कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बाघसँगै जुधेर घाइते बाघको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — बाघसँगै जुधेर घाइते भएको बाघको बुधबार साँझ मृत्यु भएको छ । बिनयी खोलाको किनारमा बुधवार साँझ मृत्यु भएको अवस्थामा एउटा बाघ फेला परेको थियो । सो बाघको पोष्टमार्टम गर्दा अर्को बाघसँग जुधेर घाइते र घाउ निको नभएका कारण मृत्यु भएको खुलेको हो ।

बाघसँगै जुधेर घाइते बाघको मृत्यु

डिभिजन वन कार्यालयका अधिकृत शिशिर लम्सालका अनुसार चितवन निकुन्जको चिकित्सकको टोलीले बिहीवार गरेको पोष्टमार्टममा बाघ-बाघ जुधेर घाइते भएको र घाउ निको नभएका कारण मृत्यु भएको खुलेको हो ।

चितवन राष्ट्रिय निकुन्जका बरिष्ठ चिकित्सक बिजय कुमार श्रेष्ठको टोलीले बिहीवार पोष्टमार्टम गरेको हो । पोष्टमार्टम रिपोर्टमा दुईवटा बाघ लडेको र ढाडमा चोट लागेकोमा सो घाउ निको नभएका कारण उसको मृत्यु भएको भन्ने उल्लेख छ । पोथीसँग सहवासको बेला बाघ लड्ने गरेको बताइन्छ ।

'हरेक बाघको जंगलभित्र एउटा सीमा घेरा हुन्छ । त्यो भित्र अर्को बाघ प्रवेश गरे वा पोथी बाघसँगको सहवासको समयमा बाघहरु जुध्ने गर्छन् । त्यसैबेला घाइते भएको बाघको ढाडमा घाउदेखिएको र निको नभएर मरेको देखिन्छ,' चिकित्सकलाई उधृत गर्दै वन अधिकृत लम्सालले भने ।

बुधवार साँझ बिनयी खोलाको किनारै-किनार लड्खडाउँदै हिडेको देखेपछि स्थानीयले त्यसको भिडियो खिचेका थिए । त्यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । मृतबाघको ढाडमा अर्को बाघले आक्रमण गरेको घाउ रहेको थियो ।

बाघले आफ्नो घाउ चाटेर निको पार्ने गर्छ । मृत बाघको ढाडमा बनेको घाउ चाट्न नमिल्ने ( अफ्ठयारो) ठाउँमा भएका कारण घाउ पाकेर मृत्यु भएको चिकित्सकको भनाइ छ । गत एक वर्षको अवधिमा पूर्वी नवलपरासीमा यो समेत ३ वटा बाघको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ १०, २०८१ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?