कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वीरगञ्जमा मापदण्ड विपरीत अस्पताल सञ्चालन

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका भित्र सञ्चालनमा रहेका दुई वटा निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । महानगरपालिकाको स्वास्थ्य समितिका अनुसार वीरगन्जको प्रभु हस्पिटल र निलकण्ठ अस्पताल मापदण्ड विपरीत सञ्चालन भइरहेको छ ।

वीरगञ्जमा मापदण्ड विपरीत अस्पताल सञ्चालन

वीरगन्ज महानगरपालिका–८ स्थित प्रभु हस्पिटलले मधेश प्रदेश सरकारबाट २५ शैय्या सञ्चालनको इजाजत लिएको भएपनि ६३ शय्या राखेर अस्पताल सञ्चालन गरिरहेको स्वास्थ्य समितिले मंगलबार अनुगमनको क्रममा पाएको हो । समितिका संयोजक उमाशंकर तिवारीले २५ शय्याको अनुमति पाएको प्रभु अस्पताल ६३ शय्यामा सञ्चालन भएको पाइएको बताए ।

अनुगमनकै क्रममा प्रभु अस्पतालको आइसीयू कक्ष र प्रयोगशालामा म्याद गुज्रिएका ८ प्रकारका औषधिहरु भेटिएको अनुगमन टोलीका संयोजक तिवारीले जनाए । 'केही औषधिको म्याद ४ वर्षअघि नै गुज्रिसकेको रहेछ,' उनले भने । महानगरका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादवका अनुसार प्रभु अस्तालले भुइँ तल्लामुनि बनाएको अण्डर ग्राउण्ड पार्किङमा ल्याब सञ्चालन गरेको पाइएको छ ।

'पार्किङका लागि निर्माण गरिएको ठाउँमा ल्याब सञ्चालन गरिएको छ,' उनले भने, 'यो कानुन विपरीत हो ।' वीरगन्ज महानगरपालिका– १३ पावरहाउस चोकस्थित नीलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टरले १५ शय्याको अनुमति लिएर ३३ शय्या राखेर सञ्चालन भइरहेको अनुगमन समितिले जनाएको छ ।

उक्त अस्पतालमा समेत म्याद गुज्रिएका औषधि बरामद भएको स्वास्थ्य महाशाखा प्रमुख यादवले जनाए । दुबै अस्पतालले औषधिजन्य फोहर नछुट्याई एउटैमा मिसाएर राखेको अनुगमन समितिले फेला पारेको थियो । वीरगन्जका मेयर राजेशमान सिंहले स्वास्थ्यमाथि खेलवाड गर्ने अस्पताललाई महानगरपालिकाले कारवाही गर्ने बताए ।

बरामद गरिएका म्याद गुज्रेका औषधीहरु थप अनुसन्धान तथा कारवाहीका लागि औषधि व्यवस्था विभाग पठाइएको उनले बताए । ‘निलकण्ठ अस्पताललाई महानगरले नै कारवाही गर्छ,’ उनले भने, ‘तर,२५ शय्या भन्दा माथि इजाजत लिएको प्रभु अस्पतालमाथि कारवाहीका लागि प्रदेश सरकारलाई पत्राचार गर्छौ, यसको साथै वीरगन्जवासीको स्वास्थ्यसँग गरिएको खेलवाड प्रति छुट्टै कारवाही गर्छौ ।’

प्रकाशित : जेष्ठ १६, २०८१ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×