कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

फोहोरले कुरुप र दुर्गन्धित बन्दै राजमार्ग 

सुनिता बराल

महोत्तरी — बर्दिवासबाट पश्चिमतर्फ लागेपछि  पूर्व-पश्चिम राजमार्गको दायाँबायाँ दुवैतर्फ जथाभावी फोहोर फ्याँकिएको छ । राजमार्ग भएर यात्रा गर्ने यात्रुमात्रै होइन, आसपासमा सञ्चालित व्यवसायबाट समेत उत्सर्जन भएको फोहोर व्यवस्थापन नहुँदा राजमार्गको छेउनै डम्पिङ साइट बनिरहेको छ । बर्दिवास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने १७ किलोमिटर जंगलक्षेत्रको राजमार्गमा फालिएको फोहोरले राजमार्ग कुरुप र दुर्गन्धित बनेको छ ।

फोहोरले कुरुप र दुर्गन्धित बन्दै राजमार्ग 

मरेका गाईवस्तु, कुखुरा, पाठादेखि घरमा थुप्रिएको फोहोर समेत मानिसहरुले सडकमै ल्याएर फाल्ने गरेका छन् । वरपरको सबै फोहोर त्यतिकै फ्याँकिदिने गर्दा राजमार्ग दुर्घन्धित बन्दै गएको बर्दिवास नगरपालिका-४ का स्थानीय कृष्ण बहादुर भुजेलले बताए ।

‘बोरामा पोको पारेर ल्याएको फोहोर मानिसहरु सडकबाटै फुत्त फालेर हिड्छन्,' उनले भने, ‘गाडी र मोटरसाइकलमा मात्रै हैन, मरेका जीवजन्तु ट्रकमै ल्याएर पनि सडकबाटै फालिदिन्छन्’। अहिले राजमार्गको दायाँबाया पलाष्टिक, पानी र पेय पदार्थका बोतलहरु छरपष्ट छन् । बोरामा बाँधिएका फोहोर, मरेका चल्ला, कुखुरा, फुटेका सिसा, मासु पसलको फोहोर, कुहिएका अखाध्य बस्तुहरु सबै सडकमै फालिएका छन् । राजमार्गकै छेउमा रात्रीबसले यात्रुलाई नियमितरुपमा खुला दिशा पिसाब गराएका कारण पनि राजमार्ग दुषित बनेको स्थानीयको आरोप छ ।

राजमार्गमा दिशापिसाव गर्ने सार्वजनिक शौचालय नहुँदा पनि सडक थप फोहोर बन्दै गएको भुजेलले बताए । पुर्व-पश्चिम यात्रा गर्ने बसले महोत्तरीको विभिन्न ठाउँमा रोकेर सधैँजसो यात्रुलाई दिशापिसाव गराउने गरेकाले सडकछेउमा फोहोर झन् थपिदै गएको उनले बताए । भुलेल बर्दिवास-४ स्थित गौशाला रोड नजिक राजमार्गको छेउमा ठेलामा खाजा पसल संचालन गरेर बसेका छन् । साँझमा पसल बन्द गरेर घर गएपछि अर्कोदिन बिहान आउँदा रात्रीबसहरुले गरेको फोहोर सफा गर्न २ घण्टा लाग्ने गरेको उनी बताउँछन् ।


वनक्षेत्रमा फोहोर गर्न नपाईने वन ऐनमै उल्लेख छ । तर वनक्षेत्रमै पर्ने राजमार्गमा भएको फोहोरले राजमार्गनै दुर्गन्धित बन्दा समेत सम्बन्धित निकायले फोहोर उठाउने चासो दिएको छैन । सडकछेउको फोहोर उठाउन डेढ वर्ष पहिलेनै बर्दिवास नगरपालिकालाई वनले चिठी काटेको भएपनि फोहोर उठाउने र सफाई अभियान चलाउने सन्दर्भमा नगरले पत्रको कुनै प्रतिक्रिया नदिएको सागरनाथ वन विकास अन्तर्गत हात्तिलेट वन व्यवस्थापन शाखाका प्रमुख विद्यासागर कर्णले बताए ।

नगरपालिकाले वन ऐन विपरीत वनसँग समन्वय, सहकार्य र सम्झौताबिनै सागरनाथ वनभित्रै डम्पिङ साइट बनाएको उनले बताए । नगरपालिकाकै सवारीले समेत राजमार्गमा फोहोर खसाल्दै हिड्ने गरेकाले नगरमा धेरैपटक फोहोर व्यवस्थापन गर्न कार्यालयले ध्यानाकर्षण गराएको कर्णले बताए । राजमार्ग देखि नगरपालिका भित्रको सबै फोहोर उठाएर व्यवस्थित डम्पिङ साइट बनाउनु पर्ने नगरको दायित्व भएपनि नगरलेनै फोहोर व्यवस्थापनमा लापरवाहि गरेकाले राजमार्गसंगै जोडिएको वन व्यवस्थापन कार्यालयमा फोहोरका झिङ्गाले खाना खान समेत अपठ्यारो भएको कर्णले बताए ।


जस्तोसुकै फोहोर भएपनि गाउँलेले राजमार्गमै फाल्ने र सवारीले पनि झ्यालबाटै फोहोर फाल्ने गरेकाले वनले कतिपय फोहोर फाल्ने सवारीलाई फोहोर नफाल्न सचेत समेत गराएको र राजमार्ग छेउमा ठेला राखेर व्यवसाय गर्ने स्थानियलाई पनि फोहोर नगर्न भनिएको कर्णले बताए ।

यता नगरपालिकाले भने राजमार्गतर्फको फोहोर अहिले नगरले उठाउन नसक्ने बताएको छ । फोहोर उठाउने ठेक्का एक निजी कम्पनीलाई दिइएकाले सम्झौतामा तोकिएको क्षेत्रहरुको मात्रै फोहोर नगरले उठाइरहेको नगरपालिकाका प्रशासन अधिकृत मुरारी प्रसाद तिमिल्सिनाले बताए । हरेक ठाउँ सफा गर्ने दायित्व भएका नागरिकलेनै फोहोर फाल्ने ठाउँ सडकलाई बनाएकाले नगरले अव पहरेदार राख्नपर्ने अवस्था भैसकेको उनले बताए ।

नगरमा सडकको फोहोरको सन्दर्भमा चर्चा चलेकाले अभियान चलाएर राजमार्ग सफा गराउँने गरि नगरले कार्यक्रम अघि बढाउने पहल गर्नै तिमिल्सिनाले बताए ।

प्रकाशित : चैत्र २, २०८० १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×