कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भारतले दिएको एम्बुलेन्स आफूखुसी प्रयोग गरेको अरोप

शिव पुरी

रौतहट — भारत सरकारले बिरामीलाई उपचार सेवाका लागि रौतहटको एक गैरसरकारी संस्थालाई  सहयोग स्वरुप दिएको एम्बुलेन्स तीन वर्षदेखि अध्यक्ष आफैँले जनकपुरमा राखेको पाइएको छ । उक्त एम्बुलेन्स दुरुपयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालय जनकपुरमा निवेदन दिए पनि अहिलेसम्म कुनै कारवाही गरेको छैन । 

भारतले दिएको एम्बुलेन्स आफूखुसी प्रयोग गरेको अरोप

भारत सरकारले गणतन्त्र दिवसका अवसरमा जिल्लाको तत्कालीन जोकाहा गाविस–९ हाल ईशनाथ नगरपालिका–६ स्थित शान्ति युवा परिवार संस्थालाई २०७७ मा ना ५ च १४५३ नम्बरको टाटामोसु मोडेलको एम्बुलेन्स उपहार दिएको थियो ।

संस्थाका अध्यक्ष विश्वनाथप्रसाद गुप्ताले त्यही बेलादेखि जनकपुरमा लगेर राखेका छन् । गुप्ता जनकपुरस्थित सीप विकास तालिम केन्द्रका कर्मचारी हुन् । उनले रौतहटमा संचालन गर्नुपर्ने एम्बुलेन्स जनकपुर लगेर प्रयोग गरेको भन्दै गाउँमा बिरोध भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौटहटमा २०६४ असोज १६ गते शान्ति युवा परिवारका नाममा संस्था दर्ता छ । संस्थाको अध्यक्ष गुप्ता हुन् । एम्बुलेन्स संचालन निर्देशिकामा जुन स्थानको लागि एम्बुलेन्स खरिद वा सहयोगमा पाएको हो त्यही ठाउँमा चलाउनु पर्ने स्पष्ट भए पनि अध्यक्ष गुप्ताले ब्यक्तिगत लाभको लागि जनकपुरमा ल्याएर संचालन गरेको एम्बुलेन्स चालक महासंघका केन्द्रीय अध्यक्ष महाशंकर ठाकुरले बताए ।

‘जनकपुरमा बिभिन्न जिल्लाका १६ वटा एम्बुलेन्स नियम बिपरीत संचालनमा रहेको भनेर हामीले जिल्ला प्रशासनमा गत माघ १५ गते निवेदन दिएका थियौं,’ उनले भने, ‘प्रशासनले अहिलेसम्म एक्सन लिएको छैन।’ नियम विपरित बाहिरका एम्बुलेन्स संचालन गरी मनपरी रकम असुलेको गुनासोसहित महासंघले प्रशासनमा निवेदन दर्ता गराएको अध्यक्ष ठाकुरको भनाई छ ।

जनकपुरमा रहेका २६ वटा संस्थाको संयुक्त बैठकको निर्णयसहित प्रशासनमा छलफलका लागि सहभागी हुँदा स्थानीय बिरामीलाई सुरक्षित अस्पतालसम्म पुर्‍याउन जुन ठाउँको एम्बुलेन्स छ, त्यही पठाउने बारे जिल्ला प्रशासन धनुषामा सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको अध्यक्ष ठकुरले सुनाए ।

महासंघले प्रशासनमा दर्ता गराएको निवेदनमा नारायणी, कोशी, महोत्तरी, सगरमाथा, काठमाडौं, सर्लाही र रौतहटका एम्बुलेन्स जनकपुमा राखेर संचालन गरिरहेको उल्लेख छ । ती एम्बुलेन्सलाई नियन्त्रणमा लिएर सम्बन्धित जिल्लामा फिर्ता पठाउन अनुरोधसहित महासंघले प्रशासनलाई आग्रह गरेको थियो ।

शान्ति युवा परिवार संस्था रौतहटका अध्यक्ष गुप्ताले बिरामी बोकेर जनकपुरबाट वीरगञ्ज जाने क्रममा बर्दिबासमा बिग्रे पछि लामो समय त्यतिकै थन्किएको दाबी गरे । उनले मर्मत गर्न रकम नभएको भन्दै चाडै नै मर्मत गरेर रौतहट फिर्ता लैजाने रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई आश्वासन दिएका छन् । प्रजिअ रेग्मीले कुनै पनि गैरसरकारी संस्थाका नाममा आएका एम्बुलेन्स व्यक्तिगत रुपमा चलाउन नपाइने बताए ।

‘शान्ति युवा परिवार संस्थालाई भारत सरकारले दिएको एम्बुलेन्स अहिले बिग्रिएको अवस्थामा छ भनेर अध्यक्ष गुप्ताले जानकारी दिएका छन्,’ उनले भने,‘चाडै मर्मत गरेर रौतहट पठाउँछु भनेका छन् । पठाएन भने सोही अनुसारको प्रक्रिया अघि बढाउछौं ।’ रौतहटको एम्बुलेन्स आफुले जनकपुरमा राखेको अध्यक्ष गुप्ताले प्रजिअ रेग्मी समक्ष स्वीकारेका छन् ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जमा उक्त एम्बुलेन्सको २०७६ चैत २४ गते सम्म मात्र नवीकरण भएको अभिलेख छ । त्यसपछि नवीकरण भए/नभएको बिलबुक हेरेर मात्र थाहा हुने वीरगञ्ज कार्यालयका प्रमुख उमेश रेग्मीले जानकारी दिए । ‘एम्बुलेन्सको कर लाग्दैन् । शान्ति युवा परिवार संस्थाको एम्बुलेन्सले २०७६ पछि रिन्यू गरेको छ/छैन बिलबुक हेरे पछि मात्र थाहा हुन्छ,’ उनले भने ।

बाहिरका एम्बुलेन्स जनकपुरमा ल्याई संचालन गर्न थालेको भन्दै एम्बुलेन्स चालक महासंघले पटक/पटक धनुषा प्रशासनको ध्यानाकर्षण गराउँदै आएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले एम्बुलेन्स चालक महासंघले दिएको निवेदनका बारेमा आफूलाई केही थाहा नभएको बताए । उनले भने,‘यस बिषयमा मलाई केही थाहा छैन । पछि बुझेर भनौंला ।’

प्रकाशित : वैशाख ३१, २०८१ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×