कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

८५ वर्षीया वृद्धाको दुवै आँखाको ज्योति फर्केपछि......

आँखा देख्न छोडेपछि भित्रबाहिर पनि हिँड्न सक्नु भएको थिएन,' १५वर्षीय नाति सुभवदेवले भने,‘मोतिविन्दुको शल्यक्रिया गरेपछि अहिले हजुर आमाले दुवै आँखा देख्नु भएको छ ।
प्रताप विष्ट

हेटौडा — दुवै आँखा बन्द भएपछि विगत दुई वर्षदेखि नातिनातिनाको सहयोगमा भित्रबिहिर गर्दै आएकी एक वृद्धाको  शल्यक्रियापश्चात आँखाको ज्योति फर्केपछि उनको खुसीको सीमा नै रहेन ।वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सुनिल थकालीले उनको दुवै आँखाको पट्टी खोलेपछि तपाईं भगवान हुनुहुँदो रहेछ भन्दै ८५ वर्षीया सुरतदेवीले नमस्ते गरिन् ।

८५ वर्षीया वृद्धाको दुवै आँखाको ज्योति फर्केपछि......

मकवानपुरको छिमेकी जिल्ला बारा कलैया पिपराकी सुरतदेवीको दुवै आँखा दुई वर्षदेखि बन्द थियो । आफ्नो घर भित्र बाहिर गर्न पनि साहारा चाहिन्थ्यो । उनको साहारा र भरोसाको रुपमा नातिनातिना थिए । उमेर ढल्केसँगै उनको आँखामा मोतियाविन्दुले ढपक्कै ढाकेको थियो । आँखा देख्न छोडेपछि सहाराबिना भित्रबाहिर पनि हिँड्न सक्नु भएको थिएन,' १५वर्षीय नाति सुभवदेवले भने,‘मोतिविन्दुको शल्यक्रिया गरेपछि अहिले हजुर आमाले दुवै आँखा देख्नु भएको छ । अस्पतालकै परिसरमा उनले आँखा देख्ने बितिक्कै डाक्टरलाई नमस्ते गर्दै भने,'अहिले सबै देखियो,आँखा नदेख्दा संसारै अन्धकार थियो,अहिले झलमल भयो ।’

दुवै आँखा मोतियाविन्दुले ढाकेकाहरुको पालैपालो शल्यक्रिया गर्ने गरिन्थ्यो तर उनको एकै चोटी गरिएको थियो । उनकोमात्र होइन मकवानपुरको मनहरी पाउँपालिका—६ डिल्लीपुरका ६२ वर्षीया दिलबहादुर चेपाङको पनि खुसीको सीमा थिएन । दाहिने आँखामा फूलो परेर १५ वर्षदेखि नै देख्न छोडेका थिए ।देब्रे आँखाको भरमा जीवन गुजार्दै आएका थिए ।

देब्रे आँखा पनि मोतियाविन्दु ढाकेकाले एक वर्षदेखि अन्धकारमय जीवन बिताईरहेका थिए । बुधबार देव्रे आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेपछि उनले फेरि उज्यालो देखेपछि खुसी व्यक्त गर्दै भने,‘फेरि एउटा आँखाले भएपनि देखियो ,अब सजिलै हुन्छ होला ।’

फुलो परेको आँखाको अप्रेशन नहुने चिकित्सकहरुले बताए । रोटरी क्लब काठमाडौं मिट टाउन,हेटौंडा सामुदायिक आँखा अस्पताल, रोटरी क्लब मकवानपुरले रौतहटको वृन्दावन, बाराको करैया,मधुवनी,महागढी र मकवानपुरको पदमपोखरी र मनहरी गाउँपालिकाका सुनाचुरी नि:शुल्क आँखा शिविर संचालन गरेको थियो । शिविरमा १हजार १ सय ५८ जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये २ सय २७ जना मोतियाविन्दुका रोगी फेला परेका थिए ।

शिविरमा आँखाको शल्यक्रिया गर्नुपर्ने पहिचान भएकाहरुलाई अस्पताल र रोटरी क्लबले शल्यक्रिया गर्नका लागि हेटौडामा ल्याउनेगर्छ । नि:शुल्क शल्यक्रिया गर्ने गर्छ । विरामी एक जना सहयोगीलाई अस्पताल परिसरमा नै खान बस्नका लागि सुविधा दिने गरेको छ ।

शल्यक्रियापश्चात अस्पताल नै घरमा पुर्‍याई दिने गर्छ । रोटरी क्लब काठमाडौं मिट टाउन , रोटरी क्लब मकवानपुर र हेटौडा सामुदायिक आँखा अस्पतालले मकवानपुर, बारा र रौतहट जिल्लाका विभिन्न ग्रामीण बस्तीमा नि:शुल्क रुपमा आँखा शिविर सञ्चालन गरी मोतियाविन्दुका रोगीहरुको पहिचान गरेर शल्यक्रियाका लागि बुधबार हेटौंडा ल्याएको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधिरभद्र श्रेष्ठले बताए । 'त्यस्ता मोतियाविन्दुका रोगीहरुको बुधबार नै १ सय २२ जनाको शल्यक्रिया भइसकेको छ,बाँकीको बिहीबार हुन्छ', उनले भने ।

सामुदायिक आँखा अस्पताल हेटौंडामा छिमेकी मुलुक भारतका पनि मोतियाविन्दुका रोगीहरु उपचारका लागि आउँछन् ।

हेटौंडा उपमहानगरपालिका–१० स्थित टीसीएनमा रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले दैनिक ५ सय जना आँखाका विरामीलाई सेवा दिइरहेको छ । १५ वर्षअघि नेपाल आँखा कार्यक्रमअन्तर्गत् तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको शाखाको रुपमा हेटौंडामा उक्त आँखा अस्पतालको स्थापना गरिएको थियो ।

सन् २००८ मा स्थापना गरिएको उक्त अस्पतालले बार्षिक करिब ५० हजार जना भन्दावढीको आँखा परीक्षण गर्ने गरेको छ । १५ वर्षको बीचमा अस्पतालले ११ लाख २५ हजार जनाको आँखा परीक्षण गरेको छ भने यो अवधिमा ७५ हजार १ सय ८ जनाको आँखाको शल्यक्रिया गरेको छ । सबै भन्दाबढी ४५ हजार १ सय ३० जना मोतियाविन्दुका रोगीहरुको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । वर्षेनी करिब ५ हजार जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया गर्ने गरेको छ । उक्त आँखा अस्पतालमा आँखाको उपचारका निम्ति स्वदेशीमात्र होइन भारतीय नागरिकहरु पनि आउने गर्छन् ।

‘अस्पतालले आँखाको विरामीको मन जितेको छ, अब हाम्रो चुनौती भनेको हालसम्मको उपलब्धीलाई जोगाउन र नयाँ उपकरण थप्दै सम्पूर्ण आँखा रोगीको उपचार हेटौंडामा हुने व्यवस्था मिलाउनु नै हो, हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर भद्रले भने,‘अस्पतालका डाक्टर, नेत्र सहायक, कर्मचारीको अथक मेहेनतका कारण आँखाको उपचारका लागि हेटौंडा नयाँ गन्तव्यको रुपमा अगाडि बढिरहेको छ ।’

हेटौंडामा आँखा परीक्षणका लागि मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र भारतका बासिन्दासमेत आउने गरेको उनले बताए । आँखाका बिरामीहरु खोज्दै अस्पतालले मकवानपुरबाहेक अन्य जिल्लामासमेत आँखाको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दै आएको छ ।

अस्पतालले वर्षमा करिब ४० वटाभन्दा बढी आँखाको निःशुल्क परीक्षण शिविर संचालन गर्ने गरेको छ ।अस्पतालमा तीन जना नेत्ररोग विशेषज्ञ डाक्टरसहित ४० जना स्वास्थ्यकर्मी र कर्मचारीहरु कार्यरत् छन् ।

दर्ता शुल्कबाहेक अन्य रकम अस्पतालले लिँदैन । अस्पतालमा नेत्र रोग विशेषज्ञलगायत चिकित्सकहरु कार्यरत रहेकाले पछिल्लो समय आँखा रोगीहरुका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।

जिल्लाको १० वटा पालिकामध्ये ७ वटा पालिकामा सामुदायिक आँखा अस्पतालले आफनो केन्द्र स्थापना गरेर नि:शुल्क आँखा शिविर सञ्चालनको साथै शल्यक्रिया पनि गर्दै आएको छ । अस्पतालमा मोतियाविन्दुका रोगी र आँखा चिलाउने एवं विझाउने रोगका विरामीहरु बढी आउने गरेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०८० ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×