२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४६

लोकतान्त्रिक सभ्यता पुनःस्थापनाको अभिभारा 

हामीले लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ पार्नु छ । नयाँ पुस्ताको भविष्य सुरक्षित गर्नु छ । नेपाल र नेपालीको आत्मसम्मान र स्वाभिमान बढाउनु छ । तीव्र गतिमा भौतिक विकास गरेर संसारको प्रगतिलाई भेटाउनु छ ।

केही समयपछि संवत् फेरिँदै छ । हामी सधैं नयाँ संवत्सँगै नयाँपन अपेक्षा गर्छौं । हाम्रो चाहना राज्य व्यवस्थामा नयाँपन, सुधार र जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन हो तर आजसम्म सुधार र परिवर्तनको कुनै लक्षण देखिएको छैन । अब त होला कि, अबचैं पक्कै होला भन्दाभन्दै नेपालको झन्डै आठ दशक समय अनुत्पादक रूपमा व्यतीत भइसकेको छ ।

लोकतान्त्रिक सभ्यता पुनःस्थापनाको अभिभारा 

यसको सिधा अर्थ आजसम्म हामीले समयको महत्त्व र आफ्नो कर्तव्यलाई बुझ्न सक्ने गतिलो नेतृत्व पाएका छैनौं । अब पनि परम्परागत रूपमै चल्ने हो भने नयाँ वर्ष पनि विगतझैं व्यतीत हुने निश्चितै छ ।

हामी अर्थात् मानव सभ्यतालाई पुर्खाको बलिदानपूर्ण योगदान र पृष्ठपोषण छ । सामान्य जीवन बाँच्नका लागि मात्र त सायद अब मानव जातिले ठूलो महाभारत रच्नु पर्दैन । तर कसरी बाँच्ने ? प्रतिष्ठापूर्ण, गुणस्तरीय वा जसोतसो ? यसका चुनौतीहरू अलगअलग छन् । हाम्रा आर्थिक, सामाजिक र राजनीतिक संरचनाले मानव जीवनमा विभिन्न थरीका जटिलता पैदा गरेका छन् । प्राचीनकालदेखि हामीले धेरै उतारचढाव झेल्नुपरेको छ । तथापि संसारमा विकसित सभ्यताको जगमा नै आजको उन्नति सम्भव भएको हो र प्रगतिका कारक र आधारस्तम्भ तिनै सभ्यता हुन् ।

हामी रातारात वर्तमान अवस्थामा आइपुगेका होइनौं । यसको लामो संघर्षपूर्ण यात्रा र पृष्ठभूमि छ, ठूलो त्याग र बलिदानको लामो इतिहास छ । प्राचीन मानव सभ्यताको राजपथ हुँदै हामी आजसम्म दगुर्न सफल भएका छौं । तर अब अगाडि जाने कसरी ? हाम्रो सन्दर्भमा यत्रो ठूलो राजनीतिक परिवर्तनलाई संस्थागत गरिसकेपछि पनि अगाडिको बाटो कुन भन्ने विषयमा कहिलेकाहीं हामी अनावश्यक विवादमा फस्ने गर्छौं ।

व्यक्तिगत, पारिवारिक वा संस्थागत जिम्मेवारीमा रहेको पात्र वा संस्थाले सामान्यतया आफूलाई अनुत्पादक बहसमा होम्दैन । ठूलठूला डिङ हाँकेर बारम्बार जनतालाई उल्लु बनाउँदैन । तत्काल हासिल गर्न नसकिने समृद्धिको नारा पनि दिँदैन । समृद्धि दीर्घकालमा प्राप्त गरिने दुर्लभ किसिमको चरम प्रगति हो, जसलाई २/४ वर्षभित्र ल्याउन सकिँदैन । जिम्मेवार नेतृत्वको अर्जुनदृष्टि आफ्नो लक्ष्य, दायित्व र कर्तव्यप्रति केन्द्रित रहन्छ । तर विडम्बना यही छ कि नेपालका राजनीतिक दलहरूलाई प्रायः अनुत्पादक बहस नैं रमाइलो लाग्छ । किनभने उनीहरूसँग राष्ट्र निर्माणको स्पष्ट कार्यसूची छैन । मूलतः जिम्मेवारी बोधको नितान्त अभाव छ ।

हाम्रा राजनीतिक दलहरू आफ्नो विगतको सिंहावलोकन र समीक्षा गर्दैनन् । वर्तमान राजनीतिप्रति नयाँ पुस्ताको दृष्टिकोण कस्तो छ भन्ने होस पनि नेतृत्वलाई छैन । कहिलेकाहीं हामी देख्छौं, जनभावना एकातिर र हाम्रा क्रियाकलाप अर्कातिर हुँदै छन् । यस्तो किन हुन्छ ? यो प्रवृत्ति देश र जनताको राजनीतिक र आर्थिक भविष्यका निम्ति हानिकारक र निकै चिन्ताजनक छ ।

विभिन्न वाद, विचारधारा र चिन्तन बीचको अस्वस्थ प्रतिस्पर्धाले देशको प्रगति कति सम्भव छ ? के दुनियाँले हासिल गरेको समृद्धि र भएका अनेकन प्रगतिका कारक राजनीतिक विचारधारा वा वादहरू मात्र हुन् त ? कि कुशल नेतृत्व पनि हो । दुनियाँमा प्रगति र विकास सिद्धान्त र वादभन्दा पनि नेतृत्वको अठोट र इमानदारीले सम्भव भएको देखिन्छ । पार्क चुङ हि, महाथीर, ली क्वान यू, देङ स्याओ पेङ यसका प्रखर उदाहरण हुन् । यसको गहिरो र सूक्ष्म अध्ययन आवश्यक छ । किनभने कहिलेकाहीं नेपाली राजनीतिमा यस्ता बहस बिनाप्रसंग वा सन्दर्भ पनि आउने गरेका छन् । सत्तारूढ हुँदा वा प्रतिपक्षमा रहँदा नेपालका कम्युनिस्ट नेताहरू यस्ता बहस निकाल्छन् ।

२०७४ सालमा एमाले–माओवादी गठबन्धनको बहुमत आउँदा यस्तो बहस उत्कर्षमा पुग्यो । त्यतिबेला माओवादी अध्यक्ष प्रचण्डले त निकै हौसिएर भन्दिए, ‘अब हामी ५० वर्ष शासन गर्छौं र संसारलाई देखाइदिन्छौं, कम्युनिस्टहरूले कसरी शासन गर्छन् भन्ने कुरा र नेपाललाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको केन्द्र बनाउछौं ।’ ०६४ पछि ०७४ मा प्रचण्ड निकै हौसिएका थिए र अहिले फेरि हौसिएका छन् । अघिल्ला दुवै घटनामा प्रचण्ड नराम्ररी थेचारिए । सामान्यतया राज्य सञ्चालनको जिम्मेवारीमा पुगेको राजनीतिक दल र नेता अलि गम्भीर स्वभावको हुनुपर्छ, असामान्य चञ्चलताले समाजलाई गति दिँदैन । कांग्रेस र एमालेलाई पनि लागेको बानी सुधार्न निकै गाह्रो छ । कहिले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड, कहिले प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक जुगलबन्दीले नेपाली समाजलाई सकारात्मक मोड दिन सकेको छैन । नेपाली राजनीतिमा थपिएका नयाँ पात्रहरूको भूमिका पनि सहायक बन्ने लक्षण छैन ।

आजको बहस राजनीतिक दलहरू आफूले अंगीकार गरेको सिद्धान्तमा कति प्रतिबद्ध र निष्ठावान छन् भन्ने होइन । राजनीतिक सिद्धान्त त दलहरूको देखाउने दाँत मात्र भएको छ । सबैको चासो भनेको त दलहरूबीच कहिलेकाहीं हुने गरेको सैद्धान्तिक बहस कति सान्दर्भिक छ भन्ने मात्र हो । अब कोरा सैद्धान्तिक बहस मात्रको औचित्य छैन । आजका हाम्रा प्राथमिकता के के हुन्, जनता र देशको अवस्था कस्तो छ, संसार कहाँ छ, हामीलाई प्राप्त राज्य सञ्चालनको अवसर कति सदुपयोग भयो, अरू देश कहाँ पुगे, हामी कहाँ छौं र नयाँ पुस्ता के गर्छ भन्ने हो । अरूभन्दा हामी कति फरक छौं र अरूले भन्दा हामीले राम्रो के–के गर्यौं र थप के गर्नेवाला छौं ? राज्य सञ्चालनको अवसर पाउँदा हाम्रो भूमिका कस्तो रह्यो ? अब के गर्ने योजना छ ? यसै सन्दर्भमा नेपाली जनतामा नयाँ वर्ष पनि पुरानोझैं तनावपूर्ण र अशान्त भएर नै बित्ने त होइन भन्ने गहिरो चिन्ता छ ।

नयाँ संविधान जारी भएपछि रचनात्मक रूपमा समय व्यतीत भएको भए हाम्रो देशले सुशासनको बाटो समातिसकेको हुन्थ्यो या कम्तीमा सुशासनको जग बसिसकेको हुन्थ्यो । यसले समाजमा आशाको किरण जगाउँथ्यो र नेपाली जनताको पीडा मत्थर हुँदै जान्थ्यो । तर त्यसो हुन सकेन । यसमा मुख्यतः वर्तमान संविधानले प्रबन्ध गरेको

निर्वाचन प्रणालीअनुरूप नै बहुमत ल्याएको तत्कालीन नेकपा जिम्मेवार छ । संविधान जारीपछि पनि भ्रष्टाचार, बेथिति ज्युँका त्युँ रहनु, शक्ति र पहुँचका बलमा चल्ने सत्ताको दादागिरी बढ्नु जस्ता विकृति कायमै रहे । अझ हाम्रा दलहरू यही प्रवृत्ति प्रोत्साहन गर्न लागे । युगान्तकारी राजनीतिक परिवर्तनपश्चातको जनअपेक्षामाथि यो ठूलो वज्रपात थियो ।

राजनीतिक संसारका आधुनिक विचारक मानिने मेकियाबेली नेपालका राजनीतिक दलहरूका आदर्श जस्ता लाग्छन् भन्दा सायद फरक पर्दैन । मेकियाबेली भन्छन्, ‘राम्रोसँग शासन गर्ने हरेक शासकलाई सदैव आफ्नो प्रतिष्ठाको चिन्ता हुनुपर्छ र आवश्यक पर्दा बेइमानी अपनाएर भए पनि नतिजा निकाल्न पनि तत्पर हुनुपर्छ ।’ यस्ता थोरबहुत अभ्यास नेपालको पछिल्लो कालखण्डमा समेत भएका छन् । सिद्धान्तमा मार्क्सवादी, लेनिनवादी वा माओवादी जे देखिए पनि नेपालका कम्युनिस्ट पार्टीहरू यस कलामा अग्रणी देखिए ।

राजासहितको प्रजातान्त्रिक व्यवस्थालाई समाप्त पारेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको दौरानमा गिरिजाप्रसाद कोइरालालाई धोका दिएर रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउन खोज्नु प्रमुख ऐतिहासिक दृष्टान्त हो । त्यसयता बलपूर्वक नेपाली सेनाको नेतृत्व बदल्न खोज्नु, कम्युनिस्ट प्रभावको संविधान जारी गर्न खोज्नु, दुई पटक संसद् विघटन गर्नु र बलपूर्वक तानाशाही अभ्यासमा जान खोज्नु मुख्य घटना हुन् । बृहत् शान्ति सम्झौता र प्रचलित संविधानको मर्मविपरीत लोकतान्त्रिक शासन प्रणालीविपरीत जान खोज्नुसमेत ठूलो राजनीतिक बेइमानी र अर्को गलत अभ्यास थियो । यो जनसमक्ष प्रस्तुत शान्तिपूर्ण लोकतान्त्रिक रूपान्तरणको प्रतिबद्धता विरुद्धको मेकियाबेली दर्शनको अनुसरण पनि हो । सच्चा लोकतान्त्रिक राजनीतिमा धोका, छलछाम र बेइमानीको स्थान हुँदैन । यस मामिलामा शासन सञ्चालनमा जतिसुकै आलोच्य भए पनि कांग्रेस सभापति तुलनात्मक रूपमा बचनका पक्का नै देखिन्छन् ।

के यसैगरी नयाँ वर्षलाई पनि बिताउने हो त ? के हामी सुध्रिनै नसक्ने गरी बिग्रिएका हौं ? विश्वविख्यात कूटनीतिज्ञ, राजनीतिज्ञ र विचारक चाणक्य भन्छन्, ‘संस्था वा व्यक्ति जोबाट पनि गल्ती हुन सक्छ । तर हामीले विगतको गल्ती सम्झिएर अपराधबोधले आत्मग्लानिपूर्वक झोक्राएर बस्नु हुँदैन । त्यसलाई पाठका रूपमा ग्रहण गर्दै लक्ष्यमा अघि बढ्नुपर्छ ।’

अहिले हामी त्यस्तो ऐतिहासिक मोडमा छौं, जहाँबाट नयाँ यात्रा प्रारम्भ गर्न सक्छौं । विगतको गैरजिम्मेवारी र गल्तीका लागि जनसमक्ष क्षमायाचना गरेर अघि बढ्न सक्छौं । जनताले राखेको थान्कोमा आफूलाई राखेर संविधानसभाको मर्म तथा भावना मुताविक देश र जनताको सेवा गर्न सक्छौं । समयको आवश्यकताअनुसार संविधान संशोधन गर्न सक्छौं । पार्टीगत, गुटगत वा वैयक्तिक स्वार्थभन्दा माथि उठेर काम गर्न सक्छौं ।

हामीले लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ पार्नु छ । नयाँ पुस्ताको भविष्य सुरक्षित गर्नु छ । देशको सार्वभौमसत्ता अक्षुण्ण राख्दै अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउनु छ । नेपाल र नेपालीको आत्मसम्मान र स्वाभिमान बढाउनु छ । तीव्र गतिमा देशको भौतिक विकास गरेर संसारको प्रगतिलाई भेटाउनु छ । यो नै आजको मुख्य अभिभारा हो । हामी सबै मिलेर नयाँ वर्षलाई प्रस्थानबिन्दु बनाऔं । सबैलाई शुभकामना !

प्रकाशित : चैत्र ३०, २०८० ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?