
रौतहट — रौतहटको मौलापुर नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले निकालेको कार्यपालिका सदस्य चयनसम्बन्धी तालिकाअनुसार शुक्रबार मनोनयन दर्ता गर्ने थियो । तर‚ नेकपा एमालेबाहेकका दलहरूले कार्यपालिका सदस्यका लागि मनोनयन दर्ता नै गरेनन् । पालिकाका ५ महिला र ३ अल्पसंख्यक सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

नगरपालिकाका सूचना अधिकारी राधेकृष्ण मिश्रका अनुसार शुक्रबार कार्यपालिका सदस्यहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका रहेकोमा एमालेको मात्र ८ जना सदस्यको मनोनयन दर्ता भएको छ । अन्य दलहरू भने दर्ता गराउन आएनन् । ‘नेकपा एमालेबाहेकका दलहरूले सदस्य पदका लागि मनोनयन दर्ता नगरेपछि निर्विरोध भएको हो,’उनले भने, ‘महिला र अल्पसंख्यक पदमा एमालेबाहेकका उम्मेदवारको मनोनयन दर्ता भएन । उनीहरू सबै निर्विरोध भए ।’ निर्विरोध भएका कार्यपालिका सदस्यहरूलाई सोमबार प्रमाणपत्र दिइने मिश्रले जनाए ।
उक्त नगरपालिकामा नगरप्रमुख रीनाकुमारी साह र उपप्रमुख नागेन्द्रप्रसाद यादवसहित ६ वटा वडाहरू नेकपा एमालेले जितेको छ । बाँकी ३ वटा वडाहरू एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले जितेका छन् । आफूहरूको बहुमत नपुग्ने भएपछि मनोनयनपत्र दर्ता नगरेको एकीकृत समाजवादीका वडा नं. ६ का अध्यक्ष ईश्वरप्रसाद यादवले बताए ।
नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र प्रत्येक वडाबाट एक/एक जना वडाध्यक्ष रहन्छन् । नगर सभाले सभाका सदस्यहरूमध्येबाट निर्वाचित पाँच जना महिला र अन्य तीन जना दलित वा अल्पसंख्यक पनि कार्यपालिकाको सदस्य रहने व्यवस्था गरेको छ । त्यस्तै गाउँ कार्यपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाबाट एक/एक जना वडाध्यक्ष रहने व्यवस्था छ । यसबाहेक गाउँ सभाका सदस्यमध्येबाट चार महिला र अन्य दुई दलित वा अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यमा निर्वाचित हुने व्यवस्था गरेको छ ।
प्रकाशित : जेष्ठ १४, २०७९ २०:२८