कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फर्जी कागजात पेस गरी पौने ३ करोड ऋण प्रवाह भएको घटनामा एक जना पक्राउ

अवधेश झा

राजविराज — सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकको शाखाबाट फर्जी कागजातका आधारमा २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको घटनामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

फर्जी कागजात पेस गरी पौने ३ करोड ऋण प्रवाह भएको घटनामा एक जना पक्राउ

अर्काको जग्गा आफ्नो रहेको भन्दै फर्जी लालपूर्जा, फर्जी रोक्का र फर्जी लिखतका आधारमा उक्त बैंकबाट राजविराज नगरपालिका ९ घर भएकी आसमा खातुन प्रोप्राइटर रहेको एएस ट्रेडर्स एन्ड सप्लायर्सका नाममा गत माघमा २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । आसमा खातुनका पति मो. सद्धामलाई सोमबार राजविराजबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

खातुन प्रोप्राइटर रहेको उक्त सप्लायर्सलाई बैंकले ऋण दिँदा उनकी सासु बसिरन खातुनका नाममा रहेको १० कट्ठा ५ धुर जग्गा धितोमा राखेको छ । तर‚ उक्त जग्गा बसिरनका नाममा नभई अर्कै व्यक्तिको रहेको पाइएको छ । आफ्नी बुहारीको ऋणका लागि बसिरन खातुनले सप्तरीको साविक प्रसवनी गाविस ९ गको कित्ता नम्बर २२१ को १० कट्ठा ५ धुर जग्गा धितोबापत दिएकी थिइन् । तर, उक्त जग्गा बसिरन खातुनको नभई रवीन्द्रकुमार यादवको नाममा दर्ता रहेको मालपोत कार्यालय सप्तरीले जनाएको छ ।

उक्त २२१ नम्बर कित्ताको जग्गा रवीन्द्रकुमार यादवको नाममा दर्ता रहेको र उनले तत्कालीन सिर्जना फाइनान्सबाट २० लाख रुपैयाँ ऋण लिँदा ०७४ साल चैत २८ देखि नै रोक्का छ ।

रवीन्द्रकुमार यादवका नाममा रहेको जग्गाको फर्जी लालपुर्जा बसिरन खातुनका नाममा र मालपोत कार्यालय नै नपुगी बाहिरै रोक्का कागज र लिखत बनाएर बैंकमा पेस गरी २ करोड ८० लाख ऋण निकालिएको थियो ।

पक्राउ गरिएका मो. सद्धामका साथी मो. समसादले आफ्नो एउटा जग्गा रहेको र उक्त जग्गा ‘तिम्री आमाको नाममा पास गराई बैंकमा राखेर ऋण लिई व्यापार व्यवसाय गर्ने’ योजना सुनाएका थिए । समसादको योजनामा सद्धामले सहमति जनाएपछि रवीन्द्रकुमार यादवका नाममा रहेको जग्गा फर्जी रूपमा सद्धामकी आमा बसिरन खातुनका नाममा सारिएको थियो ।

फर्जी रूपमा बसिरनका नाममा दर्ता गरिएको अर्काको जग्गा नै बैंकमा धितो राखी २ करोड ८० लाख ऋण स्वीकृत गराइएको छ । ऋणको रकम सद्धामकी श्रीमती आसमा खातुनको खातामा आएपछि समसादको खातामा र त्यसपछि अन्य विभिन्न व्यक्तिका खातामा सारिएको थियो ।

प्रकाशित : असार १८, २०८० १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?