रहेको पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए । ‘पहिरो आउँलाजस्तो ठाउँ नै छैन,’ उनले भने, ‘पहिरो त्यति ठूलो पनि होइन, सानो ढिस्को खसेर ज्यान नै लग्यो ।’ त्यस्तै प्रकृतिको पहिरोल असार १२ को राति मादी गाउँपालिका–५ चितेपानीमा बालिकाले ज्यान गुमाइन् । माटोकै ढिस्को खसेर प्रकाश रानाभाटको घर पुर्‍यो । ढुंगा, माटोको तीन कोठे कच्ची घरको एउटा कोठामा उनकी आमा लालमाया र अर्को कोठामा १३ वर्षीया छोरी आयुष्मा सुतिरहेका थिए । पहिरोले आयुष्मा सुतिरहेकोपट्टीको कोठा पुर्‍यो । घटनास्थलमै उनको निधन भयो । लालमायाको अवस्था भने सामान्य छ ।

असार २८ मा कास्कीको मादी गाउँपालिका–११ तल्लो साप्लेमा घरमाथिबाट आएको पहिरोले ८० वर्षीया मैतीकुमारी गुरुङको ज्यान लियो । पानी दर्किरहेको अवस्थामा शौचालयका लागि बाहिर निस्किएकै बेलामा पहिरोले उनलाई पुरेको थियो ।

मनसुन सुरु भएयता पहिरोमा पुरिएर कास्कीमा १३ जनाले ज्यान गुमाइसकेका छन् । सुगम भनिएको पोखरा महानगरपालिकामै ११ र मादी गाउँपालिकामा २ जनाले ज्यान गुमाएका हुन् । पहिरोका यी सबै घटनाको प्रकृति मिल्दोजुल्दो छ । सबै पहिरो रातको समयमा आएका हुन् । घरभित्र सुतिरहेको अवस्थामा मानिसलाई पहिरोले पुरेको छ । ठूलो र बस्तीभन्दा धेरै माथिबाट भन्दा पनि सानो ढिस्को खस्ने र एउटा घर पुर्ने गरी पहिरो आएका छन् । पहिरोले क्षति पुर्‍याएका सबै घर कच्ची हुन् । ढुंगा, माटो वा ब्लकको गारो र टिनले छाएका घरमा पहिरो खस्दा मानवीय र भौतिक क्षति पुगेको छ ।

वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका सहप्राध्यापक एवं भूगर्भविद् रामप्रसाद शर्माका अनुसार महाभारत पर्वत शृंखलामा रहेको पोखरामा मुख्यगरी फिलाइट र क्वार्जाइट चट्टान पाइन्छ । तुलनात्मक रुपमा कमजोर हुने फिलाइट चट्टान टुक्रिएर चिम्ट्याइलो माटो बन्छ । चिम्ट्याइलो माटो भएको ठाउँमा बेस्सरी पानी पर्दा पानीले माटोलाई घुलनशील अवस्थामा पुर्‍याउछ । ‘पानी माटो भित्र पसिसकेपछि माटोको बीचमा हुने मसिनो प्वालमा चाप पर्छ, त्यसको कारण पहिरो जान्छ,’ उनले भने, ‘अहिले पोखरामा भएको त्यही हो ।’ पोखरामा अधिकांश चिम्ट्याइलो माटो भएको र पानी धेरै पर्ने ठाउँ भएकोले पहिरोको जोखिम उत्तिकै रहेको उनले बताए । ‘घर, बस्तीभन्दा माथि भल बग्ने ठाउँ छ भने त्यसलाई तर्काउन नाला बनाएर भलको पानी कटाउन सकियो भने पहिरोबाट जोगिन सकिन्छ,’ उनले भने, ‘मूल पलाउने ठाउँ छ र चिम्ट्याइलो माटो छ भने त्यस्तो ठाउँमा बस्ती बसाउन हुँदैन ।’

प्रकाशित : श्रावण १, २०८१ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×