कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दोहोरो नागरिकता लिएकामाथिको अनुसन्धान पत्र आदान–प्रदानमै सीमित

अवधेशकुमार झा

राजविराज — पहिला नेपाल र त्यसपछि भारतीय नागरिकता लिएका यहाँका ५ जनामाथि सप्तरी जिल्ला प्रशासनले कारबाही गर्न आनाकानी गरेको छ । यस विषयको अनुसन्धान गृह मन्त्रालय र सप्तरी जिल्ला प्रशासनबीच पत्र आदान–प्रदानमै सीमित रहेको छ । 

दोहोरो नागरिकता लिएकामाथिको अनुसन्धान पत्र आदान–प्रदानमै सीमित

राजविराज नगरपालिकाको साबिक वडा नम्बर ९ बाट रिफारिस बनाएर राजेन्द्रकुमार रुंगटा, उनकी श्रीमती मन्जुदेवी, छोराहरू राहुलकुमार र अंकितकुमार तथा छोरी पूजाले नेपाली नागरिकता लिएका थिए । यस विषयमा बुझ्न भन्दै भारतीय दूतावासले नेपालस्थित काउन्सुलर विभागमा पत्राचार गरेको छ ।

दूतावासको पत्रअनुसार विभागले गृह मन्त्रालय र मन्त्रालयले जिल्ला प्रसासन कार्यालय सप्तरीमा आवश्यक अनुसन्धानका लागि पत्राचार गरिसकेका छन् । तत्काल प्रमाण नपुगेको भन्दै जिल्ला प्रसासनले मन्त्रालयलाई जवाफ फर्काएको छ ।

अनुसन्धानलाई निष्प्रभावी बनाई आरोपीलाई स्थानीय प्रशासनकै संरक्षण रहेको पाइएको छ । जिल्ला प्रशासनमा मौजुद फाइलमा पाँचै जनाको नेपाली र भारतीय नागरिकता रहेको भए पनि कारबाहीको प्रक्रिया अघि नबढाउनुले प्रशासनको संरक्षण प्रस्टिएको हो । यो प्रकरणमा कारबाहीको प्रक्रिया अघि नबढेपछि आरोपीमध्येका एक राजेन्द्रकुमार रुंगटाका नाममा रहेको जग्गा गैरकानुनी रूपमा विरह (किसिम) परिवर्तन गरी धमाधम बिक्री भइरहेको छ ।

सप्तरीको राजविराज–९ घर भएका राजेन्द्रकुमार रुंगटाले २०२८ साउन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट वंशजका आधारमा नेपाली नागरिकता लिएको देखिन्छ । उनले २०७० वैशाख २२ गते प्रतिलिपि निकालेका छन् । उनको नागरिकता प्रमाणपत्र नम्बर २७१ हो । उनै राजेन्द्र नयाँदिल्लीस्थित थ्री ए रंग रसायन रोहिनी सेक्टर–१३ बाट भारतीय मतदाता पनि छन् । राजेन्द्रकुमार रुंगटाकै नाममा रहेको राजविराज साबिक वडा नम्बर ९ हाल वडा नम्बर २ को जग्गा गैरकानुनी रूपमा किसिम परिवर्तन गरी प्लटिङ गरेको र अहिले धमाधम बिक्री भइरहेको छ ।

राजेन्द्रकी श्रीमती मन्जुदेवीले २०४६ जेठ १६ को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीबाट वैवाहिक सम्बन्धको नाताले अंगीकृत नागरिकता लिएकी छन् । उनै मन्जुदेवीले सन् २००८ मा भारतको नयाँदिल्लीस्थित थ्री ए रंग रसायन रोहिनी सेक्टर–१३ बाट पहिचानपत्र बनाउँदै त्यहाँको मतदाता बनेकी छन् । उनको भारतीय पहिचान पत्र नम्बर एएफक्यू १२१०१७८ रहेको छ ।

राजेन्द्रका छोरा राहुलकुमार रुंगटाले २०५८ असोज १० गते जिल्ला प्रशासन कार्याल्य सप्तरीबाट वंशजका आधारमा लिएको नागरिकता नम्बर १९३८ रहेको छ । राहुलले पनि दिल्लीको रोहनी सेक्टरबाट पहिचान पत्र र आधार कार्ड बनाएका छन् । उनको आधार क्रमांक ५३६४९४०६७२१८ रहेको छ ।

राजेन्द्रका अर्का छोरा अंकितकुमार रुंगटाले २०६० कात्तिक २० गते जिल्ला प्रशासनबाट २११६ नम्बरको नेपाली नागरिकता वंशजका आधारमा लिएका छन् । उनले पनि एक पटक प्रतिलिपि निकालेको देखिन्छ । उनै अंकितले सन् २००८ मा नयाँदिल्लीको रोहिनी सेक्टरबाट एएफक्यु १२१०१९४ नम्बरको पहिचान पत्रसमेत बनाएका छन् ।

राजेन्द्रकी छोरी पूजाकुमारी रुंगटाले १६१००१/५२८२ नम्बरको नेपाली नागरिकता वंशजका आधारमा लिएकी छन् । उनले पनि सन् २०११ मा नयाँदिल्लीको रोहिणी सेक्टरबाट एएफक्यू १५६५५७१ नम्बरको भारतीय पहिचान पत्र बनाई त्यहाँको मतदाता रहेकी छन् ।

पाँचै जनाले पहिला नेपाली नागरिकता प्राप्त गरेको र त्यसपछि भारतीय पहिचान पत्र प्राप्त गरी मतदाता भएको देखिन्छ । उनीहरूमध्ये कसैले पनि नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासनमा जानकारी दिएका छैनन् ।

रुंगटा परिवारको पाँचै जनाको दोहोरो नागरिकता रहेको भन्दै भारतीय दूतावासले छानबिन गर्न नेपाल सरकारलाई आग्रह गरेको थियो । तर, छानबिन पत्र आदानप्रदानमै छानबिन सीमित भएको छ । नेपालस्थित भारतीय दूतावासले कन्सुलर सेवा विभागलाई २०७६ सालमै पत्राचार गर्दै सप्तरीको राजविराजमा बसोवास गरिरहेका राजेन्द्रकुमार रुगंटा, उनकी श्रीमती मन्जु, छोराहरू राहुलकुमार र अंकितकुमार तथा छोरी पूजाको दोहोरो नागरिकता रहेको भन्दै अनुसन्धान गरी कारबाहीका लागि आग्रह गरेको थियो ।

कन्सुलर सेवा विभागको चलानी नम्बर एडीएम ७६०३०३७ को मिति २०७६ असार ३ गते गृह मन्त्रालयलाई पत्र पठाउँदै पाँचै जनाको दोहोरो नागरिकताका विषयमा अनुसन्धान गरी कारबाहीका लागि आग्रह गरेको थियो ।

गृह मन्त्रालयले कन्सुलर सेवा विभाग र भारतीय दूतावासको पत्रसमेत साथमा राखी जिल्ला प्रशासन कार्यालय सप्तरीलाई २०७६ असार ६ गते पत्राचार गर्दै दोहोरो नागरिकतासम्बन्धी यो प्रकरणमा आवश्यक अनुसन्धानसहित कारबाहीका लागि निर्देशन दिएको थियो । भारतीय दूतावासले पाँचै जनाको नेपाली र भारतीय दोहोरो नागरिकता भएको प्रमाणसमेत पत्रसाथ संलग्न गरेको थियो ।

सो निर्देशनका आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरीले पाँचै जनालाई बोलाएर बयान लिने कार्य गरेको थियो । जिल्ला प्रशासन कार्यालय सप्तरीले ३ वर्षभन्दा बढी समय अनुसन्धानका नाममा लगाएर २०७९ असार १६ गते गृह मन्त्रालयलाई पत्र पठाउँदै उनीहरूको भारतीय मतदाता नामावलीमा नाम नरहेको जवाफ फर्काएको थियो । जिल्ला प्रशासनले भारतीय दूतावासले दिएको प्रमाण समेतलाई ध्यान नदिई तथा भारतको उनीहरूको भनिएको ठेगानामा पत्राचार समेत नगरी उनीहरूको नाम नदेखिएको जवाफ फर्काएको थियो । जिल्ला प्रशासनको यो पत्राचारपछि न त गृह प्रशासनले यो विषयमा ध्यान दिएको छ, न त जिल्ला प्रशासन सप्तरीले नै ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आफू आउनुभन्दा अघि भएको यस विषयमा आफू केही नबोल्ने प्रतिक्रिया दिए ।

दोहोरो नागरिकता लिएको आरोप लागेका अंकितकुमार रुंगटाले भने आफू र आफ्नो परिवारले भारतीय पहिचान पत्र बनाएको स्वीकारे । ‘हामी नेपालको पुरानो नागरिक हो, काम परेका कारण भारतीय पहिचान पत्र बनाएका हौं,’ उनले भने, ‘तर भाउजूले नै मुद्दा हालेपछि उताको पहिचानपत्र हामीले परित्याग गरिसकेका छौं ।’ भारतीय पहिचान पत्र बनाउँदा र मतदाता नामावलीमा नाम समावेश गर्दा नेपाली नागरिकता भने परित्याग नगरेको रुंगटाले स्विकारे । ‘नेपाली नागरिकता परित्याग गरेको थिइनँ,’ उनले भने, ‘काम परेकाले उताको बनाएको मात्र हो ।’ जिल्ला प्रशासनमा रहेको पाँचै जनाको नागरिकता अनुसन्धान फाइलमा भने उनीहरूले भारतीय पहिचान पत्र त्याग गरेको कुनै प्रमाण भेटिँदैन ।

प्रकाशित : फाल्गुन १, २०८० १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×