कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

बाँदर आतंक छल्न अन्न छाडेर घाँस खेती

बागलुङ — जैमिनी नगरपालिका–१ टुनीबोट गाउँका ४० परिवारमध्ये अधिकांश बसाइँ सरेर चितवन र सदरमुकाम पसे । बसाइँ सर्नुमा उनीहरुले दुई वटा कारण देखाउने गरेका छन् । चार वर्षअघि आएको पहिरोले यहाँका ६ घरमा क्षति पुगेको थियो । दुई जनाको ज्यानसमेत गयो । त्यसपछि केहीले बसाइँ सरेर चितवन झरे ।

बाँदर आतंक छल्न अन्न छाडेर घाँस खेती

त्यो भन्दा बढी यहाँका किसानको छुट्टै दुःख छ । त्यो हो बाँदर आतंक । सयौंको संख्यामा बाँदरको हूल आएर खेतीपाती नष्ट गरिदिने र घरपरिवारलाई समेत तर्साउने मात्रै नभई घरभित्रै पसेर चुलोमा राखेको भात समेत खाइदिने गरेपछि स्थानीय धमाधम बसाइँ सारेर हिँडे । गाउँ रित्तो हुन थालेपछि बाँदरले झन् कब्जा जमाएर केरा र सुन्तला पनि सखाप बनाएको वडाध्यक्ष विष्णु आचार्य गुनासो गर्छन् ।

त्यही समस्या भोगेका किसेगाउँका रुद्रनाथ शर्माले आजकल अन्नखेती गर्न छाडे । उनले गाईभैसीपालन व्यवसाय थालेका छन् । अन्नबाली छाडेर घाँसको खेती गरेपछि मात्रै बाँदर आतंकबाट बच्न सकेको बताए । बसाइँ सरेर चितवन गएका स्थानीय कीर्तिनाथ पौडेलको जमिन भाडामा लिएर शर्माले पशुपालन व्यवसाय थालेका हुन् । पौडेलको घरसहित झण्डै १५ रोपनी जमिनमा शर्माले घाँस रोपेका छन् । उनले गह्रामा नेपियर र कान्लामा सिबोसिटिया र मोलाटो जातको घाँस लगाएको बताए । ‘खेती लगायो भने बाँदरले खानै दिँदैन, घाँस नखाने भएर बचेको छ, घाँसमा बाँदर आउन पनि खोज्दैन,’ शर्माले भने, ‘पशुपालन गरेर फाइदा पनि लिन सकिएको छ ।’ वार्षिक २५ हजार भाडा तिरेर शर्माले पौडेलको घरखेत र बारी स्याहार्दा वर्षमा १० लाखसम्म कमाइ गर्न सकेको बताए ।

उनको गोठमा अहिले ५ गाई र २ भैंसी छन् । दैनिक ५० लिटर दूध बजार पठाउँदा उनले मासिक १ लाखसम्म आम्दानी गरिरहेका बताए । आम्दानीको ६० प्रतिशत घाँस, पानी र अन्य काममा खर्चे पनि मासिक ४० हजार रुपैयाँसम्म बचत गर्न सकेको बताए । कालीगण्डकी दुग्ध उत्पादक सहकारी मार्फत उनले दूध पोखरा पठाएका छन् । जैमिनी नगरपालिकाले दूध उत्पादन गरे बापत प्रतिलिटर १ रुपैयाँ र भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले २ रुपैयाँ ५० पैसा अनुदान दिएको छ । यो अनुदान पाउँदा वर्षमा ६३ हजार रुपैयाँ उनले हात पारेका छन् । गाउँका १ सय २५ किसानले पनि उनीजस्तै अनुदान पाउने गरेका छन् । यहाँका अधिकांश किसानले बाँदर आतंक छल्न पशुपालनतिर लाग्नु परेको बताए । पशुपाल्दा बाँदरबाट जोगिने, घाँस बेचेर आम्दानी पनि गर्न सकिने उनीहरुको अनुभव छ । पशुलाई खुवाएर बाँकी रहेको डाँठबाट वर्षभरीमा ४० क्विन्टलसम्म बेर्ना बेचेर ४० हजार बढी कमाइ गर्न सकेको स्थानीय त्रिलोचन चापागाईले बताए । नगरपालिकाले प्रतिबिरुवा २ रुपैयाँ अनुदान दिएर किसानलाई घाँसखेती गर्न प्रोत्साहन दिएको नगर उपप्रमुख हरिहर शर्माले बताए । ‘बाँदर आतंक रोक्न हामीले धेरै प्रयास गर्‍यौं,’ शर्माले भने,‘बसाइँ सराइ रोक्न सकेसम्मको प्रयास भएको छ ।’ विज्ञ सम्मेलन मार्फत बाँदर पार्क बनाएर बस्तीमा नपस्ने योजना पनि बन्दै गरेको उनले बताए ।

गण्डकी प्रदेश सरकराले आगामी आर्थिक वर्षका लागि बाँदर हेरालु राख्न बजेट दिने नीति र कार्यक्रम समेत ल्याएको छ । बसाइँ सराइले जैमिनीको जनसंख्या घट्दो दरमा छ । नगरपालिकाभरीनै बाँदरको समस्याले बसाइँ सराई बढेको पनि उनले बताए । खेती बचाउन नसकेपछि जैमिनी–८ का टीकानिधि उपाध्यायले घाँस खेती गर्न जग्गा भाडामा लगाएका छन् । स्थानीय राजन पौडेलले वार्षिक १५ हजार रुपैयाँ दिएर खेतमा मोलाटो जातको घाँस रोपेका छन् ।

‘बाँदरले सतायो भनेर खेती लगाउन छाडेर छिमेकीहरु बसाइँ सरेर हिँडे पनि गाउँ नछाडौं भनेर जग्गा भाडामा लिएर घाँस लगाएको छु,’ पौडेलले भने, ‘पशुपालन गरेर पनि गाउँमा टिक्न भने अप्ठ्यारो छ ।’ खेती लगाएर भन्दा चौपाया पालेर केही फाइदा लिन सकिने उनले बताए । वर्षमा पशुपालनबाटै सात/आठ लाख कमाउन सकेको उनले बताए । भेटेरेनरी अस्पतालले पनि किसानलाई गाउँमै टिकाउन घाँस लगाउन प्रोत्साहन गरेको छ । ‘किसानको मिहेनत अनुसार घाँसको बीउ खरिदमा अनुदान दिएका थियौं,’ भेटेरेनरी अस्पतालका प्रमुख डा. ऋषिराम सापकोटाले भने, ‘बहुवर्षे घाँसले किसान बाँदर मुक्त पनि भए, आम्दानी पनि बढ्यो ।’ यहाँका किसानले उब्जाएको घाँसको बीउ जिल्ला बाहिर पनि बिक्री भएको सापकोटाले बताए ।

स्थानीय सरस्वतीदेवी शर्माले पनि बाँदरको आतंककै कारण खेती छाडेर भैंसी पालेको बताइन् । ‘खेतमा लगाएको मकै, गहुँ र फलफूल बाँदरले सखाप बनायो, खानै पाइएन,’ शर्माले भनिन्, ‘दुःख गरेर पनि केही भित्र्याउन नपाएपछि छोराहरु पनि निरास थिए, घाँसले राहत दिएको छ ।’ यहाँ प्रशस्त फल्ने केरा पनि किसानले बाँदरबाट जोगाउन धौधौ भएको छ । बाँदरबाट जोगाउन सके जैमिनीका किसानले केरा लगाएरै घरघरमा ४ लाखदेखि ६ लाख कमाउन सक्ने आचार्यको भनाइ छ ।

प्रकाशित : असार ८, २०८१ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×