कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

छिपछिपे सहकारीमा ठगी गर्नेहरुविरुद्ध कावासोतीमा प्रदर्शन

पूर्वीनवलपरासी — नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सर्मथहरुले शुक्रबार कावासोतीमा सहकारी ठगी गर्नेहरुविरुद्ध प्रदर्शन गरेका छन् । पार्टी कार्यकर्ता र छिपछिपे सहकारीबाट ठगिएकाहरुले कार्यालय अघिल्तिर प्रदर्शन गरेका हुन् ।

छिपछिपे सहकारीमा ठगी गर्नेहरुविरुद्ध कावासोतीमा प्रदर्शन

नेकपाका जिल्ला सचिव सुमन ज्ञवालीले छिपछिपे सहकारी ठग्नेहरुका विरुद्ध पीडितले प्रदर्शन गरेको जनाए । सहकारी ठग्ने र कारबाही देखाउने दाँतमात्र भएको भेटिएकाले पीडितहरुलाई गोलबन्द गरेर प्रदर्शन गरिएको ज्ञवालीले बताए । प्रदर्शनकारीले 'सहकरी ठग्नेहरुलाई कारबाही गर', 'सहकारीपीडितको रकम फिर्ता गर' भन्ने नारा लगाएका थिए । सहकारी ठग्नेहरुलाई ठूला दलले संरक्षण गरेको उनीहरुको आरोप थियो ।

२३ सय ९४ बचतकर्ताले छिपछिपे सहकारीमा जम्मा गरेको १६ करोड ५८ लाख रुपैयाँ संचालक समिति र व्यवस्थापकको मिलोमतोमा हिनामिना भएको प्रहरी अनुसन्धानले देखाएको छ । सहकारी ठगीमा संलग्न भएको आरोपमा ३५ जनाविरुद्ध जिल्ला अदालतमा विपक्षी बनाएर मुद्दा दायर भएको छ । ३० जनामध्ये १० पक्राउ परेका छन् भने २५ जना फरार रहेका छन् । उक्त सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डेको मिलोमतोमा बचतकर्ताको रकम हिनामिना भएको प्रहरी अनुसन्धानले देखाएको छ । पाण्डेले सहकारीको शेयर सदस्य नै नरहेका व्यक्तिलाई बिनाधितो रकम दिएर सहकारी डुबाएका हुन् । सहकारीको ९६ लाख रुपैयाँ लगेर हिनामिना गर्नेमा राप्रपाकी संघीय सांसद गीता बस्नेत पनि रहेकी छन् । उनले बर्दियामा रहेको आफ्नो कृष्णसार रिसोर्टमा यहाँबाट ९६ लाख लगेर लगानी गरेको प्रहरीले गरेको अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

सांसद बस्नेतविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको करिब ४५ दिन भइसक्दा पनि उनी प्रहरीको सम्पर्कमा नआएको जिल्ला प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ २५, २०८१ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×