कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

मधेश प्रदेशमा स्वास्थ्य सेवामा चुनौती  : मागजति नै पर्दैन आवेदन

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशको स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा उपलब्ध गराउन जनशक्ति व्यवस्थापन नै चुनौती बनेको छ । भौतिक संरचना र पर्याप्त औषधि भए पनि जनशक्ति व्यवस्थापन हुन नसक्दा सरकारी स्वास्थ्य संस्थाले प्रभावकारी सेवा दिन सकेका छैनन् । स्वास्थ्य सेवा विषयमा गुनासो बढिरहदा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेको विज्ञापनमा मागअनुसार आवेदन नै पर्न सकेको छैन ।

मधेश प्रदेशमा स्वास्थ्य सेवामा चुनौती  : मागजति नै पर्दैन आवेदन

निर्देशनालयले ८ जना एनेस्थेसियोलोजी, छाला रोग र प्याथोलोजी पदमा ६/६ जना जनशक्ति माग गरेपनि कुनै पनि पदमा आवेदन नै परेको छैन । ६ जना रेडियोलोजी माग गरेकोमा १ आवेदन, १० जना माग गरेको वायो मेडिकल सहायक पदमा ४ आवेदन, १२ जना एनेशथेटिक सहायकमा १० आवेदन, १० जना सर्जन माग गरेकामा ६ आवेदन, ९ गाइने माग गरेकोमा ६ आवेदन, १२ बाल रोग चिकित्सक माग गरेकोमा मात्र ५ आवेदन परेको मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रादेशिक अस्पतालहरूका लागि जनशक्ति सेवा करारमा पदपूर्ति गर्न २३ पदमा २ सय ७२ जनाका लागि स्वास्थ्य निर्देशनालयले निकालेको सूचनामा १३ पदमा माग भएको संख्य भन्दा पनि कम आवेदन परेको छ । मागअनुसार आवेदन नआउदा सम्बन्धित पदको सूचना नै रोक्नुपर्ने अवस्था आएको छ । प्रादेशिक अस्पतालमा दरबन्दीअनुसारको स्वास्थ्यकर्मी पदपूर्ति गर्न स्वास्थ्य निर्देशनालयले २०८० पुस ११ गते विज्ञापन निकालेको थियो ।

मागअनुसार आवेदन नआउँदा स्वास्थ्यकर्मी नियुक्त प्रक्रिया लम्बिएको मधेश प्रदेशका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले बताए । 'प्रादेशिक अस्पतालहरूमा प्रदेश सरकारको लगानीअनुसार उपलब्ध प्राप्त गर्न तत्काल करारमा कर्मचारी भर्ना गरी अस्पतालको सेवा सुधार्न कर्मचारीको लागि विज्ञापन निकाल्दा आवेदन नै परेको छैन,' मन्त्री सिंहले भने,'करारका कर्मचारीबाट सेवा सुरु गरी पछि स्थायी कर्मचारीका लागि लोकसेवाबाट प्रक्रिया अगाडि बढाउने तयारी छ । तर करार सेवाका लागि लागि अगाडि बढाएको प्रक्रियामा जनशक्ति सहभागी हुन नै आएन ।' स्वास्थ्य सेवामा तत्काल परिवर्तन ल्याउन करारमा चिकित्सक तथा कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाइएको मन्त्री सिंहले बताए ।

विगतको सरकारले अस्पतालमा उपकरणहरू खरिद गरी गोदाममा थन्काएका थिए । करोडौं खर्चेर अस्पातलहरूलाई उपकार वितरण गरे पनि प्रयोगमा आउन सकेको छैन । अस्पतालमा थन्केको उपकरण र सेवा सञ्चालनमा ल्याउन जनशक्ति अभाव रहेको छ । लोक सेवाबाट पदपूर्ति गर्न समय लाग्ने भएकोले तत्काल सेवा सुरु गर्ने प्रक्रिया स्वास्थ्य मन्त्रालयले अगाडि बढाएको छ ।

प्रकाशित : फाल्गुन १५, २०८० १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×