कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

नेसनल मेडिकल कलेजको ओपीडी दुई दिनदेखि ठप्प

भूषण यादव

वीरगन्ज — निलम्बनमा परेका १२ जना कर्मचारीको पुनर्बहालीको माग राख्दै नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारी सोमबारदेखि धर्नामा छन् । ओपीडी (बहिरंग) सेवा ठप्प पारेर दुई दिनदेखि कर्मचारी धर्नामा बसेका हुन् । 

नेसनल मेडिकल कलेजको ओपीडी दुई दिनदेखि ठप्प

अस्पतालमा ट्रेड युनियन गठन भएपछि बिनाकारण कर्मचारीलाई अस्पताल व्यवस्थापनले निलम्बन गरी स्पष्टीकरण सोधेको कर्मचारीले बताएका छन् । आइतबार कलेजका प्रमुख प्रशासकीय अधिकृत शेख गौशल आजमले विज्ञप्ति जारी गरी ९ जना कर्मचारीलाई तीन महिनाका लागि निलम्बन गरिएको जनाएका थिए । यसअघि तीन जनालाई निलम्बन गरिसकिएको छ । ‘घटनाको प्रमाण नष्ट गर्ने र छानबिनमा अवरोध पर्‍ुयाउने प्रबल सम्भावना भएको हुँदा श्रम ऐन २०७४ को दफा १३४ बमोजिम ३ महिनाको लागि पदबाट निलम्बन समेत गरिएको छ,’ आजमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ, ‘निलम्बन अवधिभर प्रतिष्ठानभित्र प्रवेशमा रोक लगाइएको समेत जानकारी गराइन्छ ।’

आजमका अनुसार आठ जना कर्मचारीले नर्सिङ डाइरेक्टर गंगादेवी गुरुङ, नर्सिङ मेट्रोन विकासकु मार तथा नर्सिङ सुपरभाइजर गोमा केसीलाई कार्यालय समयमा कार्यकक्षमा गई युनियनसम्बन्धी विवाद गरी धाकधम्की दिई ज्यान मार्नेसम्मको डर देखाई कार्यस्थलमा हुलदंगा गरेकाले श्रम ऐन २०७४ को दफा १३१ (४) (क) बमोजिम खराब आचरणभित्र परेको हुँदा सोही दफा बमोजिम सेवाबाट किन नहटाउने सोको जवाफ पत्र प्राप्त भएको मितिले ७ दिनभित्र जवाफ दिन भनिएको छ । म्यादभित्र जवाफ नआएमा वा चित्तबुझ्दो जवाफ नआएमा सेवाबाट समेत हटाइने जनाइएको उनले बताएका छन् ।

कर्मचारीहरुले सोही दिन जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन निवेदन दर्ता गराएका छन् । शिक्षण अस्पतालमा ट्रेड युनियन गठन भएपछि कलेजका एकेडेमिक डाइरेक्टर नुशरत जहा अन्सारी, हस्पिटल डाइरेक्टर ईशरत जहा अन्सारी, नर्सिङ डाइरेक्टर गंगा गुरुङ, नर्सिङ सुपरभाइजर गोमा केसी, नर्सिङ प्रशासक अताउल रहमान, मुकेश कुश्वाहा तथा एचआर अफिसर सुधा साहले ट्रेड युनियन चाहिँदैन् भन्दै कागजमा सही छाप नगरे गेटभित्र प्रवेश गर्न नदिने जबर्जस्ती विपक्षीहरुले आफ्नो अफिसको कोठामा बोलाई विभिन्न धाकधम्की दिने गरेकाले कार्यस्थलमा काम गर्न सहज वातावरण नभएको र शान्ति सुरक्षाको व्यवस्थाकाे मागसिहत उजुरी दिएको अखिल नेपाल स्वास्थ्य श्रमिक संघ ट्रेड युनियनका अध्यक्ष प्रयाग राउत अहिरले जनाएका छन् ।

गत शनिबार युनियनको बैठकले ११ बुँदे माग पेस गरेको थियो । कर्मचारीको हकहतिका लागि युनियन गठन गरी माग पेस गर्दा त्यसको प्रतिशोधमा व्यवस्थापनले कर्मचारीलाई डर-त्रास देखाएको र निलम्बन गरेको अध्यक्ष अहिरले बताए । ‘जसरी पनि कारबाही गर्ने उद्देश्यले सफाइको मौका नदिई युनियनका पदाधिकारीलाई निलम्बन गरिएको छ,’ उनले भने, ‘कर्मचारीलाई साविकबमोजिम कामकाज गर्न पाउने सहज वातावरण मिलाउन माग गरेका छौँ ।’

प्रकाशित : फाल्गुन १५, २०८० १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×