किसानलाई धान बेच्नै सास्ती- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानलाई धान बेच्नै सास्ती

डेढ महिनामा वीरगन्ज नाकाबाट झन्डै ५ अर्ब २५ करोडको धान आयात
भरत जर्घामगर, शंकर आचार्य

सिरहा‚ पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लहानले धान किन्ने सूचना निकालेसँगै बिक्री गर्न किसानको लाइन लागेको छ । धान लोड गरिएको ट्र्याक्टरको लाइन कम्पनीको कार्यालयदेखि ३ किलोमिटर परसम्म छ । किसानले धान थन्काएको एक महिनाभन्दा बढी समयपछि कम्पनीले खरिद प्रक्रिया अगाडि बढाएको हो । 


कम्पनीले यो वर्षका लागि मध्यम धान सोना मन्सुलीको प्रतिक्विन्टल ३ हजार १ सय २८ र कतर्नी धानको ३ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । केन्द्रले तोकेको कोटाअनुसार १५ हजार क्विन्टल धान खरिद गर्ने कम्पनीको लहान कार्यालयका प्रमुख रवनकुमार यादवले जानकारी दिए । उनका अनुसार यस वर्ष केन्द्रीय कार्यालयबाट परिपत्र आउन ढिलाइ हुँदा खरिद प्रक्रिया ढिलो भएको हो । विगतमा मंसिर पहिलो वा दोस्रो सातासम्म खरिद प्रक्रिया भइसक्थ्यो ।

कार्यालयमा सिरहा, सप्तरी र उदयपुरका किसानले धान बिक्रीका लागि ल्याउँछन् । ठूलो परिमाणमा ल्याए पनि कार्यालयले थोरै खरिद गर्दा बिचौलियाको मात्र पहुँच पुग्ने गरेको किसानको गुनासो छ । कम्पनीले एउटा किसानको एक पटक वा पटकपटक गरी ५० क्विन्टलसम्म मात्र धान खरिद गर्ने नीति लिएको छ । उत्पादन परिमाणको अनुपातमा सरकारले खरिद गर्ने धानको परिमाण एकदमै न्यून रहेको किसानको गुनासो छ । खाद्य कम्पनीले सीमित परिमाणमा किन्दा किसान सस्तोमा व्यापारीलाई धान बेच्न बाध्य छन् ।

लाइन बसेका सिरहा माधोपुरका खुसीलाल साहले धान बिक्री गर्न सास्ती भोग्नुपरेको बताए । ‘सास्ती भोगेरै पनि हिउँदे बाली लगाउन र घर खर्चका लागि बेच्नुपरेको छ,’ उनले भने, ‘पालो कहिले आउने हो टुंगो छैन ।’ सिरहा जिझौलका हिराइ यादवले व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुभन्दा सास्ती खेपेर भए पनि लाइनमा बसेको सुनाए । ‘एकातिर धान बिक्री गर्दा लागतअनुसार मूल्य पाउँदैनौं,’ उनले भने, ‘अर्कोतिर समयमा धान बिक्री हुँदैन । रोपाइँका बेला खनजोत, ज्याला र ट्र्याक्टर लगाउँदा लाग्ने लागत पनि उठाउन हम्मे छ । हामी किसान जताबाट पनि मारमै छौं ।’

यता, डेढ महिनामै वीरगन्ज नाकाबाट झन्डै ५ अर्ब २५ करोड रुपैयाँ बराबरको धान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार यसवर्ष मंसिर ५ देखि धानको आयात सुरु भएकोमा पुस १५ सम्ममा ५ अर्ब २४ करोड ९२ लाख रुपैयाँ बराबरको १५ करोड १९ लाख ७ हजार ५ सय ८१ किलो धान आयात भएको छ । धान आयातबाटै २६ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको यसै अवधिको तुलनामा २८ प्रतिशत बढी धान आयात भएको छ । गत आवको पुस १५ सम्ममा यो नाका हुँदै ३ अर्ब ३७ करोड १३ लाख रुपैयाँ बराबरको ११ करोड ४४ लाख २३ हजार ७ सय ५४ किलो धान भारतबाट आयात भएको थियो ।

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका अपरेसन इन्चार्ज जितेन्द्र रसाइली पुस लागेपछि धानको आयात झनै बढेको बताउँछन् । हालका दिनमा दैनिक सरदर १ सय २५ देखि १ सय ५० वटासम्म धान बोकेका ट्रक भारतबाट भित्रिरहेको उनले बताए । भारतले धान, चामल निकासीका लागि वीरगन्ज, भैरहवा र काँकडभिट्टा गरी नेपालका ३ वटा नाकालाई मात्र स्वीकृति दिएको छ । भारतको बिहार, उत्तरप्रदेश र पश्चिम बंगालबाट धान बढी आइरहेको छ । भारतले नेपालतर्फ धान र चामलको निर्यात खुला गरेलगत्तै यो नाकाबाट धान–चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए । भारतले पुनः निर्यातमा रोक लगाउने आशंकाले व्यवसायीहरूले हतारमा आयात गरेको हुन सक्ने उनले बताए । धानको आयातमा कृषि सुधार शुल्क ५ प्रतिशत मात्रै लाग्ने गरेको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल चामल, दाल, तेल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोधकुमार गुप्ताले भारतले नेपालका लागि यसवर्ष ६ लाख मेट्रिक टन मात्र धान–चामलको निर्यात फुकुवा गरेकाले व्यवसायीले हतारमा आयात गरिरहेको बताए । गतवर्ष भारतले साढे ५ लाख मे.टन कोटा नेपाललाई दिएको थियो । यसवर्ष सिजनमै आयात गर्न पाएपछि व्यवसायीलाई धेरै राहत भएको उनले बताए । भारतको धान र स्वदेशी धानले नेपालको वर्षभरिको माग धान्न सक्ने र चामल पनि महँगो नहुने उनको भनाइ छ ।

किसानले ल्याएनन् जिरामसिनो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगन्जमा किसानले जिरामसिनो धान बिक्री गर्न ल्याएका छैनन् । खरिद सुरु गरिएको सोमबारयता कुनै पनि किसानले जिरामसिनो नल्याएको शाखा प्रमुख विकास कटुवालले जानकारी दिए । ‘शाखाले सोनामन्सुली र जिरामसिनोको खरिद एकैसाथ खुल्ला गरेको हो,’ उनले भने, ‘तर किसानले सोनामन्सुली मात्र ल्याइरहेका छन् ।’

यस अवधिमा किसानको ३ हजार ५ सय क्विन्टल सोनामन्सुली खरिद गरिसकेको छ । ‘कम्पनीले निजी क्षेत्र बराबरकै जिरामसिनोको मूल्य दिएको छ, तर ट्र्याक्टर भाडामा रकम जाने भएकाले ल्याउन नचाहेको हुन सक्छ,’ उनले भने, ‘पर्सा र बारामा तुलनात्मक रूपमा जिरामसिनो धानको खेती पनि कम हुन्छ ।’ किसान संघ पर्साका अध्यक्ष असर्फी साहले पनि पर्सा–बाराका किसानले जिरामसिनो धान आफूले खानका लागि मात्र खेती गर्ने चलन रहेको बताए । शाखाले यसवर्ष सोनामन्सुली १० हजार र जिरामसिनो २ हजार गरी १२ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । गतवर्ष पनि किसानले जिरामसिनो धान नल्याएपछि शाखाले १७ हजार क्विन्टल सोनामन्सुली खरिद गरेको थियो ।

संघीय सरकारले यसवर्ष सोनामन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरेको छ । जिरामसिनोको मूल्य भने जिल्लास्तरीय प्राथमिक खरिद समितिले प्रतिक्विन्टल ३ हजार २ सय ५० रुपैयाँ निर्धारण गरेको छ । किसानले सोनामन्सुली भने निरन्तर बिक्री गर्न ल्याइरहेकाले शाखा परिसरमा ठूलो संख्यामा धान बोकेका ट्र्याक्टर पालो कुरेर बसेको शाखा प्रमुख कटुवालले बताए । ‘अझै करिब १ सय धान लोड भएका ट्र्याक्टर तौलको प्रतीक्षामा बसेका छन्,’ उनले भने, ‘हामीले आइतबारसम्म कार्यालय परिसरमा थप ट्र्याक्टर प्रवेश गर्न नदिने भनी सूचना नै जारी गरिसकेका छौं ।’

कार्यालयको गेट बाहिर अझै पनि ठूलो संख्यामा धान बोकेका ट्र्याक्टर प्रवेश पाउने प्रतीक्षामा लामबद्ध छन् । शाखा प्रमुख कटुवालले सोमबारदेखि नयाँ ट्र्याक्टरलाई प्रवेश गर्न दिने लक्ष्य रहेको बताए । प्रत्येक किसानको न्यूनतम २५ देखि अधिकतम ६० क्विन्टलसम्म धान खरिद भइरहेको छ । किसानले आफ्नो नागरिकता प्रमाणपत्रको नक्कल, स्थानीय पालिकाको कृषि शाखाको सिफारिस र जग्गाको लालपुर्जाको नक्कलसमेत अनिवार्य रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : पुस १९, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्

‘प्रदेशको औचित्य पुष्टि गर्ने चुनौती’

प्रदेशसभाको पहिलो बैठकमा सरकार भत्काउने र बनाउने खेलमा लाग्न नहुनेमा सांसदहरुको जोड
घनश्याम गौतम

दाङ — लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारदेखि सुरु भएको छ । पहिलो दिन दुई बैठक बसेका छन् । पहिलो बैठकमा प्रदेशसभाको बैठक आह्वानसम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको हो ।

प्रदेश प्रमुख शेरचनले बैठकमा प्रदेशसभाको पहिलो कार्यकालले सफलतापूर्वक काम गरेको बताए । ‘सरकारले राजधानी व्यवस्थापनदेखि विपन्न र असहाय जनताका लागि सरकारले दिने उपचार खर्च र राहतका विषय प्रशंसनीय छन्,’ उनले भने, ‘अबको अधिवेशन पनि त्यही गतिमा अघि बढ्ने विश्वास छ ।’

प्रदेशसभाको दोस्रो बैठकले ‘लुम्बिनी प्रदेशसभा नियमावली २०७९’ पारित गरेको छ । बैठकमा प्रदेशसभामा निर्वाचित भएका दलहरूले शुभकामना व्यक्त गर्दै अबको ५ वर्षको कार्यकाल पनि उत्कृष्ट बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेशसभाको पहिलो कार्यकाल बुटवलमा बितेको र त्यसमा संरचनाविहीन अवस्थाको प्रदेशलाई स्थापित गर्न स्थानीय संघसंस्थाले गरेको सहयोगको चर्चा गरे । उनले बुटवलका संघसंस्थाले आफ्नो कार्यालय र भवन सरकारलाई उपलब्ध गराएर संघीयता कार्यान्वयनका लागि गरेको सहयोग प्रदेशसभाले कहिल्यै बिर्सन नहुने बताए ।

‘हामीले प्रदेशसभाको पहिलो बैठकबाट कम्तीमा पनि बुटवलका संघसंस्थालाई धन्यवाद भन्नै पर्थ्यो,’ उनले भने, ‘म मेरो दल र मेरो व्यक्तिगत तर्फबाट भए पनि धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ उनले अघिल्लो प्रदेशसभाले निष्पक्ष ढंगले काम गर्न नसकेको पनि आरोप लगाए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घकालीन स्थिरताका लागि सरकार भत्काउने र बनाउने नाजायज विषयमा यो प्रदेशसभा नलाग्ने विश्वास पनि व्यक्त गरे । ‘सरकार भत्काउने र बनाउने कुराबाट हामी मुक्त हुनैपर्छ,’ उनले भने, ‘धेरै माननीयहरू युवा जोस र जाँगरका साथ प्रवेश गर्नु भएको छ । त्यसले प्रदेशको समृद्धिका लागि ठूलो सहयोग पुग्नेछ ।’ जनताले यो परिवर्तनबाट के पायौं भन्ने अनुभूति प्रदान गर्न र त्यो जिम्मेवारी पूरा गर्न यो प्रदेशसभा सफल हुने पनि उनले विश्वास व्यक्त गरे ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो कार्यकाल व्यवस्थापन र कानुन निर्माणमै सकिएको बताउँदै दोस्रो कार्यकाल चुनौतीपूर्ण रहेको बताए । ‘चुनौती र सम्भावना दुवै छन्,’ उनले भने, ‘संघीयता चाहिन्छ, चाहिंदैन भन्ने छ,’ उनले भने, ‘जनताको भावनालाई एकीकृत गर्दै औचित्य पुष्टि गर्ने चुनौती छ ।’ त्यो चुनौती सबैको सामूहिक चाहना र प्रयासमा मात्र सम्भव भएको उनले बताए ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महराले दोस्रो कार्यकालको प्रदेशसभा उच्च राजनीतिक संस्कारका साथ जनताका आशा, अपेक्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरे । ‘हामीले प्रदेशको विकासका लागि उच्च राजनीतिक संस्कार देखाउनैपर्छ,’ उनले भने, ‘त्यसका लागि सबैको साझा प्रयास र सहकार्य जरुरी छ ।’ प्रदेशसभामा राप्रपाका आशिषकुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, नेकपा एकीकृतकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाका तारा थापाले बोलेका थिए । अधिकांश वक्ताको आगामी प्रदेशसभाको कार्यकालले प्रदेशसभाप्रतिको वितृष्णा अन्त्य गर्नेमा ध्यान पुग्नु पर्ने र कानुन निर्माणमा जोड दिनु पर्ने बताएका थिए ।

प्रदेशसभाको पहिलो बैठक र दोस्रो दुवै बैठक प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा बसेको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचन गर्नु पर्ने कानुनी व्यवस्था छ । प्रदेशसभाको अबको बैठक माघ ३ गते बस्ने ज्येष्ठ सदस्य भुसालले बताए । ‘त्यही दिन नै सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ,’ उनले भने, ‘त्यसपछि प्रदेशसभाले आफ्नो नियमित कार्यसम्पादन र जिम्मेवारीमा अघि बढ्ने छ ।’ प्रदेशसभामा १० दलको सहभागिता छ ।

यी हुन् प्रदेशसभाका ज्येष्ठ सदस्य

प्रदेशसभामा सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले बैठकको अध्यक्षता गरेका छन् । आइतबार शपथ लिएसँगै उनले यसको सुविधा लिइसकेका छन् । गुल्मी–२ (१) बाट निर्वाचित भुसाल प्रदेशसभाका ८७ जना सांसदहरूमध्ये ज्येष्ठ सदस्य हुन् । उनलाई आइतबार नै प्रदेश प्रमुख अमिक शेरचनले ज्येष्ठ सदस्यको प्रमाणपत्र दिएका थिए । निर्वाचन आयोगको विवरण अनुसार उनको जन्म २०१० जेठ ७ गते भएको हो । ६९ वर्षीय भुसालले सभामुख र उपसभामुख चयन नहुँदासम्म बैठकको अध्यक्षता गर्नेछन् ।

लुम्बिनी प्रदेश सभाका जेष्ठ सदस्य डिल्लीराज भुसाल । तस्बिर घनश्याम गौतम/कान्तिपुर

गुल्मीको रेसुंगा नगरपालिका–१ तम्घास निवासी भुसालको जन्म भने अर्घाखाँचीको साविक मरेङ गाविस–६ र हालको मालारानी–१ मा भएको थियो । उनी रेसुंगा नगरपालिकाका पूर्वनगर प्रमुख हुन् । उनी एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् । २०३८ सालमा माले पार्टीसँग आबद्ध भएका उनी पार्टी राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील थिए । तम्घास अस्पताल विकास समितिको अध्यक्ष, गुल्मी उद्योग वाणिज्य संघको पूर्वअध्यक्षसमेत रहेका भुसाल विभिन्न सामाजिक संघसंस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

कांग्रेस र माओवादी दलका नेता सर्वसम्मत

नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभाको संसदीय दलका नेता सर्वसम्मत छानेका छन् । कांग्रेसका डिल्लीबहादुर चौधरी र माओवादीका जोखबहादुर महरा सोमबार सर्वसम्मत चयन भएका हुन् । यसअघि एमालेले आइतबार रूपन्देही–२ (१) बाट प्रदेशसभामा निर्वाचित लीला गिरीलाई सर्वसम्मत प्रदेश संसदीय दलको नेतामा छानेको थियो ।

डिल्लीबहादुर चौधरी

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरूको दाङको देउखुरीमा सम्पन्न भेलाले चौधरीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको कांग्रेस प्रदेशसभापति अमरसिंह पुनले बताए । चौधरी शेरबहादुर देउवा निटक मानिन्छन् । कांग्रेस संसदीय दलको नेताका लागि रूपन्देहीका अब्दुल रज्जाक, पाल्पाका वीरबहादुर राना र दाङकै राजु खनाल प्रतिस्पर्धी थिए । तीनै जनाले चौधरीलाई समर्थन गरेपछि उनी सर्वसम्मत भएका हुन् । चौधरी दाङ–३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । अहिलेको प्रदेशसभामा उनी ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्री छन् । उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दाबेदार थिए ।

जोखबहादुर महरा

यसै गरी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा रोल्पाका जोखबहादुर महरा सर्वसम्मत भएका हुन् । सोमबार दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरूको बैठकले महरालाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । माओवादीमा प्रत्यक्षतर्फबाट निर्वाचित तुलाराम घर्ती, इन्द्रजित थारु चौधरी, कृष्णा केसीले दलको नेतामा दाबी गरेपछि टुंग्याउन मुस्किल भएको थियो । कसैले पनि दाबी नछोडेपछि केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालको विशेष निर्देशनमा महरालाई नेता चयन गरिएको बताइएको छ । महरा रोल्पा (१)बाट निर्वाचित हुन् ।

महरा माओवादीको स्थायी कमिटी सदस्य एवं प्रचण्डको सचिवालमा बसेर लामो समय काम गरेका नेता हुन् । प्रदेशसभामा माओवादीबाट प्रत्यक्षतर्फ ५ र समानुपातिक तर्फ ४ गरी ९ जना निर्वाचित भएका छन् ।

प्रकाशित : पुस १९, २०७९ ०९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×