कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

लोकगायक एलपी जोशीको निधन

धनकुटा — ख्यातिप्राप्त लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को ८८ वर्षको उमेरमा निधन भएको छ । विर्तामोढस्थित अस्पताल लैजाँदै गर्दा जोशीको बिहीबार साँझ झापामा निधन भएको परिवार स्रोतले जनाएको छ ।

लोकगायक एलपी जोशीको निधन

वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका थिए । बेलुकी परिवारसँग खाना खाएका जोशी सामान्य अवस्थामा रहेकोमा अकस्मात बिरामी परेर निधन भएको जनाइएको छ । उनका निकट रहेका कवि धनकुटे कान्छाका अनुसार झापाको दमकस्थित घरमा रहेका जोशी बेलुकीको खाना खाएपछि अकस्मात बेहोस भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 'बिहान १० बजे मलाई टेलिफोन गरेर बोलाउनु भयो,' धनकुटे कान्छाले भने, 'म आउन पाइनँ, तर उहाँले सामान्य रुपमा कुराकानी गर्नुभयो ।'

७ जना दाजुभाइका छैटौं सन्तानका रुपमा रहेका जोशीका ५ दिदीबहिनी रहेको उनका कान्छा भाइ नारायण जोशीले बताए । बाल्यकालदेखि नै गीतसंगीत र फूटबल खेलका शौखिन उनी जीवनपर्यन्त लोकगायनमा रहेका थिए । 'संस्कृतिको लागि देशमा योगदान गर्नुभयो,' भाइ नारायणले भने, 'डेढ महिना पहिले भारतको इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो ।' उनी गत महिना राष्ट्रपतिबाट सम्मानित भएका थिए । लोकगीत सम्राटको उपाधिसमेत पाएको नारायणले सुनाए ।

परिवार स्रोतका अनुसार सुगरको नियमित औषधि खानेबाहेक जोशीको अन्य स्वास्थ्य समस्या थिएन । जोशीका रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अझै पनि सर्वसाधारणले गुनगुनाउने गर्छन् । उनले २०१३ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको उक्त गीतले त्यसताका राम्रै जमेको जोशीले केही समय अगाडिको भेटमा सुनाएका थिए ।

२०२० साल पहिल्यै अधिकांश गीत रेकर्ड भएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतले एकछत्र राज गरेको थियो । २०११ सालदेखि थापासँग नजिकिएका उनी गाउॅ बस्तीका मौलिक गीतको खोजीमा जुट्दै हिँडे । त्यसै मेसोमा रिटिङ रिटिङ...बोलको गीत संकलन गरियो । २०५३ सालमा आइपुग्दासम्म म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकालेका थिए ।

उनैले गाएको अर्को लोकप्रिय ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो भनेर...’ बोलको गीतले धेरैको मन जितेको थियो । २०१९ सालमा तत्कालीन राजा महेन्द्रलाई उनले गीत सुनाएका थिए । जोशी हार्मोनियम र तबला बजाउन निपूर्ण थिए । गृहजिल्ला धनकुटामा आफ्ना समकक्षी गायक तथा सांस्कृतिककर्मीको अभाव भएपछि भौतारिंदै कहिले चितवन त कहिले राजधानीतिर लागे । तर मन बहलाउन सकेनन् । अन्त्यमा झापा झरेका जोशी दमकलाई कर्मथलो बनाउॅदै गीत/संगीत साधनामा तल्लिन थिए ।

जोशीको दाहसंस्कार झापाको कन्काइ माइमा शुक्रबार ११ बजे गरिने जनाइएको छ । उनी छोरा मिलन र परिवारका सदस्यका साथ दमकमा रहेका थिए ।

प्रकाशित : श्रावण १०, २०८१ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×