कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जसपा नेपालको महाधिवेशन आजदेखि

अजित तिवारी

जनकपुर — उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपालको प्रथम महाधिवेशन जनकपुरमा सोमबार दिउँसो १ बजेदेखि सुरु हुँदैछ । जनकपुरको ऐतिहासिक तिरहुतिया गाँछीमा निर्माण गरिएको भव्य पन्डालमा जसपाको महाधिवेशनको उद्घाटन गर्ने तयारी पूरा भएको छ ।

जसपा नेपालको महाधिवेशन आजदेखि

महाधिवेशनको उद्घाटन सत्रमा नेपालका सबै राजनीतिक दलका प्रमुख नेतालाई आमन्त्रण गरिएको जसपा नेपालले जनाएको छ । नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका उपसभापित पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र नेकपाका महासचिव नेत्रविक्रम चन्द्र भने उद्घाटन समारोहमा उपस्थित हुने जसपा नेपालका नेता जितेन्द्र यादवले जानकारी दिए । उनका अनुसार जसपा नेपालको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सभ्य र भव्य बनाउने प्रयास गरिएको छ ।

महाधिवेशनले जसपा नेपालको नेतृत्वसमेत चयन हुने भएको छ । पार्टी अध्यक्षमा उपेन्द्र यादवको विकल्पमा अहिले कसैले इच्छा नजनाएको नेता यादवले बताए । उनका अनुसार अरु पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ । जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन भने बुधबारका लागि तोकिएको छ । जसपा नेपालको महाधिवेशनबाट अध्यक्षसहित २० जना पदाधिकारीको निर्वाचन हुनेछ ।

महाधिवेशनले एकजना अध्यक्ष, एकजना सह–अध्यक्ष, पाँचजना उपाध्यक्ष, दुईजना महासचिव, तीनजना उप–महासचिव, सातजना सचिव र एकजना कोषाध्यक्ष र २ सय १ जना केन्द्रीय सदस्य तथा कार्यकारिणी सदस्य निर्वाचित गर्ने छ । सात सचिवमध्ये प्रादेशिक क्लस्टरका आधारमा व्यवस्था गरिएकोले सातै प्रदेशबाट एक/एक जना गरी सातजना रहनेछ ।

करिव दुई हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जसपा नेपालले जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०८१ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×