कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

उपचार गराउन नसक्दा खोरमा थुनिएकी फुर्दिकु

डम्बरसिं राई

नुनथला (खोटाङ) — आर्थिक अभावले उपचार गराउन नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीकी २९ वर्षीया फुर्दिकु शेर्पा एक महिनादेखि खोरमा थुनिएकी छिन् । उनको मानसिक सन्तुलन असामान्य छ । सुविधासम्पन्न अस्पतालमा उपचार गराउँदा निको हुन सक्ने भनिएको छ । तर आर्थिक अभावका कारण उपचार गराउन नसक्दा परिवारले उनलाई बन्दी बनाएर राखेको छ ।

उपचार गराउन नसक्दा खोरमा थुनिएकी फुर्दिकु


मान्छे देख्नासाथ आक्रमण गर्ने, अपशब्द बोल्ने, घर छाडेर हिँड्ने गरेपछि खोरमा थुन्नुपरेको उनका ६५ वर्षीय बाबु पेमाक्षेतर शेर्पाले बताए । फुर्दिकुको माघ ३ गतेदेखि मानसिक सन्तुलन गुमेपछि माघ १६ गतेदेखि खोरमा थुनिएको हो ।

‘आफ्नो सन्तान हो, मायाा त जत्तिको होला नि, नथुनी हुँदै भएन,’ उनले भने, ‘अरुलाई आक्रमण गर्ने, गालीबेइजत बोल्ने, घर छाडेर हिड्ने भई, ज्यानै जान्छ कि भन्ने डर, नथुनेर के गर्नु ।’

फुर्दिकुलाई २०६७ सालदेखि नै यो रोगले छोएको पेमाक्षेतरले बताए । एसएलसी परीक्षाका लागि तयारी हुँदै गर्दा उनलाई यो रोगले छोएको पेमाक्षेतरको भनाइ छ ।

‘कोरोना महामारीको बेला पनि यस्तै भएको थियो, त्यत्तिखेर पाटन हस्पिटल लगेर ४५ दिन उपचार गरेपछि सन्चो भएको थियो,’ उनले भने, ‘तर अहिले उपचार गर्ने पैसा छैन, उसको उपचारमा भएभरको जग्गा कृषि बैंकमा राखेर थुप्रो खर्च गरियो, ठिक भएन ।’

फुर्दिकुलाई आँगनमा खोर बनाएर थुनिएको छ । भुइँमा न्यानो हुने गरी कपडा बिच्याइएको छ भने न्यानो सिरक दिइएको छ । खाना, खाजा, शौच सबै खोरमै गर्ने गरेको बाबु पेमाक्षेतरले सुनाए । फुर्दिकु दिनभर बेचेतमा गीत गाइरहन्छिन् । पेमाक्षेतरका दुई भाइ छोरा, तीन बहिनी छोरीमध्ये उनी परिवारको ठूली छोरी हुन् । छोरीको यो अवस्थापछि घरपरिवार पीडामा डुबेको छ ।

पछिल्लो समय फुर्दिकुको श्रीमान बितेको करिब साढे तीन वर्षपछि बेथा बल्झिएको ६२ वर्षीया आमा निम्ले शेर्पाले बताइन् । उनको भोजपुर टेम्केमैयु गाउँपालिकाका छिनामखुका दाजाङ शेर्पासंग २०७२ सालमा बिबाह भएको थियो ।

श्रीमानको मुटुरोगका कारण उपचार गर्दा गर्दै निधन भएको र वर्ष दिने सकिनेसाथ फुर्दिकुको बिराम बल्झिएको निम्लेले सुनाइन् । ‘छोरीको यो अवस्था छ’, छोरीले गीत गाएको हेर्दै भक्कानिदै भनिन्, ‘हाम्रो अवस्था कसले बुझिदेला र ।’

फुर्दिकुको ६ वर्षीय छोरा संगम छन् । उनी हुर्लुङस्थित जनकल्याण प्राविमा कक्षा-३ मा पढ्छन् । कहिलेकाँही छोरीले अचेतमा नातिलाई कुटपिट गर्ने गरेको पेमाक्षेतरले सनाए । ‘अस्ती एक दिन त आमाले कुटेर झण्डै नातिको ज्यान लियो, ’ उनले भने, ‘धन्न थाहा पाएर बच्यो ।’

पेमाक्षेतरले छोरीको उपचारका लागि स्थानीय सरकारसंग दीर्घकालीन सहयोगको याचना गरेका छन् । ‘यो रोग छोरीको जुनीभरिको हो, हाम्रो सरकारले पछिसम्मलाई सहयोग गर्छ कि भन्ने लागेको छ,’ उनले भने, ‘सरकारले चाह्यो भने गर्न पनि सक्छ, तर मनदेखि नै सहयोगको भावना हुनु पर्‍यो ।’

प्रकाशित : फाल्गुन १२, २०८० १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×