२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

भारतीय पक्षले नहरमा पानी नदिँदा नेपाली किसानको रोपाइँ प्रभावित

रोपाइँको सिजनमा भारतीय पक्षले नेपाललाई पानी दिनुपर्ने सम्झौता भए पनि यतिबेला नै भारतले नहर मर्मत गरिरहेको छ । जसकारण मध्य असारको रोपाइँको बेला नेपालका किसानहरूले पर्याप्त पानी पाएका छैनन् ।
शंकर आचार्य

पर्सा — रोपाइँका लागि नहरमा पानी दिनुपर्ने सिजनमा भारतीय पक्षले नहरको मर्मतसम्भार भइरहेको भन्दै पर्याप्त पानी नदिएपछि गण्डक नहरमा आश्रित किसानहरूको रोपाइँ पनि प्रभावित भएको छ ।

भारतीय पक्षले नहरमा पानी नदिँदा नेपाली किसानको रोपाइँ प्रभावित

भारतसँगको गण्डक सम्झौता अनुसार वर्षेनि धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिइसक्नु पर्छ ।

भारतको झमरी नदीमा नहरको संरचनामा लिकेज भएको भन्दै हाल भारतीय पक्षले नहरको मर्मत सम्भारको काम गरिरहेको छ । नारायणी सिँचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश साहका अनुसार साता अघिदेखि भारतीय पक्षले त्यहाँ नहरमा मर्मत सम्भारको काम गरिरहेको छ ।

‘भारतीय भूमिमा २ सय २० आरडीमा नहरको मुख्य संरचनामै लिकेज भएकाले करिब साता अघिदेखि भारतीय पक्षले त्यहाँ नहर मर्मत सम्भारको काम भइरहेको जानकारी गराएको छ । यो स्थान नेपाल-भारत सीमाबाट करिब १२ किमी पश्चिममा पर्छ,’ उनले भने, ‘भारतीय किसानको उखु बाली सिँचित गर्न नहरमा पानी छोड्दा यसरी नहरमा लिकेज भएको रहेछ । लिकेज भएको ठाउँमा मर्मत सम्भार नगरी धेरै पानी छोडे नहर फुट्ने सम्भावना हुन्छ ।’

हाल भारतीय पक्षले नहरमा करिब २ सय क्युसेक मात्र पानी छोडेको र यति पानीले पर्सा जिल्लाको माग पनि पूरा नहुने साह बताउँछन् । ‘२ सय क्युसेक पानीले पर्सा जिल्लाका किसानको माग पनि थेग्दैन,’ उनले भने, ‘साता दिनभित्रै हामीलाई कम्तीमा ५ सय क्युसेक चाहिन्छ भनेर भारतीय पक्षसँग माग गरेका छौं । लिकेज मर्मत गरेर पर्याप्त पानी छोड्न भारतीय पक्षले थप ३/४ दिन लाग्ने भनेको छ ।’

नेपालतर्फ भने मुख्य नहर प्रणाली तथा सहायक प्रणालीहरुमा मर्मत सम्भारको काम सम्पन्न भई अब नहरमा पानीको प्रतिक्षा मात्र गरिएको साह बताउँछन् । नहरको मुख्य संरचनामा पर्सा, बारा र रौतहटमा गरी करिब २ दर्जन गेटको मर्मत सम्भार र परिवर्तनको काम सम्पन्न भएको उनले बताए । नहरमा बाराको जमुनीमा ४ वटा स्केप गेट परिवर्तन र रौतहटमा चेक गेट हेड रेगुलेटरको मर्मतको काम सम्पन्न भइसकेको उनले बताए ।

किसान संघ पर्साका अध्यक्ष असर्फी साह गण्डक नहरमा सम्झौता अवधिमा पानी नआउँदा पर्सा, बारा, रौतहटका किसानलाई मार पर्ने बताउँछन् । ‘नहरको पानीमा आश्रित किसानले सम्झौता अवधिमै नहरमा पानी आउने आसामा धानको बिरुवा तयार गरेका हुन्छन्,’ उनले भने, ‘अब नहरमै पानी ढिलो गरी आउने भएपछि किसानको रोपाइँ पनि ढिलो हुनेछ ।’

गण्डक व्यारेजको निर्माण भारतले आफैं गरेको र सञ्चालन पनि भारतीय पक्ष आफैंले गर्छ । उसले व्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लैजाने गरेको छ । सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिँचित गर्ने लक्ष्य भए पनि वर्षेनि कुनै न कुनै समस्या देखाउँदै भारतले सम्झौता अनुरुपको ८ सय ५० क्युसेक पानी नेपाललाई दिँदैन ।

नवलपरासीको भैंसालोटनस्थित नेपाल-भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी दूरी हुँदै यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किमी रहेको छ ।

प्रकाशित : असार १६, २०८० १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहेका जसपा नेपालका उपेन्द्र यादव महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आएका छन् । पटक-पटक एउटै व्यक्ति नेतृत्वमा रहिरहनुलाई के भन्नुहुन्छ ?