कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

तीन वर्षदेखि प्रयोगविहीन क्यान्टिलिभर पुल मर्मत

गोरखा — पहुँचमार्ग बगाएपछि प्रयोगविहीन बनेको मनास्लु पदमार्ग अन्तरगत धार्चे गाउापालिका–१ यारुबगरको क्यान्टिलिभिर पुल (भीर खोपेर बनाइएको) मर्मत गरिएको छ । तीन वर्षअघि बाढीले पहुँचमार्ग बगाएपछि नेपालकै पहिलो र नयाँ प्रविधिको क्यान्टिलिभर पुल प्रयोगविहीन बनेको थियो ।

तीन वर्षदेखि प्रयोगविहीन क्यान्टिलिभर पुल मर्मत

धार्चे गाउँपालिकाले चालु आर्थिक वर्ष छुट्टाएको ५ लाख बजेटबाट पुल मर्मत भएको गाउँपालिकाका प्राविधिक शाखाका इन्जिनियर विवश खनालले बताए । पुल सँगैको पहुँचमार्ग बुढीगण्डकीले कटान गरेपछि पुल भएर आवात जावात ठप्प बनेको थियो । बगरबाट करिब १० मिटरमाथि भीरमा पुल झुण्डिएको थियो ।

‘अब मज्जाले पुल भएर हिँड्न मिल्छ,’ उनले भने,‘ग्याबिन तथा सिडी लगाएर फलामको रेलिङसहित पुलमा उक्लिन मिल्ने बनाएका छौं ।’ बीच भागमा यारु भीरबाट झरेको ढुङ्गाले पुलमा क्षति पुगेको उनले बताए । ढुङ्गाले क्षति पुर्‍याएको भागको पनि मर्मत गर्ने गाउँपालिकाले जनाएको छ ।

‘बेसमा ग्याबिन राखेर ११/१२ वटा भर्‍याङ राखेर रेलिङ हालेका हौं,’ उनले भने,‘पुल बीचमा ढुंगा झरेर पुर्‍याएको सानोतिनो क्षतिको मर्मत त बाँकी नै छ, अहिले पुल भएर हिँड्न मिल्ने बनाएका छौं ।’

२०७२ वैशाख १२ को भूकम्पले मनास्लु पदमार्ग क्षतविक्षत बनाउँदा यारु खण्डमा पदमार्गको ट्रयाकमसेत नरहेपछि भीरमा टाँसिएको नौलो प्रविधिको क्यान्टिलिभर पुल निर्माण भएको थियो ।

युके एडको आर्थिक सहयोगमा बनेको १ सय ९५ मिटर लामो पुल २०७३ जेठबाट सञ्चालनमा आएको थियो । अजंगको यारु भीरका भित्तामा चट्टान खोपेर विशेष किसिमका बोल्टहरुले जोडेर पुल निर्माण भएको छ ।

क्यान्टिलिभर पुल प्रयोगमा आएको पाँच वर्ष नबित्दै पहुँचमार्ग बगाएपछि प्रयोगविहीन बनेको थियो । स्थानीय बुढीगण्डकीको बगर भएर आउजाउ गर्दै आएका थिए । उत्त पैदलमार्ग भएर चुमनुब्री गाउँपालिकाका स्थानीय आउजाउ गर्दै आएका छन् । यारु भीर वारिबाट लार्के सडकको सडकको ट्रयाक खुलेको छ । तर पैदलयात्रु यारु भएर आउजाउ गर्छन् । यो पुल प्रयोगमा आएसँगै मनास्लु क्षेत्र पुग्ने पर्यटकलाई आउजाउमा सहज बन्ने धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले बताइन् । मनास्लु क्षेत्र घुम्न आउने पर्यटकको रोजाईमा क्यान्टिलिभर पुल पनि पर्छ ।

प्रकाशित : जेष्ठ २९, २०८१ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×