कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाकनेश्‍वरीकी उपमेयर यादवविरुद्ध किर्ते नागरिकताको आरोपमा मुद्दा

उपप्रमुख मिरा र उनका पति महेन्द्र भारतको बिहारस्थित सुपौल जिल्लाको निर्मली थाना अन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र उनीहरूले किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप
अवधेशकुमार झा

राजविराज — सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्र कुमार यादवविरुद्ध नागरिकता समबन्धी कसुरमा आइतबार अदालतमा मुद्दा दर्ता भएको छ ।

डाकनेश्‍वरीकी उपमेयर यादवविरुद्ध किर्ते नागरिकताको आरोपमा मुद्दा

उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेशपछि उपप्रमुख मिरा र उनका पति महेन्द्र विरुद्ध आइतबार जिल्ला अदालत सप्तरीमा नागरिकता समबन्धी कसुरमा मुद्दा दर्ता गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

डाकनेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उपप्रमुख मिरा दम्पती भारतीय नागरिक रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि उजुरी दिएका थिए ।

प्रहरीले मुद्दा नचलाएपछि उनी मुद्दा दर्ताको माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलास समक्ष उच्च अदालतबाट परमादेशका लागि गएका थिए । उच्च अदालतको राजविराज इजलासले मुद्दा दर्ता गर्न परमादेशको आदेश जारी गरेपछि उनीहरु विरुद्ध नागरिकता कसुरमा मुद्दा दर्ता गरिएको हो ।

‘आइतबार मुद्दा दर्ता भएको छ, केही प्रमाण जुटाइसकेपछि पक्राउ पुर्जीको प्रक्रिया अघि बढाउने प्रहरीको भनाइ छ,' निवेदक कृष्णकुमार यादवले भने ।

उपप्रमुख मिरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको निर्मली थाना अन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यादवले कारबाहीको माग गरेका थिए ।

सप्तरीको साविक औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिएको आरोप उपप्रमुख मिरा दम्पतीमाथि छ ।

प्रकाशित : असार १७, २०८० २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?