कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘कम्पनी हारमाला’ सिक्दै बालबालिका 

धनकुटा — बालबालिकाहरु चाँदीका सिक्का धागोमा उनेर माला बनाइरहेका छन् । गोलो घेरामा बसेका सहभागीहरु उत्साहित छन् । बीचमा रहेकी प्रशिक्षक एकपछि अर्को गर्दै माला बनाउन सिकाइरहेकी छिन् । यो दृश्य धनकुटामा मात्र बसोबास गर्ने अल्पसंख्यक आठपहरिया जातिको गहना ‘कम्पनी हारमाला’ बनाउने तालिमको हो । आठपहरिया जातिको लोपोन्मुख सांस्कृतिक ‘कम्पनी हारमाला’ बनाउने सीप पुस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको हो ।

‘कम्पनी हारमाला’ सिक्दै बालबालिका 

हाम्रो बहुमुखी पाठशाला धनकुटाले शुक्रबारदेखि आयोजना गरेको तालिममा विभिन्न विद्यालयका १८ छात्रछात्रा सहभागी छन् । सहभागी मध्येकी खुसी श्रेष्ठले पहिलो पटक सीपमुलक तालिम लिएको बताइन् ।

उनीसँगै रहेका रोहित आठपहरियाले आफ्नै जातिको गहना बनाउने तालिम लिन पाएकोमा खुसी व्यक्त गरे । 'आमाले यस्तो गहना लगाएको देखेको थिएँ,' उनले भने, 'तर कसरी बनाइन्छ भन्ने पहिलो पटक सिक्न पाएँ ।'

सहभागी मध्येकी मेलिना भुजेलले पनि फरक समुदायको गहना भएपनि आफूले सिकेर भविष्यमा व्यवसायिक रुपमा माला बनाउने बताइन् ।आठपहरिया जातिले मेख्ली, सीम पहिरन र गहनासँगै कम्पनी हारमाला लगाउने तालिमका प्रशिक्षक चन्द्रकुमारी आठपहरियाले बताइन् । पछिल्लो समय आयातित संस्कृतिले मौलिकता ओझेलमा पर्न सक्ने भन्दै तालिम सञ्चालन गरिएको पाठशालाका अध्यक्ष सरोज भुजेलले बताए ।

उक्त तालिमको धनकुटा नगरपालिकाका मेयर अध्यक्ष चिन्तन तामाङले उद्घाटन गरे । उनले तालिमबाट संस्कृति र सीपको प्रवर्द्धन भएको बताए ।जिल्लामा कम्पनी हारमाला बनाउने तालिम पहिलो पटक आयोजन गरिएको छ । किरात जातिमा छोरीको जन्म हुँदा न्वारनमा हारीमाला दिइने चलन रहेको प्रशिक्षक आठपहरियाले बताइन् ।

विगतमा बेलायतमा प्रयोग हुने सिक्काको माला बनाइने भएकोले कम्पनी हारमाला भनिने उनको भनाइ छ । कम्तिमा ५० वटा सिक्काबाट एउटामा माला बन्ने गर्छ । विगतमा वास्तविक चाँदीको सिक्काबाट माला बनाइए पनि पछिल्लो समय चाँदीको जलप लगाइने आठपहरियाले बताइन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले यस्ता तालिमबाट सीपमुलक व्यवशाय सञ्चालन गर्न सकिने बताए । पाठशालाका सीपमुलक विभागका प्रमुख शोभा श्रेष्ठले विगतमा दुना टपरी लगायत विभिन्न लोपोन्मुख अवस्थाका तालिम समेत सञ्चालन गर्दै आएको बताइन् ।बजारमा १० देखि १२ हजार मुल्यका कम्पनी हारमाला पाइन्छ । बढीमा एक हजार रुपैयाँ लगानी गर्दा माला तयार हुने भएकोले व्यवसायिक रुपमा उत्पादन गर्न सकिने आयोजकले जनायो ।

प्रकाशित : फाल्गुन ११, २०८० १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×