११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जनताले स्वीकार्न नसकेको जनयुद्ध

पाठक पत्र

२०५२ फागनु १ मा जनयुद्ध सुरु गरेको माओवादीले त्यसयता हरेक वर्ष फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसै दिनमा सार्वजानिक बिदा दिने निर्णयसमेत गराएका थिए । गठबन्धन सरकारको निर्णय भए पनि यसको चौतर्फी विरोध भयो । अन्ततः उनी नेतृत्वको सरकारले गरेको यो निर्णय अदालतले नै खारेज गरिदियो । माओवादीले यस दिनलाई उत्सव र महत्त्वका साथ लिने गरेको छ ।

जनताले स्वीकार्न नसकेको जनयुद्ध

तत्कालीन माओवादीसँग जोडिएका र माओवादीबाहेकका अन्य राजनीतिक दल तथा सर्वसाधारणलाई यो दिन फेरि उसैगरी कालो दिनजस्तो लाग्ने गरेको छ । जुन उद्देश्यका साथ माओवादीले जनयुद्ध सुरुवात गरेको थियो, त्यो उद्देश्य पूरा हुन/गर्न सकेको भए आज सिंगो नेपालले यस दिनलाई माओवादीले जस्तै गरी राष्ट्रिय दिवसका रूपमा मनाउन सक्ने वातावरण सिर्जना हुन सक्थ्यो ।

देशमा गणतन्त्र आउनुमा माओवादीको मुख्य भूमिका रहेकामा दुई मत नहोला । माओवादीले युद्ध नै नगरेको भए आजको अवस्थासम्म देश आइपुग्ने थिएन । उता ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा नलिएको भए पनि देशमा गणतन्त्र आउनेमा शंका हुन्थ्यो । किनकि तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भनेर बर्खास्त गरी राजकीय सत्ता हातमा लिएदेखि नै संसदीय दलहरू राजाविरुद्ध एकजुट भएका हुन् ।

तत्कालीन विद्रोही माओवादी र अन्य सात राजनीतिक दल पनि एक ठाउँमा उभिएर राजसंस्था फाल्ने वातावरण बन्यो । लामो समयसम्मको हिंसात्मक राजनीतिपछि संसदीय अभ्यासमा आएको माओवादीलाई पहिलोपटक जनताले अत्यधिक रुचाए तर जनताको त्यो रुचाइलाई माओवादीले जोगाइराख्न सकेन । संविधानसभा, गणतन्त्रलगायतका राजनीतिक मुद्दामा अन्य दललाई माओवादी आफ्नो बसमा पार्न सफल भएकै हो ।

थोरै खुशीमा पनि धेरै हौसिने र आफ्नो धरातल नै बिर्सने माओवादी नेतृत्वको शैलीले गर्दा दिनानुदिन पार्टी क्षयीकरण हुँदै गयो । जनयुद्ध सुरु गर्दाको पार्टी विभिन्न टुक्रामा विभाजित हुन पुग्यो । एमालेसँगको एकीकरण क्षणिकमा सीमित रह्यो । सत्ताको चास्नीमा माओवादी पुराना दलभन्दा अझै बढी लोभियो र ऊ निरन्तर त्यसैमा केन्द्रित भइरह्यो । सत्तासँगै माओवादीले जनयुद्ध सुरुवातीका मुख्य एजेन्डालाई छाड्दै आयो । यहाँसम्म आइपुग्दा माओवादी पनि अन्य पुरातन राजनीतिक दलकै पछिपछि हिँड्ने एउटा पार्टीका रूपमा स्थापित हुँदै गयो ।

माओवादी नेतृत्वको विभिन्न अक्कल र चतुर्‍याइँले अहिले तेस्रो दल हुँदा पनि सत्ताको नेतृत्व गर्न पाएको भए पनि भित्रभित्रै पार्टी पराजयको डिलतिरै उन्मुख छ । अहिलेको माओवादीमा न त जनयुद्धको कुनै कण भेटिन्छ न त उसले आफ्नै त्याग र अठोटले बदलिएको परिस्थितिमा नै आफूलाई रूपान्तरण गरेर जनताको मत जित्न सक्यो ।

माओवादीले जनतालाई देखाएको आशा र विश्वास पूरा गर्न सकेको हुन्थ्यो भने आज माओवादी स्थापित र सफल राजनीतिक दलको रूपमा दर्ज हुने थियो । उसले गरेको दसवर्षे जनयुद्धको सार्थक परिणाम देखिने थियो ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : फाल्गुन १, २०८० ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?