कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सहकारीको ११ करोड ठगीका दुई आरोपी जेल चलान

प्रकाश बराल

बागलुङ — सहकारी ठगी आरोपमा जिल्ला अदालत पर्वतले सदरमुकाम कुश्मा बजारको ‘माता पाथीभरा सहकारी संस्था’का अध्यक्ष किशोर श्रेष्ठ र कम्प्युटर सफ्टवेयर डेभलपर प्रतिमान पौडेललाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सहकारीको ११ करोड ठगीका दुई आरोपी जेल चलान

सहकारी ठगीको प्रकृति हेर्दा ३ वर्षभन्दा बढी जेल सजाय हुने कसुर देखिएकोले फागुन १५ गतेको आदेशले धरौटीमा निस्कन नपाइने गरी पुर्पक्षमा पठाइएको जिल्ला अदालतका श्रेस्तेदार राजु ढुंगानाले बताए । न्यायाधीश विद्याराज पौडेलको इजलासले दुवै जनालाई पुर्पक्ष पठाएको हो ।

बचतकर्ताको ११ करोड, ११ लाख, ९० हजार ३ सय २२ रुपैयाँ हिनामिना गरेको उनीहरुलाई आरोप लागेको हो । श्रेष्ठविरुद्ध यसअघि पर्वतकै ‘तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’का संचालकले रकम हिनामिना गरेको उजुरीमा समेत पक्राउ आदेश थियो । गत पुसमा उनी पक्राउ परेर २ लाख धरौटीमा रिहाइ भएका थिए । उक्त सहकारीमा उनकै दाजु बालगोपाल श्रेष्ठ अध्यक्ष थिए । भाइ संचालकमात्रै देखिएकोले धरौटीमा छुटेका श्रेष्ठ आफै अध्यक्ष रहेको सहकारी ठगीमा जेल चलान भएका हुन् । दाजु बालगोपालले भने २९ करोड हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार छन् । उनी हाल अस्ट्रेलिया पुगेर लुकेको पीडितले बताए ।

पीडित सकुन्तलाकुमारी श्रेष्ठसहितको जाहेरीले श्रेष्ठ पक्राउ परेका थिए । सोही जाहेरीले बालगोपाल श्रेष्ठसहित २२ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेकोमा श्रेष्ठ फरार छन् ।

बागलुङको जैमिनी १ घर भई कुश्मा बस्ने लक्ष्मीदेवी शर्माको जाहेरीले ग्रामीण कृषि विकास सहकारी संस्थाका अध्यक्ष लेखानाथ शर्मा भने गत पुसमै पक्राउ परी पुर्पक्षमा परिसकेका छन् । शर्माले मात्रै १ करोड ९५ लाख रुपैयाँ बचत र शेयर रकमसमेत हिनामिना पारिसकेको पुष्टि भएको हो । २०७९ वैशाख १६ गते शर्माले मात्रै १ करोड ९५ लाख रुपैयाँ घर खर्च चलाउन भनेर लगेको सहकारी रजिष्ट्रारको कार्यालयको अध्ययनमा उल्लेख छ ।

सहकारीमा कृतिम बचत खाता खोली शेयर बर्गीकरण गरी हिनामिना गरेको, जगेडा कोषको रकमसमेत हिनामिना गरेको, फर्जी खर्च लेखांकन गरेको आरोपपछि शर्मासहित सहकारीका पदाधिकारी जेल चलान भएका हुन् । प्रहरी निरीक्षक केशव केसीका अनुसार अहिलेसम्म तीनवटा सहकारीका ११ जना पक्राउ परेका छन् । २९ पुरुष र २३ महिला गरी ५२ जना संचालक फरार छन् ।

सहकारी रजिष्ट्रार कार्यालयका अनुगमन निरीक्षण अधिकृत चोलाकान्त वाग्ले नेतृत्वको छानबिन टोलीले गत वर्ष चैत २ गतेको अनुमगनपछि श्रेष्ठ अध्यक्ष रहेको ‘तपाईं हाम्रो सहकारी संस्था’मा पनि रकम हिनामिना भएको पत्ता लागेको थियो । पीडितको निवेदन, सहकारी रजिष्ट्रार कार्यालयको अध्ययन अनुगमनपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पर्वतका तीन सहकारीमा ५० करोड बढी हिनामिना गरेको आरोपमा बचतकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक केशव केसीले बताए । रकमको हिनामिना गर्न व्यवस्थापन समितिसँग सफ्टवेयर डेभलपर समेतको मिलेमतो देखिएको हो ।

सफ्टवेयरमा नै कतिपय अभिलेख हटाउने काममा समेत लागेकोले पौडेलसमेत मुछिएका हुन् । सहकारीमा अध्यक्ष र पदाधिकारीले आफूखुसी रकम लैजाने गरेको पनि भेटिएको हो । लिखत प्रमाण नै नराखी व्यक्तिगत रुपमा रकम घरखर्चमा लग्ने गरेको समेत सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुगमनमा भेटिएको थियो । संचालकहरुले बिना तमसुक, बिना धितो रकम लगानी गरेको समेत भेटिएको थियो । नक्कली ऋणि खडा गरेर रकम हिनामिना भएको पनि प्रमाण भेटिएपछि उनीहरुविरुद्ध सहकारी ठगी मुद्दा परेको थियो ।

तीनवटै सहकारीका फरार अभियुक्तको पनि खोजी भैरहेको प्रहरी निरीक्षक केसीले बताए । ‘फरार अभियुक्तको खोजी भैरहेको छ, पक्राउ परेलगत्तै अदालतमा हाजिर गराइन्छ,’ केसीले भने, ‘उनीहरुविरुद्ध ५५ करोड बिगो दाबीसमेत छ ।’ अदालतले ग्रामीण कृषि सहकारी संस्थाका पदाधिकारीबाट ९ करोड, माता पाथीभराका पदाधिकारीबाट १७ करोड र तपाईं हाम्रो सहकारीका पदाधिकारीबाट २९ करोड रुपैयाँ माग दाबी गरिएको हो । सरकारवादी फौजदारी मुद्दा भएकोले खोजी गरेर अदालतमा बुझाउने प्रहरीको कर्तव्य समेत हुने उनले बताए ।

प्रबन्धक, सफ्टवेयर डेभलपर समेतको मिलेमतोमा संचालकहरुले बचत रकममात्र नभई जगेडा कोषहरु पनि हिनामिना गरेको खुलेको सहकारी विज्ञ निर्मल गौतमले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनको आधारमा सहकारी वकिलको कार्यालयले अदालतमा जाहेरी दिएको थियो । फर्जी खर्च लेखाङकन गरी कसुरजन्य कामको रेकर्ड मेटाउने काममा पनि प्राविधिक प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । ती क्रियाकलापले सहकारी ठगीअर्न्तगत संगठित अपराधसमेत भएको देखिएको हो । ‘सामान्य अपराध भए धरौटीमा रिहाइ गर्न सकिन्थ्यो,’ ढुंगानाले भने, ‘जटिल प्रकृतिको भएकोले पुर्पक्षमा राखेरै थप अनुसन्धान हुनेछ ।’

बचतकर्ताको रकम हिनामिनापछि भागेकालाई राज्यले जुनसुकै माध्यमबाट झिकाउनु पर्ने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले बताएका छन् । राज्यले सुपुर्दगी सन्धिमार्फत पनि भागेकालाई ल्याएर कारबाहीमा लगाउनुपर्ने उनले बताए । दाहालका अनुसार स्थनीय तह र सहकारी शाखाले नियमित अनुगमन गरेमा बचतकर्ता मर्कामा नपर्ने सुझाव दिए ।

प्रकाशित : फाल्गुन १७, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×