कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनामा बेपत्ता मजदुरको १३ घण्टापछि शव फेला

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोशी गाउँपालिका-४ हिन्दीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी-१ जलविद्युत् आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेर बेपत्ता भएका दुई मजदुरको १३ घण्टापछि शव फेला परेको छ ।

निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनामा बेपत्ता मजदुरको १३ घण्टापछि शव फेला

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार शुक्रबार १ बजेर २५ मिनेट जाँदा घटना भएलगत्तै उद्धारकार्य थालिए पनि बिहान चार बजे मात्रै मृत अवस्थामा उनीहरुलाई भेट्टाइएको हो । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिका रामजिन थारु र सुमन थारु छन् । उनीहरुको शव पोस्टमार्टमका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जोशीले जानकारी दिए । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू फसेकाले निकाल्न अप्ठ्यारो भएको थियो ।

जिल्ला प्रहरी सिन्धुपाल्चोकको तथ्यांकअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् । वर्ष दिनअघिबाट निर्माण सुरु गरिएको भोटेकोशी-१ जलविद्युत्को सुरुङभन्दा माथि शुक्रबार मजदुर काम धमाधम गर्दै थिए । एक्कासी स्ल्याब भत्किन थालेपछि तल बसेर काम गरिरहेका कामदार च्यापिएर चिच्याउन थालेका थिए । भागदौडमा १३ जना स्ल्याब र माथिल्लो भागको बीचमा फसेका थिए । जिल्ला प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले १३ जना फसेकामध्ये ११ जनाको उद्धार गरिएको बताए । उनले अधिकाशंको टाउको ,पेट र हातपाउमा चोट लागेको बताए ।

सुरुमा ७ जना घाइते मात्रै भनिएकोमा पछि यर्थाथ विवरण संकलनपछि ११ जना पुगेको उनले पुष्टि गरे ।

'घाइतेमध्ये एकको अवस्था गम्भीर छ, केहीको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल रेफर गरिएको छ,' डीएसपी भट्टराईले भने । उनका अनुसार घाइते हुनेमा दोलखाका बढी छन् । दोलखाका रामचन्द्र रिमाल, साइला थामी, गोपाल थामी, पदम थामी, विजय थामी, विशाल थामी, बर्दियाका दुर्गा थारु, रोल्पाका साशन थापा, इलामका शाकबहादुर श्रेष्ठ छन् । बर्दियाका लाहनु थारुको अवस्था गम्भीर भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

भोटेकोशी १ आयोजनाले चीनसँग सीमा जोडिएको भोटेकोशी गापा १, ३, ४ र ५ वडाको करिब ४ दशमलव २५ हेक्टर जमिन प्रयोग गर्ने अनुमति पाएको थियो । आयोजना इलेक्ट्रिको पावर कम्पनी लिमिटेडले करिब ८ अर्बको लागतमा निर्माण गर्न लागेको हो ।

प्रकाशित : असार २२, २०८१ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×