कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

करिब दुई करोड नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

अर्जुन सुवेदी

सुनसरी — सुनसरी प्रहरीले ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित पक्राउ परेका एक भारतीय नागरिकलाई सार्वजनिक गरेको छ ।

करिब दुई करोड नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

प्रहरीले आइतबार बिहान भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला पारेको थियो । फेला पारेको नोट सबै एक हजार दरको रहेको प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार सुपौलस्थित बिरपुर बस्ने २२ बर्षीय छोटु भनिने महम्मद शैयाद रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक बिपिन रेग्मीले बताए ।

शैयादले चलाएर ल्याएको बीआरआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कारपियो गाडीलाई इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुल नजिक चेकजांचको क्रममा नक्कली नोट बरामद भएको हो । भारतीय नम्बरको उक्त गाडी भण्टावारी नाकाहुदै पूर्वतर्फ आइरहेको र गाडीको आजसम्म भन्सार पास रहेको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिए ।

नक्कली नोट सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको रेग्मीले बताए । भारतीय सीमावर्ती क्षेत्रका जिल्लाहरुमा ठुलो परिमाणमा नक्कली नेपाली नोट फेला पर्नेक्रम बढेको भन्दै कारोबार गर्ने ठुलो गिरोहनै सक्रिय रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

सुनसरी प्रहरीले गत अशोज ५ गते पनि इटहरीबाट १५ लाख रुपैयाँ भन्दा बढीको नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा संखुवासभा पांचखपन नगरपालिका-५ का बिबेक राई र संखुवासभा मकालु गाउपालिका-६ बस्ने अजय राई रहेका थिए ।

उनीहरुको साथबाट एक हजार दरका १५ लाख ८७ हजार रुपैया नक्कली नोट बरामद गरेपनि मुख्य गिरोहसम्म प्रहरी अझै पुग्न सकेको छैन ।

प्रकाशित : माघ २९, २०८० १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×