कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कुपोषण विरूद्ध 'इनफ' अभियान

अजित तिवारी

जनकपुर — अन्नभण्डार रहेको मधेश प्रदेशमै कुपोषित बालबालिकाको तथ्यांक डरलाग्दो रहेको भन्दै त्यसविरुद्ध 'इनफ' अभियान सुरु भएको छ । तीन वर्षलाई लक्षित गरेर थालिएको कुपोषणविरुद्धको 'इनफ' अभियानले बालबालिकालाई पोषिलो खानेकुरामा पहुँच पुर्‍याउने दाबी गरिएको छ ।

कुपोषण विरूद्ध 'इनफ' अभियान

वर्ल्ड भिजन नेपालले शुक्रबार जनकपुरमा आयोजना गरेको कुपोषणमुक्त मधेश प्रदेशको लागि 'इनफ' अभियानको मुख्यमन्त्री सतिशकुमार सिंहले शुभारम्भ गरे । मुख्यमन्त्री सिंहले एक नवजात शिशुलाई पोषिलो खानेकुरा चम्चाले खुवाउँदै अभियानको शुभारम्भ गरेका थिए ।

उनले मधेश प्रदेशमा अन्नको पर्याप्त र विविधता रहेपनि बालबालिकाको कुपोषण देखिनु चिन्ताजनक रहेको बताए । ‘बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन हामी कहाँ चुक्यौँ ? यो चिन्ताको विषय हो,’ मुख्यमन्त्री सिंहले भने,‘कुन बेला के खाने, कति खाने र कसरी खाने यो बुझ्नु पनि जरुरी छ ।’ सिंहले मधेश प्रदेशलाई कुपोषणमुक्त बनाउन प्रदेश सरकारले हरेक किसिमको सहयोग गर्न तयार रहेको पनि बताए ।

मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले सानै उमेरमा विवाह हुँदा मधेशमा बालबालिका मात्र होइन, विवाहित महिलामा पनि पोषणयुक्त खानेकुरा नपुगेको देखिएको बताइन् । ‘मधेशमा जन्मिने धेरैजसो बालबालिकाको तौल जन्मिँदै कम हुन्छ । शारीरिक अवस्था कमजोर देखिन्छ,’ मन्त्री तिवारीले भनिन्, ‘त्यो भन्दा डरलाग्दो के छ भने आमाको स्वास्थ्य अवस्था पनि कमजोर नै देखिन्छ । खानेकुरा मधेशमा पर्याप्त रहे पनि हाम्रो फूड ह्याविट सच्चाउने बेला भएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन सिंह कोइरीले मधेशको स्वास्थ्य र शिक्षाको सूचकांक निकै कमजोर रहेकाले त्यसलाई प्रभावकारी बृद्धि गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले कुपोषित बालबालिकाका लागि पोषणयुक्त खानेकुराका लागि प्रदेश सरकारले अभियान नै सञ्चालन गर्ने जानकारी दिए । युवा तथा समाज कल्याणमन्त्री प्रमोद जसलवालले मानव सूचकांकका हरेक इन्डिकेटरमा कमजोर मापन गरिएको मधेश प्रदेशमा बालबालिकाको हरेक समस्या सुल्याउन अभियान नै थाल्नुपर्ने बताए ।

यसैबीच, जनकपुरको प्रादेशिक अस्पतालमा रहेको पोषण पुनर्स्थापना केन्द्रमा बालबालिकाहरुका लागि दुई कोठे भवनको निर्माण गरिएको छ । वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा एकीकृत ग्रामीण विकास समाज महोत्तरीले निर्माण गरेको दुई कोठे भवनको मधेसका मुख्यमन्त्री सिंह तथा स्वास्थ्य मन्त्री कोइरीले उद्घाटन गरे ।

वर्ल्ड भिजनका कन्ट्री हेड अनुप राणाले मधेसको पोषणको क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै कुपोषित बालबालिकाको उपचारमा कुनै किसिमको बाधा नहोस् भोर भवन निर्माण गरिएको बताए । भवनको निर्माण १९ लाख ५९ हजार ९ सय ५९ रुपैयाँमा सम्पन्न गरिएको छ ।

प्रकाशित : श्रावण ११, २०८१ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×