कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थमन्त्रीको योजना सञ्चालन गर्न ‘कर्मचारीलाई कठिनाइ’ 

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशका अर्थमन्त्री सञ्जय यादवले रकमान्तर गरी पठाएको योजना कार्यविधिअनुसार सञ्चालन गर्न द्विविधा, कठिनाइ भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहटले मन्त्रालयलाई जवाफ पठाएको छ ।  

अर्थमन्त्रीको योजना सञ्चालन गर्न ‘कर्मचारीलाई कठिनाइ’ 

आर्थिक मसान्तको अन्तिम समयमा मन्त्रालय र कार्यालयसँग सम्बन्धित नरहेको योजना रकमान्तर गरी पठाउँदा कार्यविधिअनुसार कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको वन तथा वातावरण मन्त्रालयका कर्मचारीले बताए । कर्मचारीका अनुसार पर्यटन मन्त्रालयबाट सञ्चालन हुने योजना अर्थमन्त्री यादवले वन मन्त्रालयअन्तर्गत रहेको भू तथा जलाधार कार्यालयमा बजेट रकमान्तर गरी आफनो निर्वाचन क्षेत्रमा काम गराउन खोजेको हो ।

असार ७ गते ४८ थप योजनाका लागि १० करोड ९० लाख रुपैयाँ प्राप्त भएपछि कर्मचारीहरूबीच छलफल गर्दा ४८ वटा योजनामध्ये ८ वटा योजना मात्रै भू तथा जलाधार कार्यक्रमसम्बन्धी रहेकोले ८ योजना कार्यादेश गरी सञ्चालन गर्ने निर्णय गरेको छ । तर, ४० योजना सञ्चालन गर्न जनशक्ति रहे पनि मन्त्रालयबाट स्वीकृत भएको कार्यविधिअनुसार कार्यक्रम सञ्चालन गर्न द्विविधा/कठिनाइ भएको हुनाले सहजताका लागि वन तथा वातावरण मन्त्रालयलाई कर्मचारी बैठकले अनुरोध गरेको छ ।

बाँके खोलामा नदी नियन्त्रण पर्सा–४, पोखरीघाट निर्माण तथा सौन्दर्यीकरण पर्सा–४, रामजानकी मठको पोखरी स्तरोन्नति तथा सौन्दर्यीकरण बसबरिया–६, नदी नियन्त्रण गौर लालबकैया रौतहट, मनुसमार तटबन्ध निर्माण रामनगर–६ सर्लाही, सार्वजनिक पोखरीको पक्कीघाट निर्माण गोडैता–६ बगदह, पोखरी स्तरोन्नति तथा सौन्दर्यीकरण चक्रघटा–८ र पोखरीको स्तरोन्नति पर्सा–४ सर्लाही गरी ८ योजना मात्रै कार्यान्वयन गर्न सक्ने र अन्य ४० योजना कार्यान्वयन गर्न कठिनाइ भएको कर्मचारी बैठकले निर्णय गरी मन्त्रालयमा पठाएको छ ।

भू तथा जलाधार कार्यालयमा थप पठाइएको ४८ योजनामा अर्थमन्त्री यादवकै निर्वाचन क्षेत्रका ३४ योजना छन् । सर्लाही निर्वाचन क्षेत्र २(२) मा पर्ने बरहथवा, बसबरिया, चक्रघट्टा र कविलासिमा मन्त्री यादवले मन्दिर, धर्मशाला, मस्जिद, महरानीजीको पर्खाल, ब्रह्मबाबाको पर्खाल, आश्रम, पार्क, पोखरी सौन्दर्यीकरण, अध्ययन भवनलगायतको टुक्रे योजनाका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहटमा ७ करोड ८० लाख रुपैयाँ रकमान्तर गरेका हुन् ।

सम्बन्धित समाचार

असारमा रकमान्तर, ४६ मध्ये ३४ योजना अर्थमन्त्रीकै क्षेत्रमा

प्रकाशित : असार १७, २०८० २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?