कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मधेश सरकारमा पहिलोपटक दलित समुदायबाट मन्त्री

सन्तोष सिंह

धनुषा — प्रदेश संरचनामा गएपछि मधेशमा पछिल्लो सात वर्षमा दुईवटा सरकार बने । जसपा नेपाल नेतृत्वका दुवै सरकारको मन्त्रिपरिषद् पटक पटक फेरबदल भए तर दलित समुदायबाट कसैले मन्त्री हुने अवसर पाएनन् । शुक्रबार बनेको सतिश सिंह नेतृत्वको नयाँ मन्त्रिपरिषद्‌मा भने सुरमै दलित समुदायका सांसदले पनि मन्त्री बन्ने अवसर पाएकी छन् ।

मधेश सरकारमा पहिलोपटक दलित समुदायबाट मन्त्री

मधेश प्रदेश सरकारमा पहिलो पटक दलित समुदायबाट जनमत पार्टीकी सप्तरीकी समानुपातिक प्रदेशसभा सदस्य रञ्जुकुमारी खंगलाई राज्यमन्त्री बनेकी छन् ।

जसपा नेतृत्वकै सरकारमा सहभागी रहेको जनमत पार्टीले दलित समुदायबाट खंगलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । तर, जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले खंगलाई शपथग्रहण नगराएको जनमत पार्टीका सचिव बीपी साहले बताए । पहिलो प्रदेश सभामा ७ जना दलित समुदायका थिए । कसैले पनि मन्त्री हुने अवसर पाएनन् । जसपाकी सांसद चमेलीदेवी दासको नाम चर्चामा आएपनि मन्त्री बन्न सकिनन् । यसपटक अहिले प्रदेश सभामा ८ जना दलित सांसद छन् । जनमत पार्टीले राज्यमन्त्रीमा दलितलाई स्थान दिएर राम्रो गरेको जसपाकी पूर्व प्रदेश सांसद दासले बताइन् ।

'मधेश प्रदेशमा झण्डै १८ प्रतिशत जनसंख्या भए पनि दलित समुदायका मन्त्री भएका थिएनन् ,' सचिव साहले भने, ‘हाम्रो पार्टीले ऐतिहासिक निर्णय गरेको छ । दलितलाई सरकारमा सहभागी गराएर मधेश आन्दोलनको प्रमुख माग समावेशितालाई आत्मसाथ गरेका छौं ।’

राज्मन्त्री खंगले कान्तिपुरसँग कुराकानी गर्दै आफ्नो समुदायबाट आफू पहिलोपटक मन्त्री बन्दा ठूलो जिम्मेवारी काँधमा आएको बताइन् ।

‘मेरो पार्टी जनमत पार्टीले सबै मधेशीहरुको पक्षमा काम गर्छ । कुनै एक जातको पक्षमा होइन सबैको सहभागिता र समावेशितालाई सम्मान गरेको छ,’ राज्यमन्त्री खंगले भनिन्,‘मैले आफ्नो क्षमताअनुसार काम गर्नेछु । अब लाग्छ, दलितहरुले पनि शासन गर्न सक्छ । हामीलाई अब कसैले दबाउन सक्दैन ।’

मधेश आन्दोलनको जगमा मधेश प्रदेश स्थापना भएको राजनीति दलहरुले दलितलाई बहिस्कार गरेको आक्रोश पोख्दै राज्यन्त्री खंगले भनिन्, 'मेरो शपथग्रहण गराउन मैले बारम्बार यस अघिको जसपाका मुख्यमन्त्री सरोज यादवलाई आग्रह गरेको तर उहाँले गराउनु भएन ।'

प्रकाशित : जेष्ठ २५, २०८१ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×