कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मन्त्री पत्नी ठेकेदार, काम अलपत्र

आठ वटा सडकमध्ये छ वटा ठेक्का मधेस सरकारका उर्जामन्त्री सिंहासनसाह कलवारकी पत्नी आशादेवी कलवारको रञ्जन निर्माण सेवाको जिम्मामा
‘एक प्रदेश निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गतका ८ वटा सडकको निर्माणमा ढिलासुस्ती
लक्ष्मी साह

बारा — भौतिक पूर्वाधार कार्यालयबाट ठेक्का भएका विभिन्न आठ वटा सडक कालोपत्रको काम अलपत्र परेको छ । एक प्रदेश निर्वाचन क्षेत्र, एक सडक कार्यक्रमअन्तर्गत प्रदेश सरकारको करिब ५५ करोड आर्थिक सहयोगमा निर्माणधीन ती सडकको काम अलपत्र परेको हो ।

मन्त्री पत्नी ठेकेदार, काम अलपत्र

कालोपत्रे गर्ने कार्यको सम्झौता अवधि सकिए पनि सडक बन्न नसक्दा धुलो र गिट्टी, उबडखाबडमाथि सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्नु परेको छ । सडक छेउमा निर्माण गरिने नाला ढलान गरी त्यसको माथिबाट ‘स्ल्याब’ हालिएको छैन ।

‘जसले बालबालिका, बृद्धबृद्धा, आँखाबाट कमजोर देख्न सक्नेलाई समस्या भएको छ,’ सिम्रौनगढ नगरपालिका–८ का पन्नालाल यादवले भने, ‘कतैकतै ‘कल्भर्ट’ निर्माण गर्ने ठाउँमा पुराना ‘कल्भर्ट’ भत्काएर त्यतिकै लथालिङ छाडिएको छ । काम समपन्न नहुँदा वर्षातमा हिड्न निकै कठिनाइ झेल्नुपर्यो ।’

निर्माण व्यवसायीसित पर्याप्त जनशक्ति र साधनस्रोत नभएपछि काममा ढिलासुस्ती भइरहेको योजनाको ‘साइड’ मा खटिएका पूर्वाधार कार्यालयका एक प्राविधिकले बताए । उनले भने, ‘एउटै निर्माण कम्पनीले ६/६ वटा ठेक्का लिएपछि सबै ‘साइड’ मा एकैपटक कसरी काम गर्न सक्छ ? उससित साधन थोरै छ ।’ एक/दुइटा साधनले सबैतिर काम गर्नुपर्ने बाध्यताले काम चाँडो हुन नसकेको उनले बताए । ‘एकातिर काम गर्दा अर्कोतिर छुट्छ, त्यसैले यो अवस्था छ,’ ती प्राविधिकले भने ।

२०७९ असारमा २०८० पुस १५ भित्र काम सक्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक गर्न पहिलो चरणको सम्झौता भएको थियो । यो अवधिमा काम नसकिएपछि दोस्रोपटक म्याद थप्ने प्रक्रिया सुरु भएको पूर्वाधार कार्यालयका सूचना अधिकारी ईन्जिनियर राजेश चौधरीले बताए ।

‘काम सम्पन्न नभएपछि फेरि म्याद थप्ने प्रक्रिया सुरु गरिएको छ,’ उनले भने, ‘डेढ वर्षमा सबै सडकको कार्य प्रगति औसतमा ६२ देखि ७५ प्रतिशत भएको छ ।’ उनकाअनुसार ‘सबबेस’, ‘स्ट्रक्चर’ र कतैकतै बेसको काम सकिएर रोलिङको काम भइरहेको छ ।

बारा १ (२) मा सिम्रौनगढ नगरपालिकाअन्तर्गतको दशगजाको झरोखरदेखि पूर्व–पश्चिम हुलाकी मार्ग जोड्ने, निर्वाचन क्षेत्र १ कै (१) मा कोल्हवी नगरपालिकाअन्तर्गत प्रगतिनगर–रमपूर्वा हुँदै अमावपथरा सडक, क्षेत्र नम्बर २ को (२) पचरौता नगरपालिकाको दसगजा छेउबाट पिपरपातीदेखि बलधुसवा हुँदै पूर्व–पश्चिम हुलाकी मार्ग लङ्गडा चोकसम्मको सडक, क्षेत्र नम्बर ४ को (१) मा जितपुसिमरा उपहानगरपालिकाअन्तर्गत नगौलदेखि मुसहरनीमाई सडक अलपत्र परेका हुन् ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ को (२) भलुहीचोकदेखि गण्डक नहर हुँदै बरैनियासम्म, क्षेत्र नम्बर ३ को (२) खपरतातादेखि कुकुरभुका हुँदै जोतपुर गम्हरीयासम्म, क्षेत्र नम्बर ४ को (१) जीतपुरसिमरा १८ ओमशंकर चोकदेखि मनहर्वा माविसम्म, क्षेत्र नम्बर २ को (१) करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिकासित जोडिएको नरही चोकदेखि पूर्व–पश्चिम हुलाकी मार्गको अर्नवा चोकसम्म जोड्ने सडक अलपत्र परेको छ ।

जितपुर–नगौल, नरही चोक–अनर्वा चोकसम्मका सडक योजनाबाहेक अरु ६ वटा सडकको ठेक्का मधेस प्रदेश सरकारका उर्जामन्त्री तथा जसपाका प्रदेश कार्यसमिति सदस्य वीरगन्जका सिंहासन साह कलवारकी पत्नी आशादेवी कलवारकी नाममा रहेको रञ्जन निर्माण सेवा, वीरगन्ज १३ ले पाएको थियो ।

उनी प्रदेश सांसद भएपछि पत्नीको नाममा कम्पनी सारेका थिए । ‘आफ्ना ६ वटा सडकको कार्य वैशाखभित्रमा सम्पन्न हुन्छ । अधिकांश काम भइसकेको छ,’ मन्त्री सिंहासनले भने, ‘कम्पनी पत्नीको नाममा भए पनि निर्माणको जिम्मा भाईलाई सुम्पेको छु ।’ प्रत्येक सडकको ठेक्का रकम साढे ६ करोडदेखि साढे ८ करोडसम्मको छ ।

जिल्ल्लाका लागि यो आठवटै सडक कालोपत्रे भइसकेपछि प्रत्येक पालिकाको ‘कनेक्सन’ जोडिन्छ । तर प्रदेश सरकारको बजेट अभावसँगै निर्माण व्यवसायीको ढिलासुस्तीले निर्माणले गति लिन नसकेको करैयामाई ८ इटहरका रामविलाश साह सोनारले बताए । ‘सडक लथालिङ गरेर छाडिएको छ, नरही–अर्नवा चोक सडकमा दुर्घटनाको साह्रै डर छ,’ उनले भने, ‘डोजरले पुरानो कल्भर्ट उखेलेर यत्रतत्र छाडिएको छ । गिट्टी त्यतिकै छाडेपछि बाइक चिप्लिने सधैं डर हुन्छ ।’

प्रकाशित : फाल्गुन ७, २०८० २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×