कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

कमरेड केपीलाई पानवीरको सम्झनापत्र 

तपाईं कार्यकारी प्रमुख हुने पार्टी निर्माण र राजनीतिक व्यवस्था स्थापनामा श्रमजीवी, मजदुर, किसान र दलित र सीमान्तीकृत समुदायको निकै ठूलो योगदान छ । उनीहरूमाथि घातको राजनीति नगर्न सुझाव दिन चाहन्छु ।
जेबी विश्वकर्मा

पानवीर विश्वकर्मा, सिरहा जिल्लाका क्रान्तिकारी कम्युनिस्ट नेता । २००२ सालमा जन्मिएका पानवीरले सानैदेखि सामन्तको शोषण र दमन प्रत्यक्ष देखे, भोगे । त्यतिबेला गाउँमा सामन्तको राज थियो । उनीहरू सोझा जनतामाथि चरम शोषण र दमन गर्थे । शक्तिको आडमा गरिबमाथि लुटपाट, कुटपिट र धम्की मात्रै होइन, गरिब, दलित र सीमान्तीकृत समुदायका महिला र बालिकामाथि चरम हिंसा र अत्याचार हुन्थ्यो ।

कमरेड केपीलाई पानवीरको सम्झनापत्र 

तर, सामन्ती अत्याचारविरुद्ध बोल्न पाइँदैनथ्यो । कम्युनिस्ट क्रान्तिकारी पार्टीले मात्रै यस्तो व्यवस्था ढाल्न सक्छ र नयाँ समानता र न्यायमा आधारित नयाँ जनवादी व्यवस्था स्थापना गर्न सक्छ भनेर नै पानवीर १६/१७ वर्षे उमेरमै कम्युनिस्ट पार्टीमा आबद्ध भएर भूमिगत जीवन सुरु गरे ।

झापा विद्रोहमा जोडिएर सामन्तको सफाया अभियान अघि बढाए । पार्टीकै योजनाअनुरूप २०३२ मा सिरहामा ‘डोटेल काण्ड’ भयो । गाउँका नोकरशाही सुदखोर माधव डोटेलको सफायाको आरोपमा २०३३ मा पक्राउ परेका पानवीरले १४ वर्ष जेल सजाय काट्नुपर्‍यो । त्यस्तै, केपी शर्मा ओली पनि २०३० मा पक्राउ परेका थिए । उनले पनि १४ वर्ष जेलजीवन बिताएका थिए ।

नख्खु कारागार र गोलघरमा ओलीलगायत राजबन्दीसँग धेरै समय बिताएका पानवीर राजनीतिको केन्द्रीय रंगमञ्चमा कतै नदेखिएरै २०६६ मा धर्तीबाट बिदा भए । तर, सोही झापा विद्रोहका एक नेता ओली भने चौथो पटक कार्यकारी प्रधानमन्त्री बनेका छन् । जसरी एउटा क्रान्तिकारी र त्यागी नेता पानवीर संसारबाट बिलाए, सायद उनी ओलीजनको मानसपटलबाट समेत बिलाइसके होलान् । तथापि भौतिक संसारबाट बिदा लिइसकेका पानवीरको ओली सम्झना यस्तो हुन पुगेको छ :

संघर्षमा भेट : उस्तै जेल जीवन

कमरेड केपी ओली, तपाईंसँगको भेट भीषण वर्ग संघर्षले गरायो । छिमेकी भारतमा चलेको नक्सालबारी आन्दोलन, जहाँ चारु मजुमदारले भू–सामन्त र सुदखोरको सफाया अभियान चलाइरहेका थिए । नेपाली समाजमा पनि त्यस्तै चरम सामन्त, सुदखोर र नोकरशाही शासनको जगजगी थियो । तिनले न्याय र समानताको आवाज उठाउनेमाथि राज्यले व्यापक दमन र धरपकड गरेको थियो । यद्यपि, त्यस्तो संगीन परिस्थितिमा हामीसँग लड्नुको विकल्प थिएन ।

झापाका द्रोणाचार्य क्षेत्री, राधाकृष्ण मैनाली, रामनाथ दाहाल, वीरेन राजवंशी, छविलाल राजवंशी सँगसँगै हामी विद्रोहको पक्षमा उभिएका थियौं । एउटा प्रतिबद्ध क्रान्तिकारी कार्यकर्ता हुनुको नाताले मैले (पानवीर) आफूलाई विद्रोहका पक्षमा दृढतापूर्वक उभ्याएँ । तपाईं, त्यतिबेला सशस्त्र विद्रोहभन्दा शान्तिपूर्ण संघर्षको पक्षधर हुनुहुन्थ्यो । तर, क्रान्तिलाई नै सबथोक ठानेर विद्रोहमा होमिएका कारण तपाईंसँग प्रत्यक्ष/अप्रत्यक्ष भेट भयो नै । झापा विद्रोहका बेला नेतृत्वसँग जनवादी क्रान्तिको स्पष्ट दृष्टिकोण, रणनीति र योजना बनिसकेको थिएन । तथापि, हामीमा मुलुक बदल्ने क्रान्तिमा संलग्न हुने तीव्र उत्साह थियो । राज्य जति दमनमा उत्रिन्थ्यो, हामी थप ऊर्जासहित संघर्षमा सामेल हुन्थ्यौं ।

२०२९ मा झापा विद्रोहका नेता रामनाथ दाहाललगायत पाँच जनालाई सुखानीको जंगलमा गोली हानेर राज्यले हत्या गर्‍यो । सुखानी हत्याकाण्डमार्फत राज्य हामीलाई आत्मसमर्पण गराउन चाहन्थ्यो । तर, हामी डटेर विद्रोहमा लागिरह्यौं । यस्तै संघर्षको एउटा उदाहरण थियो सिरहाको डोटेल संघर्ष । गाउँका खुनी सामन्त माधव डोटेलको दमनको जगजगी थियो । त्यसैले पार्टीको निर्णयबमोजिम उनको सफाया गरिएको थियो । त्यही काण्डमा आरोपित भएका कारण २०३३ मा पक्राउ गरी सिरहा, राजविराज हुँदै काठमाडौंको नख्खु र केन्द्रीय कारागारमा पुर्‍याइयो ।

२०३० मा पक्राउ परेपछि तपाईं पनि रौतहट, वीरगन्ज हुँदै काठमाडौंको नख्खु र केन्द्रीय कारागारमा पुग्नुभयो । क्रान्तिमा उत्तिकै भुक्तमानी, यातना, जेलनेल हुँदै १४ वर्षे जेल जीवन बिताउँदाका हाम्रा अनुभव उस्तैउस्तै छन् । ओली कमरेड, बिर्सने चेष्टा गर्नुभएको छैन भने सायद तपाईंलाई मेरा कष्टकर दिनको पनि याद होला । हुन त त्यतिबेलाका सामन्तविरोधी पुँजीपति भइसके । सैद्धान्तिक रूपमा तपाईंमा पनि कम्युनिस्ट चरित्र कति नै बाँकी होला र ? गरिब, दलित, महिला र श्रमजीवीको मुक्तिलाई तिलाञ्जली दिएपछि मजस्तो सामान्य कार्यकर्ता तपाईंको स्मरणमा कसरी रहेको हुँला र ?

सत्ताको सिंहासन

सर्वप्रथमतः कमरेड केपी ओलीलाई बधाई छ । २०४४ मा भद्रगोल जेलबाट छुटेपछि तपाईंले पार्टीसत्ता र राज्यसत्तालाई छोड्नुभएको छैन । २०५१ मा शक्तिशाली गृहमन्त्री हुनुभयो, २०६३ मा उपप्रधान र परराष्ट्रमन्त्री । प्रधानमन्त्री नै भएको पनि यो चौथो पटक हो । २०७१ देखि निरन्तर पार्टी अध्यक्षमा विराजमान हुनुहुन्छ । तर तपाईं आफैं र तपाईंको नेतृत्वमा रहेको पार्टी वास्तवमै कम्युनिस्ट पार्टी रह्यो कि रहेन ? कम्युनिस्ट पार्टीको आधारभूत सिद्धान्त र सूचकमा राखेर हेर्नुभएको होला ।

विचार, सिद्धान्त र व्यवहारबीचको अन्तरविरोधको समीक्षा गर्नुभएकै होला । अनुमान गर्न सकिन्छ, तपाईंलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्दा कति धेरै आत्मग्लानि हुन्छ होला किनकि वास्तवमै पार्टीले मार्क्सवाद, लेनिनवादको बर्को ओढेको मात्रै छ । नेपालमा सर्वहारा वर्ग नै छैन, त्यसैले वर्ग संघर्षलाई तिलाञ्जली दिइसक्नुभएको छ । पार्टीका लाखौं कार्यकर्ता श्रम गर्दैनन्, किनकि सायद आधुनिक कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ताले गर्नु हुँदैन । नेता/कार्यकर्ताको सत्ता–शक्तिसँगको सेटिङ, कमिसन र बिचौलिया बनेर

देशको दोहन गर्न सक्ने हैसियत भएपछि कसका लागि संघर्ष गर्ने ? यदि पार्टीले आमूल परिवर्तनका लागि संघर्ष गर्थ्यो भने पानवीरजस्ता उत्पीडित, ऐतिहासिक शोषण, दमन र उत्पीडनमा पारिएका समुदायका लागि गर्थ्यो । तर, पार्टीले आधारभूत वर्गको मुक्तिको बाटो नै छोडेपछि हाम्रा लागि तपाईंजस्तो नेतृत्वले के नै गर्नुपर्‍यो र ?

सुखको दम्भले दुःख र संघर्षको पाइला मेट्दै जान्छ भन्छन्, सायद सत्ताको सिंहासनमा सयर हुन थालेपछि तपाईंमा पनि यस्तै भएको होला । त्यसैले तपाईंको मस्तिष्कमा झापा विद्रोहदेखि देशैभरि कम्युनिस्टले गरेका विद्रोह र ती आन्दोलनमा योगदान गर्ने धेरैको नाम सम्झना छैन । तिनैमध्ये एक हो, पानवीर विश्वकर्मा । कम्युनिस्टले वास्तवमै वर्गीय मुक्तिका साथसाथै जात व्यवस्थाको दलदलबाट लाखौं दलितलाई मुक्ति दिन्छ भन्ने दृढ विश्वास ममा थियो । जातिवादी राज्यसत्ताले हाम्रा पुस्ता–दरपुस्तामाथि चरम विभेद, अत्याचार, शोषण र दमन गरेकाले मुक्तिका खातिर विद्रोहमा सामेल भएको थिएँ । तपाईंजस्ता नेतृत्व र पार्टीमाथि विश्वास गरेर मृत्युपर्यन्त तपाईंकै पार्टीप्रति समर्पित भएँ ।

कठिन समयमा उत्पीडित वर्गको मुक्तिको अपेक्षासहित १४ वर्ष सँगसँगै जेल बसेको मलाई त बिर्सने तपाईंले भूमिहीन बनाइएका, शोषण र दमनले उठ्नै नसक्ने गरी सताइएका मेरो समुदायलाई सम्झने कुरै भएन । त्यसैले त तपाईं कार्यकारी प्रधानमन्त्री हुँदा तपाईंको मन्त्रिपरिषद् दलितविहीन हुन्छ । पार्टीकै दलित नेता/कार्यकर्ता बालुवाटार र बालकोटमा निषेधजस्तै हुन्छ । तपाईंबाट दलित नेता/कार्यकर्ताले हौसला होइन, अपमानको व्यवहार खप्नुपर्छ । मनुस्मृति र जातिवादको चस्माबाट दलितलाई कहिल्यै सक्षम नेता देखिँदैन, केबल कज्याउने दास मात्रै देखिन्छ । तपाईंको आँखाको चस्माले कस्तो देख्छ, परिणामले देखाइरहेको छ । रुकुममा नवराज विश्वकर्मासहित ६ जना युवाको अन्तरजातीय प्रेम सम्बन्धकै कारण नरसंहार भयो तर तपाईं न्यायका पक्षमा बोल्नु भएन । झापामै जात व्यवस्थाका कारण कति दलितले अहिले पनि विभेद र हिंसाको

सामना गरिरहनुपरेको छ, तपाईंलाई यस्ता आधारभूत वर्गका समस्याजस्ता लाग्दैनन् किनकि तपाईंको राजनीति अब उत्पीडित वर्ग र समुदायका लागि रहेन । झापा विद्रोहका तपाईंकै सहयोद्धा डिकेन्द्र राजवंशीले नेकपा (एमाले) को तत्कालीन मुख्यालय बल्खुमा आत्महत्या गर्नुभयो । तपाईंजस्ता नेतृत्व र पार्टीको अवहेलनाकै कारण उहाँले पार्टी कार्यालयमा आत्महत्या गर्नुपरेको थियो । कमरेड ओली माफ गर्नुहोला, पानवीरले आफूमाथि अवहेलना भयो भनेर आत्महत्या गर्न सकेन । विद्रोह, जेलनेल भोगेर आएको एउटा क्रान्तिकारी न त कायर भएर आत्महत्या गर्न सक्दोरहेछ, न त तपाईंजस्ता नेतासँग अवसरको भिख माग्न नै ।

कमरेड, मलाई मेरो इमानदारिताले आत्मसम्मान बेच्न र भक्तिगान गाउन दिएन, म यसैमा खुसी भएँ । त्यसैले त म तपाईंको पार्टीको सिरहा जिल्ला कमिटीभन्दा माथि उक्लिन सकिनँ । भिखझैं छोराछोरीका लागि जागिर मागिनँ । बरु, उनीहरूले विदेशीभूमिमा पसिना बगाउँदा आत्मगौरव महसुस गरें । कमरेड, यो पानवीरको मात्रै कथा होइन, तपाईं पार्टीको अध्यक्ष बन्न र प्रधानमन्त्रीको भर्‍याङ चढ्न मजस्ता धेरै दलितको छातीमा टेक्नुभएको छ । हाम्रो छाती फुटेको छ, रक्ताम्य भएका छौं, तर तपाईं जसको छातीमा टेकेर उभिनुभएको छ, उनीहरूमाथि कति राजनीतिक बेइमानी गरिएको छ, समीक्षा गर्नुहोला । कृपया, मजस्ता दलित र सीमान्तीकृत समुदायको रगत र पसिनामाथि खेलबाड र अवमूल्यन नगर्नुहोला ।

संघर्षप्रतिको गर्व

कमरेड ओली, तपाईं पार्टीसत्ता र राज्यसत्ताको केन्द्रमा हुनुहुन्छ, यसमा मलाई न त गर्व छ, न त दुःख नै । तपाईं नेतृत्वको पार्टीले गरिब, श्रमजीवी र उत्पीडित वर्ग, लिंग र समुदायको मुक्तिको वैचारिकीलाई तिलाञ्जली दिइसक्यो । तर, म बाँचुञ्जेल कम्युनिस्ट विचार, आदर्श र सिद्धान्तबाट बिचलित भइनँ ।

आफ्नो वर्ग र समुदायको अपेक्षामाथि घात गरिनँ । धेरै गर्न त सकिनँ किनकि न त पानवीर पार्टी सत्तामा थियो, न त राज्यसत्तामा नै । तर देश र जनताविरुद्ध कुनै काम गरिनँ । म त्यो समुदायको प्रतिनिधि हुँ, जसले राजनीतिक व्यवस्था परिवर्तन र देश निर्माणमा सारा योगदान गरेको छ तर अहिलेसम्म राष्ट्रघात गरेको छैन । देशलाई राजनीतिक रूपमा अस्थिर बनाउन, आर्थिक रूपमा संकटग्रस्त बनाउन र भ्रष्टहरूको अखडा बनाउन पानवीर र उनको समुदायको कुनै भूमिका छैन । यसको अर्थ स्पष्ट हो, तपाईंकै वर्ग, लिंग र समुदायले मात्रै नेतृत्व गरेको पार्टी, राज्यसत्ता, कर्मचारी संयन्त्र यो देशको यस्तो हालत बनाउनमा मुख्य जिम्मेवार छ ।

हुन त गणतन्त्र पक्षमा आन्दोलन उर्लिंदा तपाईं ‘गणतन्त्र आउनु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो’ भन्नुहुन्थ्यो । जनताको आन्दोलनले संघीयतासहितको गणतान्त्रिक व्यवस्था ल्यायो र तपाईं पनि पटक–पटक प्रधानमन्त्री हुनुभयो । संघीयता शासन व्यवस्थाको पक्षमा तपाईं दृढतापूर्वक कहिल्यै उभिनुभएको थिएन, तर माओवादी, मधेशी, आदिवासी जनजाति र उत्पीडित समुदायको आन्दोलनले संघीयता ल्यायो । समावेशिता तपाईंका लागि काउसोजस्तै भएको छ ।

तपाईं समावेशी शासन चाहनु हुन्न, त्यो तपाईंको भाषण र व्यवहारले बारम्बार पुष्टि गरिसकेको छ, तर तपाईंले समावेशीकरण खारेज गर्न सक्नु हुन्न । तपाईंहरूले नचाहँदा–नचाहँदै पनि राज्यको पुनःसंरचना र समावेशी शासन व्यवस्थाका पक्षमा उत्पीडित समुदायको पक्षमा मैले आफूलाई उभ्याएँ, त्यसमा मलाई गर्व छ । कमरेड ओली, जीवित हुँदा मैले यति विषय तपाईंसमक्ष राख्न सक्ने वातावरण पाइनँ किनकि तपाईंसँग प्रश्न गर्ने थुप्रै नेता–कार्यकर्तालाई निर्ममतापूर्वक ठेगान लगाउनु हुन्छ । अन्त्यमा, तपाईं कार्यकारी प्रमुख हुने पार्टी निर्माण र राजनीतिक व्यवस्था स्थापनामा श्रमजीवी, मजदुर, किसान र दलित र सीमान्तीकृत समुदायको निकै ठूलो योगदान छ । कृपया, उनीहरूमाथि निरन्तर घातको राजनीति नगर्न सुझाव दिन चाहन्छु ।

– पानवीर विश्वकर्मा (जन्म २००२–मृत्यु २०६६)

प्रकाशित : श्रावण ११, २०८१ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×