कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पर्सा-बारा औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ

शंकर आचार्य

पर्सा — देशकै सबैभन्दा ठूलो औद्योगिक करिडोर पर्सा-बारा औद्योगिक करिडोरका उद्योग अघोषित लोडसेडिङको मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले यो करिडोरमा पुस यता दैनिक बिहान ७ देखि साढे ११ बजेसम्म र साँझ ५ देखि राति ९ बजेसम्म लोडसेडिङ गरिरहेको छ । तर प्राधिकरणले देश लोडसेडिङमुक्त घोषणा गरी सकेकाले करिडोरमा गरी रहेको विद्युत कटौतीलाई लोडसेडिङ सम्बोधन नगरेको उद्योगीहरु बताउँछन् । 

पर्सा-बारा औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले अघोषित लोडसेडिङको कारण करिडोरका उद्योग संकटमा रहेको बताए । ‘अघोषित र चर्को लोडसेडिङले करिडोरका उद्योग संकटमा छन्, साना, मझौला र ठूला सबै खाले उद्योगको उस्तै अवस्था छ,’ उनले भने, ‘भारतबाट ५ सय ५० मेगावाट बिजुली ल्याइएको छ, भएको बिजुलीको पनि विद्युत प्राधिकरणले उचित व्यवस्थापन गर्न नसक्दा करिडोर लोडसेडिङको चपेटामा परेको हो ।’

जेनरेटर र इन्धन दुबै अत्यन्त महँगो भएकाले सबै उद्योगले बैकल्पिक व्यवस्था गर्न नसकेको उनले बताए । आफू सहितको वीरगन्जका उद्योगी व्यवसायीको टोलीले प्राधिकरणका जिएम मनोज सिलवाललाई भेटी दैनिक विद्युत कटौती गर्नु भन्दा ग्राहस्थतर्फ उपभोक्तालाई मर्का नपर्ने गरी १ दिन ८ घण्टा र उद्योगतर्फ त्यसको भोलिपल्ट ८ घण्टा लोडसेडिङ गर्न सुझाएको गौतम बताउँछन् ।

‘उहा भैरहवाबाट पनि यस्तै प्रस्ताव आएको भनी हाम्रो सुझावमा सहमत समेत हुनुभयो,’ गौतम भन्छन्, ‘तर हाम्रो सुझावको व्यवहारमा अझै कार्यान्वयन भइ दिएन ।’ लोडसेडिङ्ग र बढ्दो ट्रिपिङ्गले उद्योग प्रतिष्ठानहरु आफ्नो क्षमताको ३० देखि ३५ प्रतिशत मात्र सन्चालन हुन सकेको र उद्योग प्रतिष्ठानहरुको कच्चा पदार्थ नोक्सान हुनुका साथै उत्पादनको गुणस्तरमा ह्रास समेत भइरहेको वीरगन्ज उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष माधवराजपाल बताउँछन् ।

करिडोरमा साना, ठूला र मझौला गरी करिब १ हजार उद्योग सन्चालनमा रहेका छन् । वीरगन्जदेखि कलैया, पोखरिया र पथलैया सम्मकै क्षेत्रमा रहेका यी उद्योगमा स्वदेशी र विदेशि गरी झण्डै १ लाख मजदुर कार्यरत छन् । करिडोरमा डाबर नेपाल, सूर्य नेपाल, व्रिटानिया नेपाल, पतन्जली आयुर्वेद, कन्साई नेरोल्याक जस्ता बहुराष्ट्रिय कम्पनीका उद्योग समेत सन्चालित छन् ।

यस बाहेक जगदम्बा स्टिल, हुलास स्टिल, त्रिवेणी स्पिनिङ, हामा आइरन जस्ता ठूला उद्योग पनि सन्चालनमा छन् ।

प्रकाशित : फाल्गुन १४, २०८० २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×