पासवान हत्या आरोपीमाथि अनुसन्धान थालियो

लक्ष्मी साह

बारा — बाराको जीतपुर सिमरा उपमहानरपालिका २० बसडीलवा गोठ टोलका २५ वर्षीय दीपक पासवानको हत्या आरोपमा पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ । 

जेठ ३ गते हत्या गरिएका पासवानको शव ६ जेठमा भेटिएको थियो । उनको शव घरबाट पश्चिमतर्फ करिब ५ सय मिटरको दुरीमा रहेको कठोह खोला किनारमा बालुवाले पुरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उनको हत्या आरोपमा प्रहरीले छिमेकी २ जनालाई पक्राउ गरेको थियो । जेठ ८ गते पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर जिल्ला प्रहरी कार्यालय कलैयाको हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवैले पासवानको हत्यामा आफूहरु संलग्न रहेको स्वीकार गरिसकेका छन् ।

‘प्रहरी प्रतिवेदनको आधारमा घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको छ,’ ती प्रहरी अधिकृतले भने, ‘अनुसन्धानबाट संलग्नहरुको पहिचान भएपछि पीडितको तर्फबाट किटानी जाहेरी दर्ता भइ कानुनी प्रक्रिया अगाडि बढाइन्छ । कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ ।’

मृतकका आमा सुनैनादेवीले प्रहरीले किटानी जाहेरी नलिएको बताइन् । ‘घटनामा २ जनामात्र संलग्न छैन्, अरु अरु पनि छ,’ उनले भनिन्, ‘हामीलाई इन्साफ चाहिएको छ ।’ छोरा दीपकलाई घरकै अगाडि उनीहरुले झै-झगडा गरी हत्या गरेर फालेको उनको दाबी छ ।


प्रकाशित : जेष्ठ १४, २०७९ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?