कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीको जोखिम उच्च, तयारी फितलो

प्रदेश २ का ८ वटै जिल्ला बाढीको उच्च जोखिममा छन् । बर्सेनि आउने बाढीले यहाँ जनधनको ठूलो क्षति गर्छ । तर प्रदेशमा यसको रोकथाम र नियन्त्रणको तयारी भने फितलो छ ।

सप्तरी, सर्लाही, धनुषा, रौतहट — ‘वर्षाको मौसम छ । जाली–बोरा लिन आउने किसान र नेपाली सेनालाई रित्तै फर्काउनुपर्ने अवस्था छ,’ सप्तरीको खाडो–त्रियुगा नदी नियन्त्रण आयोजनाका प्रमुख रेवाकान्त यादवले कार्यालयको समस्या सामाजिक सञ्जालमा पोख्न बाध्य भए ।

बाढीको जोखिम उच्च, तयारी फितलो

उनले फेसबुकमा स्टाटस लेखे, ‘बाढीको तयारी के छ ? जाली–बोराको मौज्दात कति छ ? जिल्ला प्रशासन कार्यालयले सोध्छन् । बाढीको पूर्वतयारी शून्य छ । बिनाबजेट कसरी तयारी गर्ने ? म यही उत्तर दिन्छु ।’

वर्षात्का बेला सप्तरीमा सबभन्दा बढी दुःख दिने खाडो खोला नियन्त्रण आयोजनाका प्रमुख यादवको यो स्टाटसले सप्तरीमा मनसुन र त्यसबाट हुने क्षतिको पूर्वतयारीको अवस्था कति फितलो छ, छर्लङ्ग हुन्छ ।

पानीको निकास हुन नसक्नु, तटबन्धलगायत संरचनाहरू बजेट अभावले निर्माण हुन नसक्नु, भए पनि गुणस्तरीय नहुनु, सुरुमा तटबन्ध नबनाउने तर कटान भएपछि मर्मतसम्भारको काम थाल्दै बाढीमा काम गर्नुलगायत समस्याका कारण सप्तरीमा पछिल्ला वर्षमा बाढीका कारण पीडित र विस्थापित हुनेको संख्या बढ्दै गएको छ ।

सप्तरीमा कोसी नदी, त्रियुगा, सुन्दरी, महुली, खाडो, खडग, बलान, कजरा, मुतनी, घोडदह, भलुवाही, गंगाजली, जिता, सुरङ्गा, पौडा, बिहुल, पाची, अमहा र सुखलाहीलगायतका नदी र खोलामा आउने बाढीका कारण विस्थापन हुने, बालीनाली नष्ट हुने र धनजनको क्षति हुँदै आएको छ । यादवका अनुसार बाढीले सप्तरीका पूर्वदेखि पश्चिमसम्मका अधिकांश क्षेत्र प्रभावित हुँदै आएको छ । जिल्लामा हरेक वर्ष नदी कटानका कारण समस्या भए पनि नदीहरूको तटबन्धको स्थायी समाधान हुन सकेको छैन ।

प्रदेश २ का ८ वटै जिल्ला बाढीको उच्च जोखिममा छन् । बर्सेनि आउने बाढीले यहाँ जनधनको ठूलो क्षति गर्छ । तर प्रदेशमा यसको रोकथाम र नियन्त्रणको तयारी भने फितलो छ । बाढीको उच्च जोखिममा धनुषा पनि पर्छ । धनुषाको कमला र औरही खोलाको बाढीले पूर्वोउत्तर इलाकालाई डुबाउँछ । कमला खोलाको बाढीले धनुषाको करिब ३० प्रतिशत मानव बस्तीलाई प्रभावित पार्छ ।

धनुषाको जनकनन्दनीमा रेल्वे लिकले पानीको प्रवाह थुनिदिँदा थुप्रै बस्ती डुब्छ । भारतपट्टि जयनगर पुलको बाँधले कमलाको बाढी रोक्दा बस्ती डुबानमा पर्छ । जिल्ला प्रशासन कार्यालय धनुषाले यस वर्ष अत्यधिक वर्षा हुने भएकाले बाढी, डुबान र कटान रोकथामका लागि पूर्वतयारी गर्न धनुषाका स्थानीय तहलाई पत्र लेखेको छ । डुबान क्षेत्रका लागि लाइफ ज्याकेट र ट्युबसमेत खरिद गर्न स्थानीय तहलाई आग्रह गरिएको छ ।

वर्षाको समय रहेकाले स्थानीय तह, सुरक्षा निकायसँग सहकार्य गरी डुबान क्षेत्रमा सतर्कता र हुन सक्ने जोखिम न्यूनीकरणका लागि समन्वय थालिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले बताए । बाढी तथा डुबानका बेला नागरिकलाई कसरी उद्धार गर्ने ? सर्लाहीका तीनवटै सुरक्षा निकाय पूर्वअभ्यासमा जुटेका छन् । वाग्मती नगरपालिकास्थित निर्माणाधीन तालमा अहिले तीनवटै सुरक्षा निकायले संयुक्त रूपमा बाढी तथा डुबानको समयमा गरिने उद्धारको अभ्यास गरेका छन् ।

बर्सेनि बाढी र डुबान खेप्ने रौतहटमा पनि जिल्ला प्रशासन कार्यालयले पूर्वतयारीका लागि स्थानीय तहलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बाढीले क्षति पुगेको वाग्मती र लालबकैया नदीमा बाँध मर्मत र स्पर बनाइएपछि यसपटक क्षति कम हुने आकलन प्रशासनको छ ।

प्रकाशित : असार ३, २०७८ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?