कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईई : तनहुँका ३ विद्यालयको शतप्रतिशत नतिजा

तनहुँ — जिल्लाका ३ विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)मा शतप्रतिशत नतिजा ल्याएका छन् । बिहीबार सार्वजनिक नतिजामा एक गुरुकुल र २ संस्थागत विद्यालय गरी ३ वटा विद्यालयको नतिजा शतप्रतिशत आएको हो । 

एसईई : तनहुँका ३ विद्यालयको शतप्रतिशत नतिजा

परीक्षामा सहभागी १ सय ७० विद्यालयमध्ये देवघाट गाउँपालिकास्थित महेश संस्कृत गुरुकुलम, पटन इङ्लिस बोर्डिङ स्कुल भिमाद ऋषिङपाटन र दमौली पब्लिक इग्लिस स्कुलले शतप्रतिशत नतिजा ल्याएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी विश्वप्रकास रेग्मीले बताए । उनका अनुसार गुरुकुलमबाट २०, पटन इङ्लिस बोर्डिङबाट ११ र दमौली पब्लिकबाट ६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

गुरुकुलमबाट परीक्षा दिएका २० मध्ये १९ जनाले ३.६ जीपिएभन्दा माथि ल्याएका गुरुकुलमका गुरु फडिन्द्र पौडेलले बताए । उनले भने, ‘परीक्षामा सहभागी भएको यो २७ औं ब्याच हो । एसएलसी हुँदै एसईईसम्म आइपुग्दा गुरुकुलबाट सहभागी विद्यार्थीको नतिजा सधैं शतप्रतिशत छ ।’

यस्तै, जिल्लाका १३ सामुदायिक विद्यालयको एसईई नतिजा शून्य आएको छ । शुक्लागण्डकी नगरपालिकाका सरस्वती माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालय, भानु नगरपालिकाका आदर्श सरस्वती माध्यमिक विद्यालय, ऋषिङ गाउँपालिकाको जय दुर्गा माध्यमिक विद्यालय र महेन्द्रोदय माध्यमिक विद्यालय, व्यास नगरपालिकाको अमरसिंह माध्यमिक विद्यालय, घिरिङ गाउँपालिकाको दिपक माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय र महेन्द्रज्योती माध्यमिक विद्यालय, आँवुखैरेनी गाउँपालिकाको कन्यादेवी माध्यमिक विद्यालय र छिम्केश्वरी माध्यमिक विद्यालय, बन्दीपुर गाउँपालिकाको शिव माध्यमिक विद्यालयको नतिजा शुन्य आएको इकाईले जनाएको छ ।

जिल्लाका सामुदायिक विद्यालय खुल्ला १ सहित १ सय १९ र संस्थागत ५१ गरी १ सय ७० विद्यालयका विद्यार्थीले एसईईमा सहभागीता जनाएका थिए । यसैगरी परीक्षामा सहभागी ५ हजार ३ सय ८४ विद्यार्थीमध्ये भानु नगरपालिका–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकी रञ्जिला क्षेत्रीले मात्रै ४ जीपीए ल्याएकी छिन् ।

यसैगरी व्यास नगरपालिका–११ फरकचौरस्थित बाराही माध्यमिक विद्यालयबाट एकै परिवारका तिम्ल्याह विद्यार्थीले सफल नतिजा ल्याएका छन् । प्रविन अधिकारीले ३.३९, प्रताप अधिकारीले ३.०८ र असिम अधिकारीले २.४२ जीपीए ल्याएका छन् ।

जिल्लाबाट ४२ प्रतिशत विद्यमार्थी उत्तीर्ण भएका छन् । परीक्षा दिएकामध्ये एक हजार ९११ जना विद्यार्थीलाई २ वटा विषयसम्म एनजी लागेको छ भने एक हजार २४१ जना विद्यार्थीलाई ३ वा सो भन्दा बढी विषयमा एनजी लगेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

प्रकाशित : असार १५, २०८१ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×