कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाराका पौडेलको हत्या आरोपमा ६ जना पक्राउ

मृतक परिवार भन्छन् ‘अनुसन्धानमा तदारुकता नदेखाएका प्रहरीले अहिले अनुसन्धान गर्न थाले पनि न्यायको लागि निष्पक्ष अनुसन्धान होस्’
लक्ष्मी साह

बारा — बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

बाराका पौडेलको हत्या आरोपमा ६ जना पक्राउ

इलाका प्रहरी सिमराका कार्यालय प्रमुख नायब उपरीक्षक युवराज तिम्लिसिनाका अनुसार वडा ६ वडाका चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, वडा ३ का खगेन्द्र थापा (चित्रबहादुरका भतिज), सन्तोष खत्री (चित्रबहादुरका ज्वाईं), उद्धव अधिकारी, वडा २ का केबी भनिने खगेन्द्र रिजाल गरी ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न बारा जिल्ला अदालतबाट सोमबार म्याद लिएको छ ।

प्रहरीका अनुसार वैशाख ३० मा चित्रबहादुरको घरमा पौडेलको हत्या भएको थियो । त्यस दिन स्थानीय चुनाव भएकाले चुनावी आचारसंहिता लागेको थियो । चुनावको अघिल्लो रात २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेरकै क्रममा पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

चित्रबहादुर माओवादीको तर्फबाट वडा ६ को वडा सदस्यको लागि उम्मेदवार थिए । तर उनी चुनावमा पराजित भए । उनैलाई नै जिताउन मृतक पौडेलसहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी थिए । प्रहरीले घटनाको ९ औं दिनमा सुरुमा बालिकालाई पक्राउ गरेर अनुसन्धान थालेपछि तिनकै बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको हो । उनीहरु सबै इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा छन् ।

‘चित्रबहादुरलाई चुनाव जिताउन मतको लेखाजोखा गरिरहँदा र जित्ने योजना बनाइरहँदा भएको जमघटसँगैको भोजभतेरको सिलसिलामा घटना भएको हो,’ प्रहरी नायब उपरीक्षक तिम्लिसिनाले भने, ‘घटनाको अनुसन्धान गर्न सबै कोण र प्रविधि अपनाएका छौं, घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार चुनावको अघिल्लो रात सबैतिर सान्नाटा रहेको बेला वैशाख २९ मा चित्रबहादुरको घरमा भएको भोजभतेरको सिलसिलामा पौडेलको हत्या भएको बुझिएको छ। पौडेलको टाउको पछाडिको भागमा धारिलो हतियार प्रहारले घाउ लागेको थियो । हात र शरीरको अरु भागमा चोटपटक लागेको छ ।

प्रहरीले मृतक पौडेलले हातमा लिएको मोबाइल सेट बटारिएको अवस्थामा फेला पारेको छ । ‘भोजभतेर गर्दागर्दै रात परेछ र रात बित्दै जाँदा बिहान पौने ३ बजेतिर हत्या भएको रहेछ,’ प्रहरी नायब उपरीक्षक तिम्लिसिनाले बताए । घटना भएको एक घण्टापछि वैशाख ३० (चुनावको दिन) मा बाहिरी व्यक्तिबाट आफूले घटनाबारे खबर पाएको उनले बताए ।

हत्याको कारण महिलालाई दुर्व्यवहार गरेको भनी पनि आएकोले त्यो कोणबाटसमेत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिम्लिसिनाको भनाइ छ । ‘सुरुमा घटनालाई अन्यत्रै मोडेर मृतक पौडेलको लडेर मृत्यु भएको थियो भनेर प्रहरीलाई जानकारी दिइएको थियो । तर अनुसन्धान हुँदै जाँदा रहस्यमय रहेको यो घटना (हत्या) नियतवश भएको ठम्याएका छौं,’ उनले भने, ‘त्यसपछि उनीहरुलाई किटानी जाहेरीको आधार र अनुसन्धानको आधारमा पक्राउ गरिएको हो ।’

चित्रबहादुरका बुवा दलबहादुर केसीले घटनाको दिन आफ्नो घरमा भोजभतेर रहेको बताएका छन् । ‘छतबाट लडेर मृत्यु भयो कि कसैले मारेर हाम्रो घर अगाडि ल्याएर राख्यो भन्ने थाहा छैन,’ दलबहादुरले भने, ‘सबैले मदिरा र मासु चिउरा लिएर आएका थिए ।’ मृतक परिवार भने प्रहरीको अनुसन्धानमाथि सशंकित देखिएका छन् । मृतक पौडेल ठेक्कापट्टाको काम गर्थे । उनका काखे बालक गरी दुई छोरा र श्रीमति छन् ।

मृतकका बुवा चिरञ्जीविभक्त पौडेलले हत्या नियोजित ढंगले भएकाले अनुसन्धान निष्पक्ष गरी न्याय दिन माग गरे । ‘घटनालाई तोडमडोर गर्न खोजिएको छ,’ तत्कालीन जीतपुर पञ्चायतका पूर्वप्रधानपञ्चसमेत रहेका चिरञ्जीविले भने, ‘घटना भएपछि हामी छिमेकी नै हुँदा परिवारमा कसैलाई जानकारी नदिइ चित्रबहादुरका परिवारले उपचार गर्न बाहिरबाट टेम्पो मगाएर अस्पताल लगे । हाम्रो घरमा चारचक्के गाडी हुँदा पनि भनेनन् ।’

घटना लगत्तै प्रहरीले पनि ‘एक्सन’ नलिएको उनले बताए । ‘शरीरभरि चोटपटक छ र मुख थुनिएको पोस्टमार्टमले देखाएको छ । घटना भएको घरमा रगत पखालिएको छ,’ उनले भने, ‘छतमाथि बार भएकाले लड्ने सम्भावना छैन, कसरी लडेर मृत्यु हुन्छ ? इन्साफको लागि निष्पक्ष अनुसन्धान होस् ।’ चुनावले अनुसन्धानमा तदारुकता नदेखाएका प्रहरीले अहिले अनुसन्धान गर्न थालेको उनले बताए ।

प्रकाशित : जेष्ठ १६, २०७९ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?